काठमाडौं, ५ मंसिर – अबको तीन सातापछि सुरु हुने नेपालको सुक्खायामाको माग सम्बोधन हुने गरी भारत थप दुई सय ५० मेगावाट बिजुली दिन सहमत भएको छ । आन्तरिक उत्पादन पूर्ण क्षमतामा सञ्चालन गर्ने र भारतीय बिजुली आयात गरेर यसपालिको हिउँदयाममा सकेसम्म लोडसेडिङ हुन नदिने विद्युत् प्राधिकरणको योजना रहेको छ ।
भारतबाट हाल दुई सय ४८ मेगावाट बिजुली आयात भइरहेको छ । भारतीय सहमति कार्यान्वयन भएमा पाँच सय मेगावाट बिजुली आयात हुनेछ ।
नेपाल र भारतका ऊर्जा अधिकारीबीच शनिबार नयाँदिल्लीमा सम्पन्न सहमतिअनुसार भारतले तत्काल टनकपुरबाट तीस, यही साताभित्रै टनकपुरबाटै अर्को थप चालीस, ढल्केबरबाट थप असी, रक्सौल-परवानीपुर र कटैया-कुसाहाबाट पचास-पचास गरी थप दुई सय पचास मेघावाट विद्युत् दिन भारत सहमत भएको हो ।
बैठकमा सहभागी नेपाली पक्षका सदस्य एवं विद्युत् प्राधिकरणको विद्युत् व्यापार विभागका प्रमुख प्रबल अधिकारीका अनुसार टनकपुरबाट चौबीसै घन्टा तीस मेगावाट बिजुली तत्काल ल्याउन दुवै देशका अधिकारीबीच सम्झौता भएको छ ।
भारतसित भएको सहमतिअनुसार उसले ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन (व्यापारिक) बाट थप असी मेगावाट बिजुली नेपाललाई आपूर्ति गर्ने भएको छ ।
त्यसैगरी भारतीय अनुदान सहयोगमा निर्माण भइरहेको रक्सौल-परवानीपुर र कटैया-कुसाहा एक सय ३२ केभीको नयाँ प्रसारण लाइन आगामी डिसेम्बरभित्र सम्पन्न गरी त्यहाँबाट पचास-पचास मेगावाट बिजुली नेपाललाई दिन भारत सहमत भएको प्रवक्ता अधिकारीले बताए ।
‘यी सबै गरेर भारतबाट थप आयात हुने बिजुलीका अतिरिक्त उसले १२ प्रतिशत बढी बिजुली तान्ने सुविधा दिएको छ’, शनिबार साँझ काठमाडौं आइपुगेका अधिकारीले भने, ‘अब नेपालले भारतबाट आयात हुने बिजुलीलाई आफ्नो प्रणालीमा मिलाउन समस्या रहेका प्रसारण तथा वितरण लाइनको शीघ्र मर्मत तथा क्षमता विस्तार गर्नेछ ।’
आगामी पुसदेखि खोलाहरूमा पानीको सतह घटी उत्पादन कम हुने भएकाले भारतबाट थप आयात हुने पाँच सय मेगावाट बिजुलीबाट काठमाडौं उपत्यकामा लोडसेडिङ सम्भव भएसम्म नहुने र उपत्यकाबाहिर दुई घन्टासम्म हुने जानकारी अधिकारीले दिए । अन्नपूर्ण
Previous Articleअधुरै रोल्पाली सपना
Next Article विद्यामन्दिर, चिल्ड्रेन र अमर आदर्शको जित