हिमाली जिल्ला म्याग्दीको एक मात्र नगरपालिका बेनी नगरपालिका हो । जिल्ला सदरमुकाम बेनीबजार समेत रहेको यस नगरपालिका साविकको रत्नेचौर, ज्यामरुककोट, भकिम्ली, सिङ्गा, पुलाचौर, अर्थुङ्गे, घतान र पात्लेखेत गाविसलाई समेटेर बनाइएको हो । कुल ७६.५७ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस नगरपालिकामा २०७८ सालको जनगणनाअनुसार ३३ हजार ६२ जनसंख्या रहेको छ । यही नगरपालिकाको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि तथा अन्य विकास निर्माणको विषयमा के, कस्ता कामहरु भएका छन् र आगामी योजनाहरु के रहेका छन्, साथै बेनी नगरपालिकाको प्रशासनिक कामकारवाही कसरी अगाडि बढिरहेको छ भन्ने विषयमा बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालसँग रुप्से दैनिकका लागि अमृत बास्कुनेले गरेको कुराकानीको सम्पादित अंशः
बेनी नगरपालिकामा हजुर आएपछि कामकारवाही कसरी अगाडि बढेको छ ?
बेनी नगरपालिकाको कार्यसम्पादनलाई स्थापित विधि, प्रक्रिया तथा पद्धति बमोजिम सम्पादन गर्ने प्रयास गरिएको छ । नागरिकको सेवा सुविधालाई मध्यनजर गरी दुई लाखसम्मका योजनाहरु वडा कार्यालयमा नै सम्झौता गर्ने परिपाटीको थालनी गरिएको छ । नगरपालिकाबाट प्रदान गरिने सार्वजनिक सेवा प्रवाह तथा विकास निर्माणको काममा पारदर्शिता ल्याउनका लागि चौमासिक रुपमा सार्वजनिक सुनुवाई गर्नुपर्ने पद्धति स्थापित गरिएको छ । सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन विभिन्न क्रियाकलापहरु सञ्चालन गरिएको छ । बेनीबजारमा अव्यवस्थित रुपमा निर्माण गरिएका घरका छतहरु हटाउने कार्य गरिएको छ । विकास निर्माणसम्बन्धी योजनाको कार्यलाई गुणस्तरीय बनाउन नियमित अनुगमनको कार्यलाई पनि निरन्तरता दिइएको छ ।
‘सुन्दर र समुन्नत’ बेनी नगरपालिका बनाउने योजनाहरु कस्ता छन् ?
समुन्नत र समृद्ध बेनी नगरपालिका बनाउन योजनाबद्ध तरिकाले विकास निर्माणका क्रियाकलापहरु सञ्चालनको कार्यलाई व्यवस्थित गर्न प्रथम आवधिक योजना निर्माणको कार्यसम्पन्न गरिएको छ । समुन्नत र दीगो विकास लक्ष्य हासिल गर्न मध्यकालीन खर्च संरचना निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । नगरपालिकास्तरबाट सम्पन्न हुन नसक्ने ठूला योजनाहरु संघ तथा प्रदेश सरकारसँगको साझेदारीमा गर्ने प्रयास गरिएको छ । नगरपालिका भित्रका पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरु तातोपानी कुण्ड व्यवस्थापन, रावणपार्क निर्माण, लभ्लीहिलमा आवश्यक भौतिक पूर्वाधार निर्माण, बेनीबजार बाहिरी रिङरोड निर्माण गर्न सङ्घीय सरकारमा प्रस्ताव पेश गरिएको छ ।
शिक्षा, स्वास्थ्य, विद्युत तथा खानेपानीको क्षेत्रमा नगरपालिकाको के–के योजना छन् ?
