सरकार र तत्कालीन नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको १० वर्ष पूरा भएको छ । विस्तृत शान्ति सम्झौतासँगै नेपालमा २०५२ सालदेखि चलेको नेकपा माओवादीको सशस्त्र राजनीतिक यात्रा अन्त्य भएको थियो । दशक लामो युद्ध शान्तिमा रुपान्तरण भएपछि नेपालमा जरा गाँडेर बसेको राजतन्त्रको अन्त्य संगै लोकतन्त्र स्थापना भएको छ । विस्तृत शान्ति सम्झौताको १० वर्षमा सेना समायोजन, हतियार व्यवस्थापन जस्ता काम भएपनि अपेक्षाअनुसार राजनीतिक स्थायित्व, दिगो शान्ति र विकासको काम अझै हुन सकेको छैन । शान्ति सम्झौतापछिको एक दशकमा संविधानसभाबाट नयाँ संविधान प्राप्त हुनु, सेना समायोजन, हतियार व्यवस्थापन जस्ता काम भए पनि यसबिचमा राजनीतिक स्थायित्व हुन सकेन । संविधानसभाको चुनावमार्फत देशमा नयाँ संविधान जारी भएको छ । देशले नयाँ संविधान पाएपनि राजनीतिक दलबीच मतभेद गहिरिदै जाँदा संविधान कार्यान्वयनमा अवरोध सिर्जना भएको छ ।
देशमा शान्ति कायम भएपनि युवाहरु रोजगारीका लागि विदेश जाने काम रोकिएको छैन भने देशमा रोजगारका अवसर सिर्जनामा सरकारले ध्यान दिन सकेको छैन । दलबीच सत्ता समिकरणको खेल चलिरहँदा देशले विकासमा गति लिन सकेको छैन । सशस्त्र द्वन्द्धमा हजारौं नागरिक अंगभंग भएपनि तिनीहरुको औषधि उपचार हुँदा नसक्दा शरीरमा गोली र बारुद लिएर जिउन बाध्य छन् । द्धन्द्धमा बेपत्ता नागरिकको अवस्था अज्ञात हुँदा आफन्तजन उनीहरुको बाटो हेरेर कुरिरहेको छन् । द्वन्द्धकालमा मानवताविरोधी काम गर्ने अहिले सत्ताको रसास्वदनमा लिप्त भएपनि तिनीहरु उपर छानवीन हुन सकेको छैन । द्वन्द्धका घटना छानवीन गर्नको लागि आयोग बनाएपनि काम अघि बढ्न सकेको छैन । राजनीतिक दलका नेताहरुले आगोगका काममा हस्तपक्षेप गर्दा पीडितले न्याय पाउने संभावना जीर्ण बन्दै गएको छ । माओवादी सेनाको शिविरमा भएको करोडौंको घोटाला काण्ड अझैपनि गर्भमै तुहिने पानीझै छर्लङै छ ।
संविधान कार्यान्वयन गर्नुपर्ने अवस्थामा राजनीतिक संक्रमण बढ्दै गएको छ । राज्य पुर्नसंरचनाको टुंगो अझै लाग्न सकेको छैन । राजनीतिक दलको अर्कमण्यताकै कारण देशमा अपराध, हिंसा बढ्दै गएको छभने युवा पनि विदेश पलायन भएका छन् । सरकारले स्वदेशमै काम गर्ने वातावरण गर्न सकेन भने फेरि द्धन्द्ध नहोला भन्न सकिदैन् । रोजगारीको सिर्जना र देशमा शान्ति कायम गर्ने राजनीतिको हो । त्यसैले नेपालको राजनीति सही ट्रयाकमा आउन जरुरी छ । दश वर्षे सशस्त्र द्वन्द्धको उपलब्धी मध्ये सबैभन्दा महत्वपूर्ण नयाँ संविधान हो । यसको कार्यान्वयनको लागि राजनीतिक दलहरु एक ठाउँमा उभिन जरुरी छ । सधै सत्ता समिकरणको खेलले देशलाई असफल मात्रै होइन नागरिकमा आक्रोश समेत निम्त्याउन सक्छ । त्यसैले संविधानको रक्षा गर्नको लागि संविधान कार्यान्वयनमा राजनीतिक दलले हातेमालो गर्न जरुरी छ । राजनीति स्थायित्व भएमात्रै देशले समृद्विको बाटोमा पाइला चाल्छ ।