स्थानीय निर्वाचनको पूर्व सन्ध्यामा भएको नेकपा एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ । महाधिवेशनले १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी र तीनवटा आयोगका पदाधिकारी तथा सदस्यहरुको नामावली अध्यक्ष मण्डलले सार्वजनिक गरेको छ । चुनावको माग गर्ने नेताहरुको आग्रह अस्वीकार गर्दै अध्यक्ष मण्डलले नामावलीको लिस्ट टाँसेको हो । अध्यक्षका दाबेदार वरिष्ठ उपाध्यक्ष माधव नेपाल, गणेश पाण्डे, राजेश राई, टिका बिष्ट लगायतले निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गरेका थिए । तर पनि निर्वाचनबाट नेतृत्व चुन्दा कित्ताकाट हुने र गुटबन्दीले प्रश्रय पाउने भन्दै अध्यक्ष मण्डलले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको हो । आइतबार केन्द्रीय सदस्यहरुको नाम समेत टुंग्याएर केन्द्रीय समितिलाई पूर्णता दिइएको छ । प्रेस चौतारीको अध्यक्षमा गणेश बस्नेत दोहोरिएका छन्भने उपाध्यक्षमा गणेश पाण्डे, सविन प्रियासन चौधरी, राजेश राई र देविका घर्ती मगर छन् ।
प्रेस चौतारी नेपालको पोखरामा सम्पन्न भएको महाधिवेशनले महासचिवमा हिरामान लामालाई चयन गरेको छ । त्यसैगरी उप–महासचिवमा सुरोजंग पाण्डे र राजु सुवेदी चयन भएका छन् । कोषाध्यक्षमा पनि पुरानै व्यक्ति ईन्द्र आचार्य दोहोरिएका छन् । त्यस्तै विक्रम लुइँटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोग्सरी कुँवर र हरिबल्लभ नेपाल प्रदेश सचिवको रुपमा निर्विरोध निर्वाचित भएका छन् । प्रेस चौतारी नेपालको संशोधित विधानअनुरुप प्रदेश इन्चार्ज सचिव हुने प्रावधानबाट ८ सचिव निर्वाचित भएका हुन् । त्यस्तै अनुशासन आयोगको अध्यक्षमा नवराज महतरा, लेखा आयोग अध्यक्षमा सटेन्द्र जगेबु र निर्वाचन आयोगको अध्यक्षमा गणेश खनाल चयन भएको निर्वाचन समितिले सर्वाजनिक गरेको छ । भूगोल तथा क्रियाशिलतालाई हेरेर केन्द्रीय कमिटीमा समेट्ने प्रयास भएको भए पनि छुटेका नामहरुलाई अन्य स्थानमा मौका दिने चौतारीका केन्द्रीय नेताले आश्वासन दिएका छन् ।
बैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले आफूलाई पहिलो शक्तिका रुपमा विगतको नतिजालाई नै दोहो¥याउने दाउमा देखिएको अवस्था हो । तर त्यसका लागि सामान्य प्रयोगले मात्र पक्कै पनि हुँदैन । किनभने अहिले एमाले एकातर्फ र अरु सबै दलहरु एकातर्फ रहेको हुनाले पनि चुनाव जित्नका लागि र आफ्नो अधिल्लो निर्वाचनको नतिजालाई थप मजबुत गराउन सामान्य मेहनतले पक्कै पनि पुग्दैन । पार्टीको चुनाबी अभियान अनि नतिजा आफ्नो पक्षमा थप बलियो बनाउनका लागि पनि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छ नै । त्यसैले पनि प्रेस चौतारीको भूमिका पनि निर्वाचनमा हुन्छ । वर्तमान नयाँ नेतृत्वको चौतारीले आगामी तीन तहका निर्वाचनमा पार्टीको प्रचार अनि पार्टीलाई पहिलो शक्ति बनाउनका लागि कुन तह सम्मको भूमिका खेल्न सक्छन् भन्ने भविष्यले नै देखाउला । तर पनि नवनिर्वाचित नेतृत्वलाई माउ पार्टीले गरेको विश्वास र भरोसालाई मजबुत बनाउनका लागि भने पक्कै चुनौतीसँगै अवसर आएको देखिन्छ ।
Previous Articleछात्रवासको जग्गा खरिद गर्न स्थानीय द्वारा सत्ताईस लाख वढि संकलन
Next Article बेनी नगरपालिकाले गर्यो चुनाब लक्षित बजेट बिनियोजन