बालबालिकाहरुमा गुणस्तरीय शिक्षा एव नागरिकहरुमां स्वास्थ्यको सुनिश्चितता गराउने उद्देश्यका साथ नगरपालिकाले आवश्यक कार्य गरिरहेको छ । गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि नगर क्षेत्रभित्र रहेका विद्यालयहरुको पूर्वाधार विकासमा प्राथमिकता दिइनेछ । विद्यालयको नियमित अनुगमन गर्ने कार्यलाई सुचारु गरिनेछ । शिक्षकहरुको क्षमता अभिवृद्धिका लागि समय समयमा विभिन्न किसिमका अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ । सबै नागरिकहरुमा स्वास्थ्यको सहज पहुँच सुनिश्चित हुने गरी आवश्यक सहजीकरण गरिनेछ । नगरपालिकाको सबै वडाहरुमा विद्युतको पहुँच पुगेको छ । मुख्य बजार क्षेत्रहरुमा सडक बत्ती जडानको कार्यलाई निरन्तरता दिइनेछ । खानेपानीको पहुँच नभएको स्थानमा खानेपानी पु¥याउने कार्यमा नगरपालिकाले प्राथमिकता दिएको छ । नगरपालिकाको स्रोतले नभ्याउने स्थानमा आवश्यकताअनुसार संघ तथा प्रदेश सरकारसँग समन्वय र सहकार्य गरिएको छ । चालु आर्थिक वर्षका लागि बेनपा २ खबरामा खानेपानी योजना, गाजने–नयाँगाउँ–ढोल्ठान–पुलाडाँडा खानेपानी योजना बेनी ५ र ९, पात्लेखेत काछलुङ खानेपानी योजना बेनी १० र भुकभुके खानेपानी योजना बेनपा ३ भकिम्लीका लागि विशेष अनुदान प्राप्त गर्न राष्ट्रिय योजना आयोगमा प्रस्ताव पेश गरिएको छ ।
बेनी नगरपालिकाभित्र खरको छाना विस्थापनको अवस्था के छ ?
बेनी नगरपालिका भित्रका कुल १०५ वटा खरका छाना भएका घरहरु भएकोमा सोको विस्थापन गर्नका लागि सम्बन्धित निकायमा बजेट व्यवस्थापन गर्न पत्राचार लगायतको अन्य आवश्यक पहलहरु गरिएको छ । अघिल्लो आर्थिक वर्षमा जम्मा ७ वटा खरको घरहरु विस्थापनको कार्य सकिएको छ । चालु आर्थिक वर्षमा अन्य बाँकी घरहरुको व्यवस्थापन गर्नका लागि सम्बन्धित घरधनीहरुलाई सूचना गर्ने कार्य गरिएको छ ।
नगरपालिकामा कर्मचारी व्यवस्थापन के, कसरी भएका छन् ? के अहिले नगरपालिकामा पर्याप्त कर्मचारी छन् ?
नगरपालिकाको लागि स्वीकृत दरबन्दी अनुसारका कर्मचारीहरुको व्यवस्था गरिएको छ । विभिन्न प्राविधिक तथा प्रशासनिक गरी हाल ७२ जना कर्मचारीहरु कार्यरत रहेका छन् । बेनी नगरपालिकामा हाल स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारीहरु रहेका छन् । कर्मचारीहरुको खटनपटनलाई व्यवस्थित गर्न छिटै सङ्गठन तथा व्यवस्थापन सर्भेक्षण गर्ने तयारी गरिएको छ ।
सदरमुकाम बेनीको व्यवस्थापन जटिल छ, तर यसलाई व्यवस्थित गर्ने योजनाहरु के–के छन् ?
बेनी नगरपालिका भित्रको बजार व्यवस्थापन गर्नका लागि ठोस योजना ल्याउन सकिएको छैन । यद्यपि बजार क्षेत्र भित्रका अव्यवस्थित घरका पाली हटाई बजारलाई व्यवस्थित गर्ने प्रयास गरिएको छ । बजार क्षेत्र भित्रको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्न स्थानीय प्रशासनसँग आवश्यक समन्वय गरिएको छ । बजारलाई थप व्यवस्थित गराउने विषयमा आवश्यकताअनुसार म्याग्दी उद्योग वाणिज्य संघलगायत अन्य सरोकारवाला निकायसँग समन्वय गरी आगामी सभाबाट केही विशेष योजनाहरु ल्याउने गरी कार्यहरु गरिनेछ ।
जातीय विभेद, महिला हिंसा, बालविवाह जस्ता समस्याहरु नगरपालिकाभित्र छन् कि छैनन् ?
