‘सुदिप रावल स्मृति कोष’ले आइतबार १३औ स्मृति दिवस विविध कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा गत वर्षको दश जोड दुईको परीक्षामा म्याग्दी जिल्लामा सर्वोकृष्ट अङ्क प्राप्त गर्ने तीनजना विद्यार्थीलाई सम्मान तथा पुरस्कृत, आगलागीपीडित र युवा क्लबलाई खेलकुद सामग्री सहयोग तथा वितरण गरिएको हो ।
गतवर्ष कक्षा ११ र १२ मा जिल्ला प्रथम हुने माउण्ट एभरेष्ट आवासीय माविका सशांक श्रेष्ठ (३.६२ जिपिए), द्वितीय हुने न्यु वेष्ट प्वाइन्टका निरञ्जन जिसी (३.५७ जिपिए) र तृतीय हुने न्यु वेष्ट प्वाइन्टकै सुस्मा विक (३.५४ जिपिए)लाई पुरस्कृत गरिएको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री नरदेवी पुनले क्रमशः नगद छ हजार, तीनहजार पाँचसय र दुईहजार तथा प्रमाणपत्रले सम्मान गरेकी थिइन् ।
सोही अवसरमा बेनी नगरपालिकाको ८ वटा वडामा सक्रिय २२ वटा युवा क्लबहरुलाई खेलकुदजन्य सामग्री र बेनपा–६, अर्थुङ्गेकी अग्नीपीडित सुस्मा खत्रीलाई सातहजार पाँचसय रुपैयाँ सहयोग गरिएको थियो । स्मृति दिवसको अवसरमा बोल्दै प्रमुख अतिथि पुनले कोषमार्फत शिक्षा, स्वास्थ्य र खेलकुदको क्षेत्रमा गर्दै आएको कार्यहरु सराह्रनीय रहेको बताएकी छन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसी, कोषका सल्लाहकार कृष्णबहादुर थापा र सदस्य हरिकृष्ण गौतमले मन्तव्य व्यक्त गरेका थिए । कोषका अध्यक्ष सन्तोष रावलले कोषमार्फत सामुदायिक विद्यालयका विद्यार्थी, खेलकुदजन्य गतिविधिका साथै विभिन्न कार्यहरुमा सहयोग गरिएको बताए । सोही अवसरमा कोषको आकार बढाउन कृष्णबहादुर रावलले ३० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका थिए ।
कोषका अध्यक्ष रावलको अध्यक्षता, उपाध्यक्ष टेकबहादुर रावलको स्वागत र सचिव बिक्रम बोगटीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Previous Articleगाउँ सभाबाट तीन करोड बजेट विनियोजन
Next Article सन्दर्भः भ्यालेन्टाइन–डे