प्रेस काउन्सिल नेपालले पत्रपत्रिकाको बर्गिकरणको नतिजा अब चाँडै प्रकाशन गर्नेगरी तयारी भएको प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले बताउनुभएको छ ।
हिमाली जिल्ला म्याग्दीको बेनीमा प्रेस काउन्सिल नेपालको आयोजनामा भएको पत्रकार आचार संहिता जागरण कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले उक्त कुरा बताउनुभएको हो । कोभिड–१९ को कारणले गर्दा बर्गिकरण प्रकृया समेत रोकिएको थियो अहिले सबै काम अगाडी बढेको छ र अब केही दिनमै बर्गिकरणको नतिजा प्रकाशनको तयारी भै रहेको छ अध्यक्ष बस्नेतले भन्नुभयो । उहाँले अब पत्रपत्रिका वर्गिकरणको नतिजा प्रकाशन नभएका सबै वर्षको नतिजाहरु क्रमशः प्रकाशन हुने जानकारी दिनुभयो ।
प्रेस काउन्सिल नेपाल सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मी तथा सञ्चार माध्यमको नियमन गर्ने निकाय हो त्यसैले काउन्सिलको आग्रह छ कि सक्रिय राजनीति र सक्रिय पत्रकारिता एकसाथ हुन सक्दैन अध्यक्ष बस्नेतको भनाई छ । सञ्चारकर्मीले आचारसंहिताको पूर्ण पालना गरी समाचार संकलन, सम्प्रेषण र सम्पादन तथा प्रकाशन गर्नुपर्नेमा अध्यक्ष वस्नेतले जोड दिनुभयो । उहाँले भन्नुभयो सामाजिक सञ्जालको सबैले सही प्रयोग गर्नुपर्छ अझै सञ्चारकर्मीले त धेरै नै विवेक पु¥याएर गर्नुपर्छ ।
प्रेस काउन्सिल नेपालकी सदस्य दुर्गा भण्डारीले सञ्चारकर्मीले नै संविधानको धारा १७ मा रहेको स्वतन्त्रताको हक र २७ मा रहेको सूचनाको हकको बढी प्रयोग गर्ने भए पनि धारा २८ मा रहेको गोपनियताको हक तर्फ पनि ध्यान दिन र जनतालाई पनि कार्यान्वयनको मार्गमा लैजान भूमिका खेल्नु पर्ने बताउनुभयो । भण्डारीले भन्नुभयो –‘मौलिक हक भन्दैमा सञ्चारकर्मीले प्रकाशन प्रशारणगरेका सूचना समाचारले अपराधीहरुलाई मौका मिल्ने वातावरण बन्नु भने हुदैन ।’
प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले सुसासनमा मिडियाकर्मीले ध्यान दिनु पर्ने बताउनुभयो । मिडियाकर्मीले तथ्यलाई तोडमोड गरेर समाचार सम्प्रेषण गर्न नहुने बताउनुभयो । प्रजिअ रानाले जिल्ला सदरमुकाम बेनी स्थीत नेपाल पत्रकार महासंघले बेनी नगरपालिकालाई भाडा तिरेर लिजमा लिएको जग्गा प्रयोग गर्न नपाएको तर्फ इङ्गीत गर्दै भन्नुभयो –‘कसैको पनि भौतिक सम्पत्ती कसैले हडपेको छ भने कानुनी दायरामा ल्याएर कारवाही गर्नका लागि प्रतिबद्धता जाहेर गर्दछु ।’
प्रहरी नायव उपरीक्षक श्याम कुमार राईले प्रहरीबाट कही कतै कमजोरी भएको छ भने आफू सुद्रनका लागि तयार रहेको बताउनुभयो ।
म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले युट्युव, फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालहरु राज्यको दायरामा ल्याउनका लागि प्रेस काउन्सिलले भूमिका खेल्नु पर्ने बताउनुभयो ।