देव सागर
नाताहरुकै भीडभाडका बीचमा फेरि नाताहरु गाँसिन्छन् । कति नाता जीवनभरका हुन्छन् त कति क्षणभरका । यस्तै नाताको भीडभाडमा गाँसिएको ‘यौटा फरक नाता’ ।
बीबीएस दोस्रो वर्षको परीक्षा चलिरहेकै थियो । परीक्षाको समयभर मोबाइल स्विचअफ गर्ने र बाहिरी ब्यक्तिको सम्पर्कबाट टाढा रहने मेरो पहिलेदेखिकै बानी हो । घरमा हप्ताको एक पटक फोन पनि प्रायः गर्दिनँ । बरु घरबाटै फोन आइरहन्छ । यो बेला त झन फोन गर्ने कुरै भएन ।केही दिनअघि मात्र दाइ विदेशबाट भएको थियो । दाइलाई एक दिन राखेर अर्को दिन नयाँ बसपार्कसम्म पुर्याएर आएको हुँ । अनि परीक्षा तयारीमा जुटेको हुँ ।
दाइ घर गएको झण्डै एक हप्ता मात्र भएको थियो । दाजु विदेश जाँदा म गाउँकै २ कक्षामा पढ्थेँ । दाइले चार वर्ष विदेशमा बिताएर आउनुभयो । दाइ विदेश जानुभन्दा अघिको पारिवारिक अवस्था सम्झन्छु । घरमा पेटभरी खानसमेत धौधौ थियो । बुबाको कछाड अनि आमाको धोती वर्षदिनमा एक पटक पनि फेरिन मुस्किल पथ्र्यो ।
दाइले पनि अभावकै बीचमा आईए पास गर्नुभयो । धेरै ठाउँ जागिरका लागि धाउनुभयो । केही उपाय नलागेपछि सबै सर्टि्िफकेटका खोस्टाहरु बाकसमा थन्क्याएर हातमा पासपोर्ट बोकेर विदेशिनुभयो । दाइले विदेश गएर पसिना बगाएकै कारण मैले आज ब्याचलरसम्म पढ्न सक्ने अवस्था आयो । नत्र म पनि पासपोर्ट बोकेर बिदेशिनुको विकल्प थिएन । धन्य मेरो दाइ ! मेरो दाइ मेरा लागि भगवान समान हुनुहुन्छ ।
एक दिन बिहानै कसैले ढोका ढकढक्यायो । ढोका खोल्नासाथ थाहा भयो पल्लो कोठाको दाइ रहेछन् ।
तुरुन्त घर फोन गर रे ! तिम्रो घरबाट फोन आएको थियो । तिम्रोमा फोन लागेन रे ।
यति भन्दै दाइ आफ्नो कोठातिर छिरे । मैले तत्काल घरमा फोन लगाएँ । फोन आमाले उठाउनुभयो । लु दाइको बिहे आँटियो तुरुन्त घर आउन पर्यो । असारको अन्तिम साता हतार हतारमा बिहे आँटिएछ । मेरो परीक्षा सकेर बिहेभन्दा अघिल्लो दिन मात्र घर आइपुग्ने खबर सुनाएँ ।
मेरो मनमा नौमती बाजा घन्किन सुरु गरिहाल्यो । मन उडेर घर गैहाल्यो । त्यसैबेला आफू बेहुलो बनेको कल्पना गरेँ । जब म कल्पनामै बेहुलो बनेँ । तब मेरा अतितहरु कुनै फिल्मको शैलीमा आयो ।
प्रथम श्रेणीमा एसएलसी पास गरेपछि छात्रवृत्तिमा पढ्न पाएको थिएँ । धेरै साथीहरु पढ्नकै लागि सहरतिर छिरे तर मेरो गाउँमै पढ्नुको विकल्प थिएन । भर्खरै त कलेज जीवन सुरु हुँदैथियो । मनमा उमङ्ग त हुने नै भयो । त्यही उल्लास मन भरी लिएर कलेज गएँ ।
विडम्बना पनि कस्तो अचम्मको, कलेजको पहिलो दिन, चिनेका साथीहरु त एक जना पनि छैनन् । सबै सहर छिरेँ म भने… । मन खिन्न बनाउँदै कलेज छिरेँ । धेरैजसो साथीहरु म जस्तै नयाँ छन् । केही साथीहरु परिचित भइसकेजस्तो खास खुस सुरु गरिसकेका छन् । म भने कसैको वास्ता गरेको छैन । गर्नु पनि किन ? कोही चिनेका त छैनन् । कक्षाकोठामा छिर्न मात्र के लागेको थिएँ । पछाडिबाट कसैले बोलाएको आवाज आयो ।
सागर ! सागर !
