काठमाडौं, ३ मंसिर – नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली भाषाको वर्णविन्यासमा देखिएको विवादलाई ध्यानमा राख्दै हाल आफूले प्रयोगमा ल्याएको वर्णविन्यास सच्याउने निर्णय गरेको छ । त्यस अनुसार प्रतिष्ठानबाट प्रकाशित नेपाली बृहत् शब्दकोशको नवौं संस्करण (०७२) खारेज गरिएको छ ।
अब बृहत् छलफलबाट मानक निष्कर्षमा पुगेर शब्दकोशको दसौं संस्करण निकालिने र तबसम्मका लागि बृहत् शब्दकोशको यसअघि प्रकाशित ०५८ र ०६७ को संस्करणलाई कायम राख्ने प्रतिष्ठानले जनाएको छ । निर्णय अनुसार संयुक्त व्यञ्जन वर्णको खुट्टा काट्ने गरी गरिएको सम्पूर्ण प्रयोगलाई सच्याइने भएको छ । भाषा प्रयोगकर्ताहरुमाझ धेरै विवाद रहेको सो नियमलाई सच्याई विद्या, बुद्ध, युद्ध, द्वन्द्व जस्ता शब्दहरुमा संयुक्त अक्षर नै लेख्ने निर्णय गरिएको छ ।
निर्णयमा सुन्दा उच्चारण एउटै लाग्ने तर अर्थ बेग्लै हुने फुल र फूल, जुन र जून जस्ता शब्दहरुको प्रविष्टि र अर्थ छुट्टाछुट्टै लेखिने उल्लेख गरिएको छ । यस्तै, प्राज्ञ परिषद्को बैठकले पदयोग र वियोगबारे पनि निर्णय गरेको छ । एकल अर्थ दिने व्यक्तिको नामको पहिलो दुई शब्द, स्थान नाम, दिनको नाम (वार) आदिलाई पदयोग गरेर लेख्ने भनिएको छ ।
व्यक्तिको नाम भने आफ्नो पहिचानसँग जोडिने भएकाले कसैले छुट्याएर लेखेमा अन्यथा नमान्ने उल्लेख गरिएको छ । सच्याईएका कुरालाई समावेश गरी प्रतिष्ठानले बृहत् शब्दकोशको दसौं संस्करण प्रकाशन गर्ने भएको छ । नयाँ संस्करणका लागि प्रतिष्ठानका कुलपतिको संयोजकत्वमा कुलपतिले तोकेका अन्य चार विज्ञसहितको समितिलाई जिम्मा दिने भनिएको छ ।
पछिल्लो पटक प्रकाशित शब्दकोशको नवौं संस्करण किनेका पाठकहरूले अब निस्किने संस्करणसँग साट्न चाहेमा मूल्य समायोजन गरी लिन सक्ने सुविधा दिइएको छ । तर, त्यसका लागि साथमा बिल हुनुपर्नेछ ।
Previous Article३ मंसिर २०७३, ढोरपाटन दैनिक
Next Article ‘पाण्डवखानी कसको सहमतिमा टुक्राईयो ?’