तिलक वि.क./जोमसोम, मुस्ताङ
जिल्ला प्रहरी कार्यालय मुस्ताङमा प्रहरी जनशक्ति कम हुँदा नियमित कार्य सम्पादनमा कठिनाई भएको छ । मुस्ताङमा तीन सय १३ जना ( अधिकृत देखि जवान सम्म) प्रहरी दरवन्दी रहेको भएता पनि हाल एक सय ८२ जना मात्र प्रहरी रहेका छन भने १३१ जना प्रहरीहरु गयल रहेका छन ।
उनीहरु मध्ये केहि तालिम केही गोष्ठी लगाएत अफिसियल काममा खटिई गएको भएता पनि अधिकांश प्रहरी कर्मचारीहरु माथिको सोर्स फोर्सको आधारमा सरुवा, काज र विदामा बस्ने गरेको नाम उल्लेख नगर्ने शर्तमा अधिकृत स्तरका एक प्रहरी कर्मचारीले बताए । उनका अनुसार सोर्स फोर्सको कारण मात्र नभई पहिला पहिला दुर्गमको हिसावले रासन र भत्ता राम्रो भएको कारण जिल्लामा आउन खोज्थे तर अहिले यस प्रकारको सुविधा कटौटी भएको कारणले पनि मुस्ताङमा सरुवा भइ आउनै खोज्दैनन । आइहाले पनि बस्न खोज्दैनन् ।
प्रहरीहरुको पोखरा र जोमसोमको जवान स्तरको रासन भत्ता तीन हजार रुपैयाँ हाराहारीले मात्र फरक भएको , निजामति खरदार सरहको र प्रहरी जवानहरुको स्थानिय भत्ता सात हजार पाँच सय रुपैयाँ हाराहारीमा फरक पर्ने गरेको हुँदा पनि प्रहरीहरु दुर्गममा महंगीले टिक्न सकिदैन भनी सरुवा भई आउन नचाहेको ती कर्मचारीले थपे ।
त्यतीमात्र नभई मुस्ताङ उच्च हिमाली जिल्ला र चिसो मौसम हुने ठाउँ भएको हुँदा विभिन्न चौकीहरुमा भौतिक पूर्वाधार तातोपानी, ग्यास, दाउरा अभाव मौसम अनुसारको न्यानो पोशाकको कमीका कारणले पनि प्रहरी कर्मचारीहरु विरामी हुने गरेको र उपचारको लागि पोखरा नै पुग्नु पर्ने समस्याकोे कारणले पनि यस जिल्लामा प्रहरीहरु आउन चाहदैनन् । आईहाले पनि विभिन्न कारण देखाई सोर्स फोर्स लगाई सरुवा हुने गरेको एक चौकीका प्रमुखले आफ्नो नाम नछापिदिने शर्तमा बताए ।
जिल्ला प्रहरी कार्यालयमा दरवन्दी अनुसारको प्रहरी जनशक्ति नहुँदा जिल्लाका सबै युनिटहरुमा दर्जा र संख्या अनुसारको जनशक्ति आपूर्ति हुन नसकेको यसले कार्य सम्पादनमा समस्या त भएकै छ । यस प्रकारको समस्या आगामी दिनमा चरणवद्ध रुपमा समाधान हुने जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरिक्षक रामकुमार दानीले बताए ।
हाल मुस्ताङमा जिल्ला प्रहरी कार्यालयको मातहतमा चार वटा इलाका प्रहरी कार्यालय मुक्तिनाथ, लेते, छोसेर र छुसाङ छन । भने आठ वटा प्रहरी चौकी लोमन्थाङ, घाँसा, कोवाङ, कागवेनी, घमी, सुरखाङ चराङ र छोनुप रहेका छन । यस मध्ये भौतिक पूर्वाधार लगाएतका समस्याको कारणले छोसेर, घमी र छोन्हुप प्रहरी चौकी मर्च भएका छन ।
यसै गरी जिल्ला ट्राफिक प्रहरी, पर्यटक प्रहरी, विमानस्थल सुरक्षा पोष्ट, कारागार सुरक्षा गार्ड, प्रमुख जिल्ला अधिकारी सुरक्षा गार्ड, जिल्ला अदालत न्यायधिश सुरक्षा गार्ड, अस्पताल लगाएत विभिन्न निकायमा प्रहरी युनिटहरु नियमित कार्यरत रहेका छन ।
उल्लेखित निकायहरुमा कार्यरत प्रहरी कर्मचारीहरु दरवन्दी अनुसारको दर्जा र संख्या कुनै पनि युनिटमा पुगेको छैन । इन्स्पेक्टरको कमाण्ड हुनेमा असई, सईको कमाण्ड हुनेमा हवल्दारले कमाण्ड गरी कार्यक्षेत्रमा खट्नु पर्ने बाध्यता रहेको जिल्ला प्रहरी कार्यालय श्रोत बताउँछ ।
मुस्ताङ एक धार्मिक र पर्यटकिय जिल्ला देशभर र संसार भरका पर्यटक एवंम तिर्थयात्री घुम्न आउने ठाँउ चिनको स्वसाशित क्षेत्र तिब्वत सँग जोडिएको सामरिक महत्वको सम्वेदनशिल भूगोल, वेला बखतमा कस्तुरी, शालीग्राम, रक्तचन्दन, सुनाखरी, अवैध सुन, डलर एवं बहुमूल्य जडिबुटीका तस्करीले चर्चा पाउने ठाँउ र वेला बखतमा राष्ट्रिय अन्तराष्ट्रिय भिआईपीहरुको भ्रमण हुने भएकोले पनि जिल्लामा सुरक्षा सम्वेदनशिलताको कारणले सुरक्षा थ्रेट बढ्छ । तर के गर्नु दरवन्दी अनुसारको प्रहरी जनशक्ति र चेक जाच उपकरण नहुँदा असाध्दै सुरक्षा व्यवस्थापनको समस्या र चुनौती हुने कुरा माथिल्लो निकायमा जानकारी गराएका छौ तर सुनुवाई भएको छैन ती कर्मचारीले बताए ।
मुस्ताङको सुरक्षा सम्वेदनशिलतालाई मध्ये नजर गर्दै दरवन्दी अनुसारको प्रहरी जनशक्ति आपुर्ति गर्न सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।
मुस्ताङमा प्रहरी जनशक्ति कम हुँदा कार्य सम्पादनमा कठिनाई
Previous Articleनारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारीको २२औं साधारणसभा
Next Article जिल्ला अधिवेशनमा एमाले