म्याग्दीको बेनी नगरपालिका–७, विरेन्द्रचोकस्थित चौतारीमा रहेको पिपलको रुखको हाँगा काँटछाँट गर्ने क्रममा खसेर ज्यान गुमाएका एक मजदुरको परिवारलाई बेनी नगरपालिकाले काजकिरिया खर्चस्वरुप नगद २५ हजार रुपैयाँ दिएको छ । बुधवार मृतक मालिका गाउँपालिका–२, रुम निवासी थामबहादुर पुनको आफन्त, नगरपालिकाका जनप्रतिनिधिसहित सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितिमा भएको छलफलमा नगरपालिकामार्फत थप सातलाख रुपैयाँ राहत रकम दिइने बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले बताइन् । सहमतिअनुसार, मृतक पुनकी एक छोरीलाई उच्च शिक्षासम्म आवश्यक छात्रवृत्तिका साथै निःशुल्क पठनपाठनको सुविधा समेत नगरपालिकाले उपलब्ध गराउने भएको छ । पिपलको रुखको हाँगा काट्ने क्रममा गएको मङ्गलवार लडेर गम्भीर घाइते भएका पुनलाई उपचारको क्रममा बेनी अस्पतालमा मृत घोषित गरिएको थियो । मृतक पुनका परिवारलाई श्रम ऐन २०७४ दफा ५५ उपदफा ३ अनुसार नै क्षतिपूर्तिवापतको रकम दिइएको बेनी नगरपालिकाले जानकारी दिएको छ ।