बागलुङ, ६ मंसिर – जिल्लाको दर्लिङ गाविस निगल्पानीमा गठित धौलागिरी विकास युवा क्लब नौमति बाजा संरक्षणसंगै सामाजिक कार्यमा सक्रिय बनेको छ ।
२०६७ सालमा गठित क्लबले निगल्पानी तथा आसपासमा परम्परागत नौमती बाजा संरक्षणसंगै सामाजिक कार्यमा सक्रिय भएको हो । पछिल्लो समय त्यस क्षेत्रमा बसोबास गर्ने दर्जी समुदायले विवाहमा बजाईने परम्परागत बाजा बजाउन छोडेपछि त्यसको निरन्तरताका लागि क्लबको गठन गरी बाजा संरक्षणमा जुटेको क्लवका सचिव टेकुकुमार बुढाले बताए ।
गाँउमा हुने विवाह तथा विभिन्न कार्यक्रममा बाजा बजाउन जाने गरेको उनीहरुले बताए । बाजा बजाएर संकलित रकम क्लबले सामाजिक कार्यमा लगाउने गरेको छ । यसरी संकलित रकमबाट निगल्पानीमै रहेको भानु आधारभुत विद्यालयलाई २०६७ साल यता वर्षेनी १० हजारका दरले आर्थिक सहयोग गर्ने गरेको क्लबले जनाएको छ ।
यस्तै क्लबले चिसापानी दर्लिङ मोटरबाटोअन्र्तगत गंगरेदेखी भुमेथानसम्म मोटरबाटो मर्मतका लागी १ लाख ५० हजार रुपैयाँ सहयोग गरिएको क्लबका कोषाध्यक्ष हरि बुढाले बताए । बाजा बजाएर संकलित रकमबाटै क्लबले दर्लिङ तल्लोगाँउको पिपलडाँडामा सार्वजनिक धारो निर्माण गरिएको थियो ।