म्याग्दीको बेनी नगरपालिकाको कार्यपालिका वैठकले विभिन्न क्षेत्रको संरक्षण तथा विकासका लागि बजेट विनियोजन गरेको छ । यहाँको एक वस्ती संरक्षण गर्नका लागि आवश्यक बजेट विनियोजन भएको छ । म्याग्दीको बेनी नगरपालिका–४, तातोपानीमा म्याग्दी नदीमा आएको बाढीको कारण कटानको चपेटामा परेको तातोपानी बजार क्षेत्रको मानव वस्ती संरक्षणको लागि १४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको हो ।
सोमबार सम्पन्न बेनी नगरपालिकाको कार्यपालिका बैठकबाट गएको असारको पहिलो साता परेको मनसुनजन्य विपद्का कारण जोखिममा रहेको तातोपानीस्थित मसार वस्ती संरक्षण गर्न १० लाख र तातोपानी वस्ती संरक्षणका लागि चारलाख रुपैयाँ बजेट विनियोजन भएको हो । रुपाताल परियोजनाबाट समेत संरक्षणको काम गरिरहेको भए पनि अहिले बजेट विनियोजना गरिएको छ ।
विद्यालय, मानव वस्ती लगायतका क्षेत्रमा कटानको जोखिम कायमै रहेकाले नगरपालिकाले समेत थप बजेट विनियोजन गरेको नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले जानकारी दिएका छन् ।
गत असार १ गते राती म्याग्दी नदीमा आएको बाढीका कारण मसारका करिब एक दर्जन घरधुरी विस्थापित भएका थिए । नगर कार्यपालिकाको बैठकले सडक बोर्डबाट प्राप्त भएको ५५ लाख र नगरपालिकाले समपुरक कोषबाट २७ लाख गरी कुल ८१ लाख बजेटबाट बेनी नगरपालिका–२, स्थित हाँडेभिर–लभ्लीहिल सडक र बेनी नगरपालिका–३, स्थित दुधेखोला–हल्लेगौडा–भकिम्ली सडक मर्मत तथा स्तरोन्नति गर्ने निर्णय समेत गरेको छ ।
बेनी नगरपालिका–७ बेनीमा रहेको क्षत्री समाजको भवन पुनर्निर्माणको लागि १० लाख विनियोजन भएको छ । यसैगरी अघिल्लो बैठकबाट प्रत्येक वडामा आठ लाखको दरले योजना सञ्चालन भएकोमा योजनालाई पूर्णता दिन थप दुई लाखका दरले बजेट विनियोजन गर्ने निर्णय भएको प्रवक्ता बराईलीले बताए । त्यस्तै नेपाल सरकारबाट सशर्त अनुदानको रुपमा प्राप्त भएको बाली विकास कार्यक्रमको लागि आएको २५ लाख ५० हजार बजेटलाई वडानम्बर १, ४, ५, ६ र ९ मा सञ्चालन गर्ने निर्णय समेत भएको छ ।
नगर प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले बेनी नगरपालिका–७, स्थित वीरेन्द्रचोकमा रहेको पिपलको रुखका हाँगा काँटछाँट गर्ने क्रममा रुखबाट खसेर ज्यान गुमाएका मजदुरलाई नगरपालिकाले श्रम ऐनअनुसार उपलब्ध गराएको सातलाख २५ हजारको आर्थिक सहायताको खर्चलाई अनुमोदन गरेको छ । कार्यपालिकाको बैठकले विभिन्न योजनाहरुमा बजेट विनियोजनसहित विभिन्न निर्णय गरेको छ ।
यसअघि तातोपानीको वस्ती संरक्षण गनुपर्ने भन्दै स्थानीयवासीले पटकपटक माग समेत गरेका थिए । म्याग्दीखोला नजिकै रहेको तातोपानी बजार तथा मसार वस्ती र स्थानीय सरस्वती माध्यमिक विद्यालय म्याग्दी नदी कटानको उच्च जोखिममा पर्ने गरेको छ । अहिले मसार वस्ती तथा तातोपानी बजार क्षेत्रमा संरक्षणको काम भैरहेको हुँदा हालसम्म ५० प्रतिशत जति काम भएको जनाइएको छ ।
Previous Articleप्रेस चौतारीमा सर्वसम्मत नेतृत्व
Next Article रुप्से दैनिक ! ०१ चैत्र २०७८