सृष्टि ! तिमी पो ?
आठ कक्षा पढ्दादेखिकै साथी हो सृष्टि । स्कुले जीवनमा दुवैले खासै वास्ता गरिएन । आज अरु कोही साथी नभएको बेला मात्र उनको मुखले मेरो नाम उच्चारण गर्यो ।
उनलाई मैले आठ कक्षादेखि नै ख्याल गर्दै आएको थिएँ । उनी कहाँ जान्छिन्, के गर्छिन्, कोसँग बोल्छिन् उनको हरेक कुरामा नजर लगाउँथेँ । सायद उनको शारीरिक बनावट, चन्चले स्वभाव, नम्र बोलीले मलाई आकर्षित गरेको थियो । अझ सिधा भन्नुपर्दा म उनलाई मन पराउँथे ।
गणित शिक्षक आएर सम्भाव्यता पढाउनुहुन्थ्यो । मैले भने उनलाई पाउने सम्भाव्यता कति छ भनेर सोच्थेँ । सरले सेट पढाएर साझा र बाँकी निकाल्नुहुन्यो मैले भने उनका र मिल्ने र नमिल्ने कुराको रेखाचित्र तयार गर्थें । अचम्मको थियो मेरो माया । कापीका कति पाना त उनकै नाम लेखेर भरिदिन्थेँ । म त्यतिसम्म उनको मायामा डुबेको थिएँ । तर उनले मेरो वास्ता गर्दिनथिइन् । सायद, म एकतर्फी मायामा डुबेको थिएँ । त्यो पनि फेरि तैरिनै मुस्किल पर्ने गरी ।
कलेजको पहिलो दिन सामान्य बोलचाल भयो । सँगै भित्र गएर बस्यौँ । धेरै समयपछि भेटेकाले होला मेरो नजरले उनलाई भिन्न, झनै उज्याली, झनै चहकिली देखेको थिएँ । तर उनमा एकाएक पहिलेको चन्चलेपन पुरै हटेर गएछ क्यार, मलिन मुद्रामा देखिन्थिन् ।
कक्षामा अरु चिने जानेका कोही भएनन् । हामीहरु आफ्नै सुरमा आउने जाने गर्न थाल्यौँ । ‘केही समय बित्दा नबित्दै हामी घनिष्ट साथी भयौँ’ उनी भन्थिन् तर मैले त जीवन साथीसम्मकै कल्पना गरिसकेको थिएँ । उनीसँग प्रेमसंवाद गर्ने साहस ममा थिएन । साथीहरु हाम्रो सामीप्यता देखेर डाह गर्थे । हामीलाई त्यस्तो कुराको प्रवाह थिएन ।
एक दिन भ्यालेनटाइन डेको अवसर पारेर क्याम्पसमा प्रेमप्रत्र लेखन प्रतियोगिताको आयोजना भयो । सायद, समयले मलाई सृष्टिको नजिकसम्म पुग्ने अवसर दिएको हुनुपर्छ । मैले पनि यो अवसर सदुपयोग गर्नुपर्छ भन्ने सोचेर प्रतियोगितामा भाग लिने निर्णय गरेँ । दिनभरी लगाएर सृष्टिको नाममा प्रेमपत्र लेखेँ र त्यसलाई अर्कैको नाम मात्र फरक गरेर अर्कोप्रति वाचनको लागि तयार गरेँ ।
