विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण तेस्रो लहरको जोखिमबाट बन्द भएका सबै क्षेत्र आजदेखि खुला भएको छ । कोरोना भाइरसको नयाँ भेरिएन्ट संक्रमणको जोखिमका कारण यसअघि बन्द हिमाली जिल्ला म्याग्दीका सबै क्षेत्रहरु खुला गरिएको हो ।
गएको माघ महिनाको पहिलो सातादेखि बन्द रहेका म्याग्दीको शैक्षिक, धार्मिक र पर्यटकीय क्षेत्र आजदेखि खुला गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्डको पालना गदैं आजदेखि नियमित सञ्चालन गर्न दिने निर्णय भएको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी)को वैठकमा निर्णय भएको छ ।
यसअघि शुक्रबार बसेको डिसिएमसीको वैठकले कोरोनाको जोखिम कायमै रहेपनि लामो समयसम्म बन्दलाई निरन्तरता दिनुभन्दा खुला गरिएको जनाइएको छ । केन्द्रको निर्देशनअनुसार म्याग्दीमा बन्द सबै क्षेत्र जनस्वास्थ्य र शान्ति सुरक्षाको मापदण्डको अनिवार्य रुपमा पालना गर्नेगरी खुल्ला गर्ने निर्णय भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताए । उनले कोरोनाको जोखिमले बन्द जिल्लाको शैक्षिक, धार्मिक र पर्यटकीयस्थल खुला गर्ने निर्णय गरिएको बताउँदै बढी भीडभाड हुने ठाउँमा स्वास्थ्य सुरक्षालाई कडाई गरिएको जानकारी दिए ।
जिल्लाभित्र खोपको पहुँचमै नपुगेका तथा दोस्रो र बुष्टर डोज नलगाएकालाई अनिवार्य खोप अभियानमा सहभागी हुन समेत अपिल गरिएको छ । यसैगरी समूहमा खेलिने खेलमा भने क्षमताको जम्मा २५ प्रतिशत मात्रै उपस्थितमा सञ्चालन गर्न पाइने भएको छ । जिल्लाभित्र फुटबल, भलिबल जस्ता खेलकुदजन्य गतिविधिहरु सञ्चालनमा दर्शकको क्षमताअनुसार उपस्थितिको अवस्था अहिले नभएकाले कडाई गरिएको छ । हाल विद्यालय तथा शैक्षिक संस्थाहरु, तातोपानी कुण्ड, समूहमा खेलिने खेल, स्वीमिङ पुल तथा त्यसको प्रशिक्षण, मनोरञ्जनस्थल तथा सिनेमा हल, जिम, धार्मिकस्थल लगायतका क्षेत्र बन्द छन् ।
खुल्ला गरिएको क्षेत्रका साथै सरकारी, वित्तीय संस्था तथा भीडभाड हुने होटल, रेष्टुरेन्ट र सार्वजनिक क्षेत्रमा सेवा लिनका लागि भने सेवाग्राहीले अनिवार्य रुपमा खोप लगाएको कार्ड वा मोबाइलमा फोटो भए पनि देखाउनुपर्नेछ । कोभिड–१९ संक्रमणबाट सुरक्षित रहन सार्वजनिक स्थलमा निस्कँदा सबैले अनिवार्य रुपमा मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, साबुनपानीले हात धुने र स्यानीटाइजरको प्रयोगलाई जोड दिइएको छ ।
यसैबीच बेनी नगरपालिका–४, सिङ्गास्थित तातोपानी क्षेत्रमा रहेको प्राकृतिक चिकित्सालय तातोपानी कुण्डमा स्वास्थ्यका मापदण्ड पूरा गरेका र कोरोनाको खोपकार्ड भएका, ज्वरो तथा रुघाखोकी नभएकालाई कुण्डमा स्नान गर्र्न पाउने कुण्ड व्यवस्थापन समितिले जनाएको छ । कुण्डमा नेपालका विभिन्न जिल्लाका साथै छिमेकी राष्ट्र भारतको सिक्किम राज्यबाट समेत नियमित आउने भएकाले जनस्वास्थ्यको पालनालाई अनिवार्य गरिएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिए । अस्पतालमा प्याथोलोजी र आयुर्वेदिक उपचार पद्धतिबाट समेत रोग निको नभएकासहित ३० हजारभन्दा बढी बिरामीहरु वर्षेनी तातोपानी कुण्डमा स्नान गर्न आउने गर्दछन् ।
Previous Articleरेडक्रस पुलाचौरले १९औं स्थापना दिवस मनायो
Next Article आईपीएल मेगा अक्सनमा सन्दीप लामिछाने ‘अनसोल्ड’