देशको सबैभन्दा ठूलो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अहिले आफ्नो जिल्ला अधिवेशनमा होमिएको छ । एमाले म्याग्दीको नवौं जिल्ला अधिवेशनको तयारी तीव्र रुपमा अगाडि बढाइएको छ । पुस २३ र २४ गते हुने जिल्ला अधिवेशनको लागि जिल्ला भित्रका वडा तथा जनवर्गीय संगठनबाट प्रतिनिधि छनौटको काम सकिएको छ । पुस १९ गतेसम्म जिल्ला भित्रका सबै वडा तथा जनवर्गीय संगठनहरुबाट प्रतिनिधि छनौट गरेर जिल्लामा विवरण बुझाई सकिएको छ भने अब मूल कार्यक्रमको तयारीमै सबै केन्द्रीत भएका छन् । नेकपा एमाले म्याग्दीको सबै क्षेत्रबाट प्रतिनिधि छनौटको काम सकेर जिल्लामा पठाइसक्न निर्देशन भएकोले सोहीअनुरुप सबै क्षेत्रका नेतृत्व खटेको र सक्रियतापूर्वक त्यसलाई मूर्त रुप दिन सबै लागेको देखिएको छ । नेकपा एमाले म्याग्दीको पुस ३ गते बसेको वैठकको निर्णयअनुसार जिल्लाभर पार्टीको अधिवेशनका लागि तयारीको काम भैरहेको छ ।
म्याग्दी जिल्लाको ४५ वटै वडाबाट प्रतिनिधि छनौटको काम सकिएको र सचिवालय व्यवस्थापन तथा मूल कार्यक्रमको उद्घाटनका लागि पार्टीका सबै तह र तप्का केन्द्रीत देखिएका छन् । म्याग्दी मात्र नभएर हिमाली क्षेत्रका केही बाहेक सबैजसो जिल्लाहरुमा २३ गते नै अधिवेशन हुँदैछ । पार्टी तथा जनवर्गीय संगठनको अधिवेशनका लागि लागेको एमालेले अबका दिनमा कुन खालको नेतृत्वले के, कस्तो काम गर्ने भन्ने योजना पनि बनाउने पक्कै छ । यसअघि नै नेपाली कांग्रेसले वडा, पालिका, प्रदेश, क्षेत्र, जिल्ला, अनि प्रदेशको समेत नयाँ नेतृत्व चयन गरिसकेको छ । कांग्रेसले वडा हुँदै सक्दै गएर केन्द्रको अधिवेशन गरेको भए पनि एमालेले वडा र पालिकाको निर्वाचन सकेपछि केन्द्रको महाधिवेशन सकेर अहिले आएर जिल्ला अनि प्रदेशको निर्वाचनतर्फ केन्द्रीत भएको छ ।
अहिले एमालेको अधिवेशनका लागि म्याग्दी जिल्लामा बेनी नगरपालिकाबाट १०७ जना, रघुगंगा गाउँपालिकाबाट ४२, अन्नपूर्णबाट ४५, मंगलाबाट ५४, धौलागिरीबाट ४१ र मालिकाबाट ४० जना प्रतिनिधि चयन भएका छन् । अन्य जिल्लाबाट महिला, दलित र अन्य एकएक जना गरी ३ जना प्रतिनिधि चयन भैसकेका छन् । त्यस्तै ६ वटै पालिकाबाट एक महिलासहित २ जना प्रतिनिधिले जिल्ला अधिवेशनमा भाग लिन पाउनेछन् । एमालेको विधानअनुसार जिल्ला सल्लाहकार परिषद्बाट न्युनतम दुईजना महिलासहित ५ जना प्रतिनिधि चयन भएका छन् । भूगोलबाट महिला तथा दलित समूहका लागि १० जना पार्टी सदस्य बराबर १ जना प्रतिनिधि तथा अन्य र खुल्लातर्फ १५ जना सदस्य बराबर एकजना प्रतिनिधि र प्रतिनिधि चयन गर्दा संख्या बढी देखिएको खण्डमा भाग गर्दा ५० प्रतिशतभन्दा बढी शेष रहेमा थप १ जना प्रतिनिधि चयन हुने गरी कार्यविधि बनाएर प्रतिनिधि छनौट गरिएको छ । त्यसैले अब २३ गते हुने जिल्ला अधिवेशनले एमालेको नयाँ नेतृत्व चयन गर्नेछ । ठूलो जिम्मेवारीसहित नेतृत्वमा आउनेले तीन तहको निर्वाचनमा आफ्नो पार्टीको जित निकाल्नुपर्ने मूल लक्ष्य हुने देखिन्छ । यसका लागि नेतृत्वमा आउने सबैलाई अग्रिम बधाई र शुभकामना !