प्रेम दिवसका दिन बिहान कक्षामा पुग्नासाथ यी हेर सृष्टि ! मैले त आज प्रतियोगितामा भाग लिन प्रेमपत्र लेखेको छु पढ है भन्दै पत्र थमाइदिएँ र बाहिर निस्किएँ । अब सृष्टिबाट कस्तो प्रतिकृया आउला भन्ने कुराले मलाई छटपटी भयो । केही समयपश्चात पत्र पाठन कार्यक्रम सुरु भयो । मेरो पालो दोस्रो नम्बरमा आयो । मञ्चमा पुगिसकेपछि चारैतिर नजर डुलाएँ । सृष्टि मञ्चको दायाँतर्फ देखा परिन् । उनलाई देख्नासाथ मेरो मनमा साहास थपियो । शरीरमा काँडा उठेर आए ।
पत्र वाचन सुरु गरेँ । बीचबीचमा गड्गडाहट ताली बज्थ्यो । ममा झन हौसला थपिन्थ्यो । पत्रमा आठ कक्षा पढ्दादेखिको सबै कुरा समेटेको थिएँ । मैले आफ्नै मनको व्यथा सुनाउँदै थिएँ तर सबैलाई काल्पनिक कथा बनेको थियो । पत्र वाचन सक्नासाथ सृष्टिलाई हेरेँ । उनी साथीहरुको बीचमा थिइन् । उनका आँखा भरिएका थिए तर साथीहरुका अघि हाँसेको अभिनय गर्दै थिइन् । उनको आँखामा प्यार टिलपिल टिलपिल थियो । कतिबेला छताछुल्ल हुने हो उनको प्यार ठेगान थिएन ।
प्रतियोगितामा म प्रथम भएँ । संयोग त्यस्तै पर्यो, प्रतियोगितापछि त्यो दिन पढाइ भएन । सबै साथीहरु घरतिर लागेछन् । मैले त्यही मौका छोपेर प्रतियोगितामा पाएको पुरस्कार सृष्टिलाई थमाउँदै कक्षामा भएका चार भित्ताहरु अनि केही थान डेक्स बेन्चको रोहबरमा उनलाई प्रेम प्रस्ताव गरेँ । अन्ततः उनको आँखामा भरिएको प्रेमसागर छताछुल्ल भयो र पोखिइन् आँखा अगाडिको निर्मल सागरको छत्रछायाँमा ।
जे कुराको आशा गरिएको हुन्छ त्यो कुरा नपाउँदा मान्छे दुखी हुन्छ तर जहाँ अपेक्षा गरिएभन्दा ठूलो उपलब्धि हुन्छ, त्यहाँ खुशीको सिमा रहँदैन । हामी पनि त्यही दिनदेखि प्रेमजोडी भयौँ । लैला मज्नु भयौँ, रोमियो जुलिएट्स भयौँ । सिङ्गो प्रेमसागरको रोहबरमा एउटा छुट्टै प्रेम संसारको सृष्टि भयो । हामी पनि ‘सृष्टिसागर’ भयौँ ।
त्यसपछिका दिनहरु प्रेममय बन्दै गए । हावा भिन्दै चलेजस्तो, घाम भिन्दै लागेजस्तो । साँच्चै हावा नै फरक चलेको थियो त ? अहँ थिएन तर हाम्रो मन बेग्लै थियो किनभने दुई मन एक भएको थियो । दिनका दिन भेट हुनु नौलो रहेन । लुकिलुकी फोन, म्यासेज गर्नु पनि नौलो रहेन । दुनियाको आँखा छलेर भेट हुुनु, एकआपसमा मन साटासाट गर्नु नित्यकर्म बन्दै गयो ।
उनका नशालु आँखा हेरेर घण्टौँ बिताउन सक्थेँ । उनको चम्किलो मुहार हेरेर पूरा दिन नै बिताउन सक्थेँ । अझ भनुँ उनलाई हेरेरै मेरो जिन्दगी बिताउन सक्थेँ । उनी पनि मबाट एकैछिन टाढा हुन पर्दा छट्पटाउँथिन् । एक दिन भेट नहुँदा अर्को दिन अँगालो मारेर रुन्थिन् । हामी एकअर्कामा हराउन चाहन्थ्यौँ । समर्पित हुन चाहन्थ्यौँ ।
