बागलुङ, ४ मंसिर – चार बर्ष पहिले सुरु गरेर रोकिएको बुर्तिबाङको कृषि हाट बजार तथा संकलन केन्द्र फेरी सञ्चालन गर्ने प्रयास सुरु भएको छ । गाविस स्तरिय कृषि विकास समिति बुर्तिबाङले ४० हजार बजेटमार्फत बुर्तिबाङ बजारमा रहेको कृषि उपज संकलन केन्द्रको मर्मत तथा व्यवस्थान गरेर सञ्चालन गर्न लागेको समितिका सचिव दिलबहादुर कुमालले बताए ।
तिन बर्षसम्म आंशिक रुपमा सञ्चालन भएर व्यवस्थानका लागि बजेट अभाव र किसानको सक्रियतामा पनि कमी भएपछि १ बर्ष पहिलेदेखि रोकिएको कृषि संकलन केन्द्र सञ्चालन गर्न लागिएको हो । संकलन केन्द्रको व्यवस्थानका लागि विनियोजित बजेट कम हुने भएकाले चालु आर्थिक बर्षको बजेट र अन्य स्रोत समेत व्यवस्थान गर्नुपर्ने आवश्यकता रहको सचिव कुमालको भनाई छ ।
‘संकलन केन्द्र नहुँदा हामीले उत्पादन गरेको कृषि उपजलाई बजारीकारण गर्न समस्या परेको छ’ सचिव कुमालले भने, ‘किसान साथीहरुको पनि सक्रियता बढेको छ, हामी जसरी पनि कृषि हाट बजारलाई निरन्तरता दिन्छौँ ।’ बुर्तिबाङ गाविस भित्रका ३० जनाभन्दा धेरै किसानले व्यवसायिक कृषि गर्दै आएका छन् ।
संकलन केन्द्र नियमित नचल्दा सामुहिक बजार व्यवस्थान हुन नसकेको र आफुहरुले घर तथा पसल चहारेर थोरै मुल्यमा कृषि उत्पादन बेच्नु पर्ने बाध्यता रहेको केरा खेती गर्दै आएका किसान टेकलाल पाण्डेले गुनासो गरे । कृषि विकास समितिले किसानलाई व्यवसायिक बनाउन मंसिर ७ गते कृषि तथा पशुपालन सम्बन्धि अभिमुखिकारण कार्यक्रम पनि गर्न लागेको छ । ‘गाविस भरिका ६० जना किसानलाई तालिम दिएर कृषि पेशालाई प्रबद्र्धन गर्ने योजना छ’ अध्यक्ष कमला अर्यालले भनिन्, ‘किसानकै मागलाई ध्यानमा राखेर तालिम गर्दैछौँ ।’
किसानलाई प्रोत्साहन गर्न समितिले गत बर्षको बजेटमा बडा नम्बर–२ सेराको सिँञ्चाई कुलो मर्मतको लागि ३० हजार उपलब्ध गराईएको छ । सेर कुलो मर्मतको काम सकिएकाले रकम भुक्तानी दिईसकिएको समितिले जनाएको छ । गत बर्षको ७० हजार बजेटबाट बडा नम्बर–२ र ३ बाहेकका अरु वडामा कृषि नर्सरी विकास गरिएको छ ।
वडालाई १०/१० हजार रकम दिएर कृषि समुहमार्फत तरकारी तथा फलफुलका बिरुवा बनाउन नर्सरी सुरु गरिएको समितिका सचिव दिलबहादुर कुमालले बताए । गाविस भित्र दर्ता भएका २४ वटा कृषक समुह छन् ।
बुर्तिबाङ बजरमा ताजा तरकारी, दुग्धजन्य उत्पादन, केरा, मासुजन्य उत्पादनको खपत बढेसँगै पछिल्लो समय व्यवसायिक खेती र पशुपालन गर्ने किसानहरुको संख्या पनि बढ्न थालेको छ ।