बागलुङ, ४ मंसिर – नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा प्रदेश नम्बर ४ का संयोजक किरण गुरुङले सर्वस्वीकार्यका नाममा संविधान संशोधनको नाटक बन्द गर्न सत्तारुढ दलहरुलाई आग्रह गरेका छन् ।
दुनियाँमा कही पनि संविधान सर्वस्वीकार्य भएको छैन र हुन पनि सक्दैन भन्दै उनले सर्वस्वीकार्यका नाममा संविधान संशोधनको नाराले संविधानको सर्वोच्चतालाई कमजोर बनाउने दावी गरे । नेकपा एमाले बागलुङ जिल्ला कमिटिको शुक्रवार शुरु भएको वैठकमा निर्देशनात्मक मन्तव्य व्यक्त गर्दै नेता गुरुङले ९० प्रतिशत भन्दा बढीको सहभागितामा बनेको संविधानका सर्वोच्चतालाई कार्यान्वयन गर्नका लागि राजनीतिक सहमति कायम गर्न तर्फ लाग्नु पर्नेमा जोड दिए ।
राजनीतिक सहमतिका नाममा संविधानको सर्वोच्चतालाई कमजोर बनाउने काम गलत हुने दावी गर्दै गुरुङले भने– ‘संशोधन होइन, संविधानको सर्वोच्चता स्थापित गर्नका लागि राजनीतिक सहमति कायम गर्नुपर्छ ।’ मुलुकको अहिलेको मुख्य कार्यभार भनेको संविधान कार्यान्वयन हो ।
त्यसका लागि कानुन निर्माण गरी स्थानीय, प्रदेश र संघीय निर्वाचन गर्नुपर्छ, तर वर्तमान सरकार निर्वाचनको पक्षमा नभएका कारण एमालेले चार महिने दवाव अभियान सञ्चालन गरेको उनको भनाइ थियो । मुलुकको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि एमालेको नेतृत्व आवश्यक रहेको महशुस जनताले गरि सकेकाले आपसी गुटगत मानसिकता त्यागेर एकतावद्ध तरिकाले निर्वाचन केन्द्रीत हुन उनले एमाले कार्यकर्ताहरुलाई निर्देशन दिए ।
संघीय संरचनामा आम जनताका भावनालाई प्रतिनीधित्व गर्दै समाज रुपान्तरणको दिशामा अगाडि बढ्नका लागि एमालेको नीति र नेतृत्व आवश्यक रहेकोले त्यसका लागि आम जनतालाई एमालेमा गोलबन्द गर्न सक्रियता पूर्वक लाग्न उनले आग्रह गरे ।
कार्यक्रममा एमाले ४ नम्बर प्रदेशका सचिव जगत विश्वकर्माले एमालेले प्रतिपक्षमै रहेर संविधान कार्यान्वयनको नेतृत्व गर्ने बताएका थिए । कार्यक्रमको अध्यक्षतामा एमालेका अध्यक्ष श्रीप्रसाद शर्मा, स्वागत उपाध्यक्ष तथा सांसद नरबहादुर थापा र सञ्चालन सचिवालय सदस्य विष्णु भुषालले गरेका थिए ।
वैठकमा एमाले बागलुङले सञ्चालन गरेको चार महिने संगठन विस्तार तथा सुदृढीकरण एवम् संविधान कार्यान्वयन र आठौ जिल्ला अधिवेशनका लागि एमाले बागलुङको अभियानका क्रममा भएका कार्यहरुको रिपोर्टिङ भएको छ । वैठकले मंसिर २५ देखि २७ गते सम्म हुने आठौ जिल्ला अधिवेशनको तयारी लगायत प्रतिनीधि कायम गर्ने अध्यक्ष श्रीप्रसाद शर्माले जानकारी दिए ।