हाम्रो प्रेम झनै मौलाउँदै गएको थियो । त्यसैबीचमा कक्षा १२ को परीक्षा पनि भयो । दिनका दिन भेट हुने बहाना कलेज थियो । त्यो नै सकिएपछि फोनमा कुरा गर्नुको विकल्प रहेन । बिस्तारै फेसबुकमा पनि कुरा हुन थाल्यो । उनको र मेरो घरको दुरी ठ्याक्कै ३ घण्टा लाग्थ्यो । अनि उनलाई आफ्नै गाउँमा गएर भेट्न गाउँले अनि आफन्तको डर हुन्थ्यो । त्यसैले हप्तामा एक पटक भेट हुन पनि मुस्किल हुँदै गयो ।
केही महिनामा परीक्षाको नतिजा आयो । म पास भएँ तर सृष्टिलाई भने पास हुन अझै एक वर्ष कुर्नुपर्ने भयो । पास हुनासाथ पढ्न काठमाडौँ जाने दुवैको सल्लाह माटोमा मिल्यो । पढाइमा ध्यान नदिएर अन्य कुरामा भुलेर फेल भएकी होस भनेर उनका घरमा गाली गर्थे रे ! उनले फोन गर्दा सुनाउथिन् । हुन पनि त्यस्तै भयो । उनी पहिले पढाइमा निकै मिहिनेती थिइन् र नतिजा पनि राम्रो आउँथ्यो तर अहिले त्यसो भएन । सबैलाई भन्ने बाटो खुल्यो ।
मलाई घर परिवारबाट काठमाडौँ गएर पढ्न दबाब आउन थाल्यो । हुन त त्यो मेरो लागि अवसर थियो । दाइ विदेश नगएको भए, केही पैसा नकमाएको भए म पनि हातमा राहदानी समाएर खाडी जानुपथ्र्यो । तर त्यस्तो अवसर पाउँदा पनि मन खुशी हुन सकेको थिएन ।
अन्ततः एक दिन बिहानै सृष्टिको माया मनभरी बोकेर सहरतिर लागेँ । अघिल्लो दिन सृष्टिलाई भेटेको थिएँ । उनले गहभरी पार्दै भनेकी थिइन् । ‘सहरको रमझममा भुलेर हाम्रो चोखो मायालाई नलत्याउनू, आफ्नो गाउँघर पाखा पखेरालाई नभुल्नू, प्रगतिले शिखर चुम्दै जानू, के गर्नु सँगै सहर जान पढाइ बाधक बन्यो । फोन गरिरहनू ।’ उनका कुराले आँखामा आँशु थामिएनन् दुवैजना अँगालो मारेर रोयौँ । मनले त्यही पल सम्झिएर पाइला अघि बढ्न मानेका थिएनन् । जबरस्ती सहरको एउटा कुनामा पुगेर आफ्नो दिनाचार्य सुरु गरेँ ।
सृष्टिसँगको सामीप्यता, सँगै बिताएका पलहरु नै मेरा दिन बिताउने आधारहरु थिए । मेरो तन मन सबै सृष्टिले ओगटेकी थिइन् । जब उनी सम्झनामा आउँथिन् तब मैले सारा कुरा भुलिदिन्थेँ । हराउँथेँ कल्पनामा, पुग्थेँ मायालुको संसारमा र मायाका भव्य महलहरु सृष्टि गर्थें । जुन संसारमा हुन्थे केवल सृष्टि र सागर ।
