बागलुङ, २ भाद्र – आज श्रावण शुक्ल पूर्णिमा अर्थात रक्षाबन्धन एवम् जनैपूर्णिमा पर्व घरघरमा श्रद्धापूर्वक मनाइँदैछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ ।
मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन वैदिक परम्पराअनुसार मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको नाडीमा बाँधिदिने परम्परा छ । आजकै दिन तागाधारीले जनै अर्थात् यज्ञोपवीत फेर्ने परम्परा समेत रहेको छ । यसका लागि अघिल्लो दिनदेखि केशमुण्डन गरी एक छाक मात्र खाएर चोखोनीतो गरी बस्ने गरिन्छ ।
यसरी व्रत बसेका तागाधारीले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दतिवन र सप्तमृत्तिका लगाएर स्नान गर्छन् । स्नानपछि जौतिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ । यसरी जनै फेर्ने गरिएकाले नै आजको दिनलाई जनैपूर्णिमासमेत भनिन्छ ।
वैदिक गुरु परम्पराको पूर्वीय दर्शनअनुसार जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रुपमा पुजिन्छ ।