प्रेमको व्याख्या गर्दै जाँदा जीवनको धागो जोड्ने प्रयास असफल हुने र सफल हुनेको पनि आ–आफ्नै दावी होलान् तर प्रेमको प्रतिक कसलाई मान्ने भन्ने विवाद भने सदावहार छँदैछ । मानिस युवा अवस्थामा कुनै पनि हालतमा प्रेममा परेको हुन्छ र एकपटक साहित्यकार समेत बन्छ । किनभने जब मानिसले कसैलाई प्रेम गर्छ वा मन पराउने काम गर्दछ तब उसमा विभिन्न साहित्य पक्कै फुर्छ । यो संसार नै मायामा अडेको छ । मायाको सरल विश्लेषण अनि परिभाषा त कसैले पनि पुराका पुरा गर्न सक्दैन तर, पनि यसको सबैले आ–आफ्नै तरिकाले व्याख्या गर्ने गरेका छन् । आधुनिक विश्वका युवाहरुले सन्त भ्यालेन्टाइन डेलाई प्रेमको प्रतिक मान्नेहरुको जमातलाई चुनौती दिने अर्का पनि छन् । अहिलेको समयमा प्रेम गर्नका लागि धेरै माध्यमहरु छन्, मोबाइल तथा सामाजिक सञ्जाल अनि इमेलका माध्यमबाट पनि प्रेम प्रस्तुत गर्ने र स्वीकार गर्ने गरिन्छ । तर त्यसका पनि धेरै आयामहरु छन् । फेसबुकबाटै परेको लभ अनि त्यहीबाट भएको सम्बन्धविच्छेद पनि छ । तर हामीले विच्छेदको कुराभन्दा पनि मिलनको कुरालाई नै बढी जोड दिनुपर्छ ।
अहिले हिन्दु धर्मावलम्बीहरुले स्वस्थानीको ब्रत बसेका छन् । एक महिनासम्म चल्ने यस ब्रतमा वाचन गरिने कथामा धेरै प्रसंगहरु उल्लेख गरिएको पाइन्छ । त्यसमध्ये पनि प्रेमको प्रसंग दमदार छ । महादेव र सतीदेवीको प्रेम तथा समर्पण होस् वा दक्षप्रजापतिले गरेको प्रेमको अपमान कुनै पनि प्रसंग कमजोर छैन । तर पश्चिमी सभ्यताको आयातीत ’डे’का रुपमा आजको भ्यालेन्टाईन डेलाई आलोचना पनि गरिएको छ । तोकिएको कुनै विशेष मितिभन्दा पनि निस्वार्थ माया महत्वपूर्ण हो । मायाको कुरा गरिन्छ र मानवता आत्मसाथ गरिन्छ भने नेपालीहरुलाई दिन विशेषसँग किन समस्या पर्ला र ? आफ्नो बाबुले श्रीमान्को अपमान गरेको ठानेर अग्नीकुण्डमा हाम फालेर आत्महत्या गरेकी सतीदेवीलाई बोकेर संसार परिक्रमा गर्ने महादेव के प्रेमको कमजोर हुन् र ? आफ्नो श्रीमान्प्रतिको समर्पणभाव अर्थात् पतिब्रता धर्म नष्ट हुन नदिने नारीहरुको माया पनि त कमजोर होइन होला नि ? महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति मुनामदनमा उल्लेख भएको उनीहरुको प्रेम पनि कमजोर पक्कै पनि थिएन होला ।
लुकी, चोरी गरिएको माया र यसको परिणाम के होला त्यो अहिलेको युवा पुस्ताले तत्काल सोच्दैनन् । प्रेम गर्ने र सँगै ज्युने मर्ने भनेर बाचा कसम खाएका धेरै उदाहरण छन्, तर ती कसमहरु पुरा गर्न नसकेका कारण पछि भएको पीडाको पनि त कुनै मूल्य हुँदैन । पहिले आदर्शका लागि प्रेम गर्ने र पछि त्यही आदर्शले जीवन बर्बाद गरेका पनि धेरै उदाहरणहरु छन् । तर हामीले कुनै पनि हालतमा प्रेमको सम्मान गर्नका लागि कुनै निश्चित दिन तोक्नुभन्दा पनि सबैका लागि सहज अनि राम्रो कुरालाई नै याद गरेर अगाडि बढ्नु नै उचित होला । जे होस् प्रेमको सम्मान गरौं त्यसैलाई कारक बनाउँदै हाम्रो महत्वपूर्ण जीवन बर्बाद नगरौं । आफ्नै क्षमता अनि आफ्नै परिवेशका पर्वहरु पनि मनाउने गरौं । सन्त भ्यालेन्टाइन मात्रै होइन शतिदेवीलाई अथाह प्रेम गर्ने महादेवलाई सम्मान गर्दै शिवरात्री पनि सम्झौं न । प्रणय दिवसको सबैमा शुभकामना !
Previous Articleस्मृति कोषद्वारा विद्यार्थी, अग्नीपीडित र क्लबलाई सहयोग
Next Article रुप्से दैनिक ! ०२ फागुन २०७८