समय बिस्तारै बित्दै गयो । घर छोडेर हिँडेको पनि एक वर्ष पुग्न लाग्यो । मेरो हालत पहिलेको भन्दा कम थिएन । सृष्टिको याद सयमा उनान्सय पनि भएकै थिएन । समय एकनास दौडिरहेकै थियो तर त्यही समयमा चलिरहेको मौसम परिवर्तित थियो । त्यही मौसमले कहिले हावाहुरी चलाइदिन्थ्यो, कहिले भारी वर्षा त कहिले चट्याङ समेत ।
सधैँ चल्ने हावाहुरी चलिरहेकै थियो । कहिलेकाहीँ पर्ने वर्षा परिरहेकै थियो । तर एक दिन हाम्रो सम्बन्धका बीचमा पनि चट्याङ पर्यो । चिराचिरा पारिदियो मेरो कोमल मन । तहसनहस बनाइदियो हाम्रो प्रेम । उनको मन नौनीजस्तो थियो तर एकाएक कसरी चट्टानजस्तो भयो ? मैले मेसो पाउनै सकिन ।
प्रेम छुट्नुको ठूलो कारण पनि केही थिएन । म सहर छिरेदेखि उनले मप्रति कडा निगरानी राख्न चाहन्थिन् । म उनको निगरानीभन्दा टाढा भाग्न त चाहँदिनथेँ तर उनले ममाथि गरेका शङ्काहरुले अथाह पीडा दिन्थ्यो ।
केही महिनाअघि नै फेसबुक पासवर्ड साटासाट भएको थियो । उनले एक्कासि पासवर्ड चेन्ज गरिन् । लगत्तै मेरो फेसबुकमा भएका केटी साथीहरुलाई तथानाम गाली गर्दै म्यासेज लेखिछन् र मेरो पासवर्ड समेत चेन्ज गरिछन् । मैले थाहा पाएपछि फोन मात्र के गरेको थिएँ । भन्नु नभन्नु भनिन् । मैले सम्झाउन खोजेँ । ‘फेसबुक ठूलो कुरा होइन, बन्द गरिदिउँला । हामी आआफ्नो ठाउँमा ठीक हुनुपर्छ । सबै ठीक हुन्छ ।’ अहँ उनले मेरो कुरा सुन्ने प्रयास नै गरिनन् । मलाई पनि असह्य भयो । त्यसै दिनदेखि हाम्रो जीवनको बाटो अलग भयो । आखिर उनको त्यही शङ्काले नै हाम्रो सम्बन्धमा धाँजा फाट्यो ।
मान्छे फरक भएपछि विचार फरक हुनु स्वभाविक हो । विचार फरक भए विवाद र मनमुटाव हुन्छ नै । त्यही मनमुटाव कसरी कम गर्न सकिन्छ र सम्बन्ध प्रगाढ हुन्छ, त्यो कुरामा वास्ता नगर्नु दुवैको कमजोरी हो । केही दिन त बेहोसी जस्तै भएँ । खाना खाइन । कलेज समेत गइन । धेरै रातहरु नसुतेरै बिताएँ । तर मैले त्यसो गर्दैमा सम्बन्ध पुनः जोडिने कुरा भएन ।
हुन त उनलाई पनि पीडा हुँदो हो । म त केवल अनुमान मात्र गर्न सक्थेँ तर दुखेको घाउमा मल्हम लगाउन उनी आँफैले बाटो बन्द गरेकी थिइन् । अब टुटिसकेको सम्बन्धलाई सम्झिएर पनि कुनै अर्थ रहेन । बिस्तारै टुक्रिएको मन सम्हाल्दै गएँ र समय पढाइमा खर्चिन थालेँ ।
