नेपाली कांग्रेस (वीपी)ले स्थानीय तह निर्वाचनका लागि देशभर १५४ उम्मेदवार मनोनयन दर्ता गरेको जानकारी दिएको छ । केन्द्रीय कार्यालय सामाखुसीमा आइतबार पत्रकार सम्मेलन गरी स्थानीय तह निर्वाचनमा देशभरबाट १५४ उम्मेदवार उठाएको जानकारी दिएको हो ।
उक्त पार्टी २०७४ सालमा स्थापना भएको थियो । २०७४ सालमा सम्पन्न प्रतिनिधि एवं प्रदेशसभाको निर्वाचनमा ‘करुवा’ चुनाव चिह्न लिएर नेपाली कांग्रेस वीपीले भाग लिएको थियो । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पनि उसले करुवा चुनाव चिह्न नै पाएको छ ।
पत्रकार सम्मेलनमा वीपी कांग्रेसका प्रवक्ता शिवप्रसाद सिम्खडाले दुई महानगरपालिकासहित देशभरबाट २२ नगरमा प्रमुखको उम्मेदवारी मनोनयन दर्ता गरेको जानकारी दिए । कांग्रेस वीपीले काठमाडौं महानगरपालिकाको प्रमुखमा भक्तराज भुसाल र उपप्रमुखमा इन्दिरा अधिकारीलाई उठाएको छ ।
यस्तै विराटनगर महानगरपालिकाको प्रमुखमा रामचन्द्र गौतम उम्मेदवार छन् । नुवाकोटको बेलकोटगढी नगरपालिकाको प्रमुखमा सुशील वाग्ले उम्मेदवार छन् ।