भौगोलिक विकटता एवं पिछडिएको समुदायको बसोबास रहेका कारण सामाजिक समस्याको रुपमा रहेको जातीय विभेद एवं महिला हिंसा जस्ता विविध घटनाहरुलाई पूर्ण रुपमा निर्मुल गर्न सकिएको छैन । यद्यपि पछिल्लो समयमा न्यायिक समितिको सक्रियता एवं नगरपालिकाबाट पिछडिएको क्षेत्र, वर्ग र समुदायमा विभिन्न सचेतनामूलक कार्यक्रमहरु समेत सञ्चालन गरिएको हुँदा यस किसिमका समस्याहरुमा केही कमी भने आएको छ । यसलाई सरोकारवाला निकाय सबै मिलेर समाधान गर्नुपर्छ ।
नगरपालिकामा सार्वजनिक जग्गा के, कति छन् र नगरपालिकाको नामका जग्गाको प्रयोग कसरी भएको छ ?
नगरपालिका भित्रका सार्वजनिक जग्गाहरुको एकिन अभिलेख राख्न सकिएको छैन । पछिल्लो समय अभिलेखलाई अद्यावधिक गर्ने विषयमा आवश्यक पहल गरिएको छ । नगरपालिकाको नाममा हालसम्म दुईवटा जग्गाहरु रहेका छन् । नगरपालिकाको नाममा रहेका जग्गाहरुमध्ये एउटामा आफ्नै भवन रहेको छ भने अर्को साविकमा खाद्य संस्थानको नाममा रहेको जग्गा नगर कार्यपालिकाको २०७६ सालको निर्णय बमोजिम नेपाल पत्रकार महासंघलाई दश वर्षका लागि भाडामा दिने निर्णय भएको अवस्था छ ।
बेनी नगरपालिकाको वार्षिक राजश्व आम्दानी कति हुन्छ ?
नगरपालिकाको आन्तरिक राजश्व अभिवृद्धिका लागि करको दर र दायरा अध्ययन विश्लेषण गरिएको छ । नगरपालिकाको मुख्य आम्दानीको रुपमा रहेका ढुङ्गा, गिट्टी, बालुवा तथा मालपोत रजिष्ट्रेशन दस्तुर रहेको छ । सम्मानित सर्वोच्च अदालतको आदेशअनुसार चालु आर्थिक वर्षका लागि कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् गर्ने कार्यमा रोक लगाएसँगै नगरपालिकाको प्रक्षेपित राजश्व उठ्न सक्ने सम्भावना कम भएको छ । यद्यपि नगरपालिकाले विभिन्न सार्वजनिक सम्पत्तिको उपयोगवापत उठाउने राजश्वको दायरा अभिवृद्धि भएको छ जसले आगामी दिनमा नगरपालिकाको राजश्व आम्दानीमा केही अभिवृद्धि हुने विश्वास लिइएको छ । चालु आर्थिक वर्षका लागि चार करोड १२ लाख राजश्व प्रक्षेपण गरिएकोमा पmागुन मसान्तसम्म दुई करोड एकलाख रुपैयाँ राजश्व उठाइएको छ ।
अन्त्यमा भन्नुपर्ने बाँकी केही छ ?
सर्वप्रथम त यहाँको पत्रिकामा आफ्नो विचार राख्ने अवसर दिनुभएकोमा यहाँलगायत पत्रिकाको सम्पूर्ण परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । बेनी नगरपालिकाको कार्यसम्पादन तथा सेवा प्रवाहको विषयमा रहेका गुनासा, सुझाव, सल्लाह, राय एवं प्रतिक्रिया नियमित रुपमा उपलब्ध गराइदिनुहुन सम्पूर्ण नगरवासीहरुमा हार्दिक आह्वान समेत गर्दछु । अन्त्यमा, यो अवसर दिनुभएकोमा यहाँलाई पुनः हार्दिक धन्यवाद !