‘सेवा नै धर्म हो’ भन्ने मूल नारासहित हिँजो (शनिबार) नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाले आफ्नो १९औं स्थापना दिवस मनाएको छ । बेनी नगरपालिका–५, पुलाचौरको भीरमुनीस्थित उपशाखाको कार्यालय परिसरमा विविध कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो ।
दिवसको अवसरमा रेडक्रस उपशाखाले विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमण नियन्त्रणमा उपशाखा क्षेत्र भित्रका समुदायमा सञ्चालित सचेतनामूलक अभियानमा उपशाखासँग आवश्यक समन्वय गरी उत्कृष्ट काम गरेको भन्दै पुलाचौर स्वास्थ्यचौकीमा कार्यरत सिनियर अनमी अमृता सुनारलाई सम्मान गरेको छ । उनलाई रेडक्रस उपशाखाको तर्फदेखि खादा र अबिर लगाई सम्मानपत्रले सम्मान गरिएको उपशाखाले जनाएको छ ।
यसैगरी स्थापना दिवसको अवसरमा रेडक्रस पुलाचौर उपशाखामार्फत बेनपा–५, पुलाचौरका आगलागीपीडित हरिप्रसाद सुवेदीलाई नगद पाँचहजार रुपैयाँ राहत सहयोग गरिएको उपशाखा सभापति शिव बानियाँले जानकारी दिए । सोही कार्यक्रममा रेडक्रस उपशाखाका संस्थापक सदस्य एवं ज्येष्ठ रेडक्रसकर्मी सुर्यप्रकाश बानियाँले नगद एकलाख र उपशाखाका संस्थापक सदस्य एवं पूर्व कोषाध्यक्ष चिप्लेटी निवासी हेमबहादुर खत्रीले उपशाखालाई नगद २५ हजार रुपैयाँ सहयोग गरेका छन् । उक्त कार्यक्रमको अवसरमा रेडक्रस पुलाचौरका सल्लाहकार एवं म्याग्दीका क्रियाशील पत्रकार प्रताप बानियाँको सौजन्यमा उपशाखामार्फत पुलाचौर स्वास्थ्यचौकीलाई कोभिड–१९ विरुद्धका स्वास्थ्य सुरक्षा सामग्रीहरु हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै रेडक्रस म्याग्दीका उपसभापति अमर बानियाँले मानवीय सेवाको क्षेत्रमा रेडक्रस सधैँ क्रियाशील रहेको बताए । कार्यक्रममा रेडक्रस म्याग्दीका प्रथम यशस्कर सदस्य एवं पुलाचौर उपशाखाका निवर्तमान सभापति यामबहादुर बानियाँ, कानुन तथा लेखापढी व्यवसायी संघका केन्द्रीय सदस्य योगेन्द्रबहादुर बानियाँ, रेडक्रसको विपद् व्यवस्थापन समिति सचिव गजिन्द्र श्रेष्ठ र सम्मानित व्यक्ति अमृता सुनारले मन्तव्य व्यक्त गरेका थिए ।
Previous Articleरुप्से दैनिक ! २८ माघ २०७८
Next Article कोरोनाले बन्द क्षेत्र आजदेखि खुला