औपचारिक शिक्षा हासिल गर्नबाट बन्चित भएका महिलाहरु अध्ययनरत म्याग्दीको उज्यालो वैकल्पिक विद्यालयलाई म्याग्दी जेसीजबाट आर्थिक सहयोग भएको छ । विद्यालय जाने उमेरमा अध्ययन गर्ने चाहना हुँदाहुँदै पनि विविध कारणले विद्यालय जान बञ्चित भएकालाई लक्षित गरी स्थापना भएको विद्यालयलाई एकलाख रुपैयाँ आर्थिक सहयोग गरिएको हो ।
म्याग्दी जेसीज २०२२ का शाखा अध्यक्ष सन्दिप खत्रीसहितको टोलीले विद्यालयका कार्यवाहक अध्यक्ष राजेश शाक्यलाई उक्त रकम हस्तान्तरण गरेको थियो । हाल कक्षा १० सम्म अध्ययन हुने उक्त विद्यालयबाट २०७७ को एसईईमा ७ जना आमाहरुले एसईई उत्तीर्ण समेत गरेका छन् । हाल उक्त विद्यालयमा आर्थिक सङ्कट आई सञ्चालनमा कठिनाई भएपछि आर्थिक सहयोग गरिएको म्याग्दी जेसीजका अध्यक्ष खत्रीले बताए ।
कार्यक्रममा म्याग्दी जेसीजका संस्थापक अध्यक्ष सिनेटर रमेशकुमार श्रेष्ठ, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर धनञ्जकुमार श्रेष्ठ, पूर्व अध्यक्षहरु, सञ्चालक समितिका सदस्यहरुको सहभागिता रहेको थियो । आर्थिक सहयोग प्रदान गरेकोमा कावा अध्यक्ष शाक्यले म्याग्दी जेसीजलाई धन्यवाद दिएका थिए । उनले जनचेतना, छोरीलाई शिक्षा दिनबाट बन्चित बनाउने जस्ता विविधि कारणले अक्षर समेत चिन्न नसक्ने अवस्थाका आमाहरुलाई लक्षित गरेर सञ्चालन गरेको विद्यालयमा आर्थिक समस्या भएको बताए ।
अध्यक्ष शाक्यले भने, ‘अहिले अभावै अभाव छ, ‘आर्थिक अभावले थप योजना अगाडि बढाउन समस्या भैरहेको छ’ अध्यक्ष शाक्यले भने । उनले पर्याप्त स्रोतसाधन भएमा विद्यालयमा पठनपाठन समेत सहज हुने तथा संख्या बढाउन सकिने बताएका छन् । १९औं जेसीज कप सञ्चालनमार्फत सङ्कलन भएको २५ हजार, राजेश शाक्यको सहयोग ५० हजार र २०२२ को सञ्चालक समितका सदस्यहरुबाट २५ हजार रुपैयाँ आर्थिक सङ्कलन गरी सहयोग गरिएको छ ।