नेकपा माओवादी केन्द्रको नाम फेरेर अब परिवार दल राख्नु पर्ने म्याग्दीका प्रतिनिधिसभा सदस्य एवम् नेकपा एमालेका केन्द्रीय सदस्य भूपेन्द्र थापाले बताएका छन् ।
नेपाल बुद्धिजिवि परिषद्को जिल्ला अधिवेशनमा बोल्दै थापाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो भाइ, बुहारी, छोरी, ज्वाईलाई केन्द्रीय सदस्य बनाएर परिवारकै हालिमुहाली बनाएको भन्दै अब पार्टीको नाम नै परिवार पार्टी राख्दा हुने बताएका हुन् । थापाले नाम माओवादी केन्द्र भए पनि पार्टीका राम्रा नेताहरु पार्टी छाडेर बाहिर गै सकेको अवस्थाले गर्दा अब परिवार पार्टी नै उपयुक्त नाम रहेको बताएका थिए ।
सांसद थापाले माधव नेपालको पार्टी नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादीलाई पनि एकीकृत समाजबादीको एस नभएर हुन्छ हजुर भन्ने एस वाला पार्टी भएको आरोप लगाए । सांसद थापाले शेरवहादुर देउवा र प्रचण्डले जे भन्छन् त्यसैमा सही थाप्ने र उनीहरुकै मार्गनिर्देशनमा चल्ने भएकाले हस अर्थात् एस पार्टी भएको बताए ।
वर्तमान सांसद अबैध बाटोबाट जन्मेको हुनाले यो सरकारले अबैध कार्य मात्रै गर्ने थापाको आरोप छ । नेकपा एमालेका म्याग्दीका इन्चार्ज समेत रहेका थापाले अर्ली इलेक्सनको बहानामा सरकारले स्थानीय तहको निर्वाचन नगर्ने दाउ खोजेको बताए । थापाले भने काम गरी रहेको केपी ओली सरकारलाई गिराउनका लागि अदालतबाट आदेश लिएर आएर बनेको सरकार हो त्यसैले उसले जनताको लागि राम्रो काम गर्छ भन्ने अपेक्षा जनताले गरेर अर्थ नहुने बताए ।
कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य एवम् एमाले म्याग्दीका निवर्तमान अध्यक्ष हरिकृष्ण श्रेष्ठ, अध्यक्ष देवेन्द्रबहादुर के.सी., नेपाल बुद्धिजिवि परिषद्का पूर्व केन्द्रीय सदस्य तारानाथ शर्मा, परिषद् म्याग्दीका संस्थापक अध्यक्ष गोपाल रिजाल लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम कार्यवाहक अध्यक्ष गोरखनाथ सुवेदीको अध्यक्षता, कोषाध्यक्ष बिष्णु रोकाको स्वागत एवम् नारायण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।