हिमाली जिल्ला म्याग्दीको होटलहरुमा प्रयोग गरिरहेको खाने तेल परीक्षण गर्दा अखाद्य) भेटिएको छ । बजार क्षेत्रका होटलहरुमा तेलमा तारेर बनाइने खानेकुराहरु बनाउन प्रयोग गर्ने तेलमा गुणस्तरको मात्रा नै नभएको अर्थात् अखाद्य भेटिएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका प्रमुख सौरभ श्रेष्ठका अनुसार बेनी बजार क्षेत्रमा ३० होटल तथा खाजाघरमा अनुगमन गर्दा न्यूनतम मापदण्ड नाघेका तेल तथा घिउ जन्य अखाद्य भेटिएपछि नष्ट गरिएको छ । खाद्य तथा दाना वस्तुहरुमा निर्धारित न्यूनतम अनिवार्य गुणस्तर –२०७७ को बुँदा नम्बर २.१७ मा उल्लेखित तेल तथा घिउमा टोटल पोलार मटेरियल को अधिकतम सिमा भन्दा निकै माथि सम्म पनि प्रयोग गरिएको पाइएको श्रेष्ठले बताउनुभयो ।
२०७७ भदौ २९ गते प्रकाशित नेपाल राजपत्र भाग ५ मा आदेशको प्रकरण २ को तेल तथा घिउ संकेत नं. ०२.१६ पछि २.१७ थपेर तेल तथा घिउमा टोटल पोलाार मटेरियलको अधिकतम सिमा निर्धारण गरिएको छ । खाद्य पदार्थ तार्ने वा पकाउने प्रयोजनका लागि प्रयोग हुने तेल वा घिउमा टोटल पोलार मटेरियल २५ प्रतिशत भन्दा नबढेको हुनु पर्ने उल्लेख छ । तर बेनी बजारमा प्रयोग हुने तेलमा २५ प्रतिशत भन्दा धेरै माथि पाइएको हुँदा नष्ट गरिएको प्रमुख श्रेष्ठको भनाई छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङले बागलुङ, म्याग्दी र मुस्ताङ हेर्ने हो, बागलुङमा पनि यस्तै समस्या देखिएको हुँदा म्याग्दीमा पनि आइएको हो यहाँ पनि समस्या जटिल रहेछ । उपभोक्ताको स्वास्थ्य मात्रै भन्दा पनि व्यवसायीले पनि त्यो तेलमा बनाइएको खाद्यान्न प्रयोग गर्छन् उनीहरुको पनि स्वास्थ्यमा प्रतिकुल अनि दिगो असर पर्छ भन्ने ज्ञान नभएर पनि यस्तो प्रयोग गरेको हुन सक्छ ।
स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालका अनुसार धेरै समय प्रयोग गरिएको तेल जन्य पदार्थको प्रयोगले तत्कालै भन्दा पनि दिर्घ रोगको समस्या हुन्छ । उहाँ भन्नुहुन्छ तोकिएको मापदण्ड भन्दा बढी अर्थात् टोटल पोलार मटेरियल २५ प्रतिशत भन्दा बढी भएको प्रयोग गर्दा मुटुको समस्या तथा क्यान्सर जस्ता दिर्घ रोगको जोखिम उच्च हुन्छ ।
बेनी नगरपालिका–७ र ८ नम्बर वडा अन्तरगत सदरमुकाम क्षेत्रमा अनुगमन गर्दा न्यून गुणस्तर पाइएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दी, जिल्ला प्रहरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, बेनी नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालयको रोहवरमा नष्ट गरिएको प्रमुख श्रेष्ठले बताउनुभयो । बेनी बजारमा रहेको सृष्टि खाजा घर, लागिन एण्ड रेष्टुरेन्ट, हट एण्ड स्पाईसी बर्गर कर्नर, मेरो फास्टफुट जस्ता बजारमा चलेका फर्महरुबाट मात्रै १० लिटर भन्दा बढी प्रयोग गरिरहेको तेल नष्ट गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका प्रमुख सौरभ श्रेष्ठका अनुसार टोटल पोलर मटेरियल धेरै भएको तेल प्रयोग गर्दा मानव शरिरमा क्यान्सरको जोखिम उच्च हुनुका साथै मुटु सम्बन्धि रोगहरुको जोखिम उच्च हुने गर्दछ ।