एक दिन दाइले फोन गर्नुभयो । म अर्काे महिना घर आउँदैछु । मन गदगद भयो । एकैछिनमा सम्झिहालेँ । मेरो त परीक्षा छ त, मन उतिबेलै दुखी भयो । सम्झेँ, मेरो परीक्षा भएर के भो त । दाइसंगै घर जान नपाए पनि परीक्षा सकेर त गइहाल्छु नि । यो पटक त दाईो बिहे गर्ने कुरा चलेको छ घरमा । दुलाहाको भाइ भएर जन्त जाने सौभाग्य मलाई जुर्नेछ । अहो ! कत्ति रमाईलो होला ?? मनमा बाजा बज्न थाल्यो । त्यही मन नाच्न थाल्यो । कस्तो मेरो मन । म आफै मुस्कुराएँ ।
दाइ विदेशबाट आउने दिन परीक्षा थियो । परीक्षा सकेर विमानस्थलसम्म लिन गएँ । दाइलाई देख्नासाथ आँखा भरियो र छचल्कियो । ती त हर्षका आँशु न थिए, धेरै बेर खसेनन् । दाइलाई अँगालो मारेँ । त्यस दिन दाजुभाइ सँगै बस्यौँ । भोलिपल्ट बिहान बसपार्कसम्म म पनि गएँ । दाइलाई बस चढाएर म फर्कें । दाइ घरतिर लाग्नुभयो ।
आमाले दाइको बिहे पक्का भइसकेको र छिटो घर आउन भन्नुभएदेखि मन उडेर घर गइहाल्यो । बाँकी देह मात्र काठमाडौँ थियो । परीक्षा सकेर बिहेको अघिल्लो दिन साँझ घर पुगेँ ।
घरको तामझाम नै फरक थियो । आफन्तको ठूलो घुइँचो थियो । घर पूरै ध्वजापतकाले सुसज्जित थियो । घरमा बाजा गीतहरु घन्किएकै थियो । यो सब देखेर म तिनछक परेँ । विवाहको सम्पूर्ण तयारी पूरा भइसकेको थियो । त्यो दिन त रमाइलोमै बित्यो । केवल प्रतीक्षा थियो त बिहेको दिनको ।
आज त बिहेको दिन, जन्ती जानेहरु सबैजना सुटबुटमा तम्तयार भएर निस्किए । जन्ती नजानेहरु रत्यौलीको तयारीमा जुटे । दिदी बहिनीले बेहुला (दाइ) लाई सिँगारपटार गरिदिए । करिब नौ बजेतिर जन्ती प्रस्थान गर्ने कार्यक्रम थियो । घरमा गरिने केही विधि पूरा गरेर बेहुली लिन निस्कियौँ ।
करिब तीन घण्टाको बाटो हिँडेपछि मात्र रमाली गाउँ पुगिन्थ्यो । घरी सम्झन्थेँ, यदि भाउजू आएपछि पनि मेरो र दाइको सम्बन्ध यस्तै सुमधुर रहला त ? मेरो कमाइ केही छैन । यदि भाउजूले दाइको मन परिवर्तन गरिदिइन् भने ? हैट, मैले के के सोँचेको होला ? यस्तो हुनै सक्दैन । हाम्रो दाइ त्यति अज्ञानी कहाँ हुनुहुन्छ र ? दाइ त भगवान समान हुनुहुन्छ । आफ्नै मनले जवाफ दिन्थ्यो ।
फेरि सम्झन्थेँ, म पनि दाइ जसरी नै बेहुलो बनेर जाने दिन कहिले आउला ? यदि सृष्टिसँगको सम्बन्ध नटुटेको भए कुनै दिन यही बाटो बेहुलो बनेर जानेँ थिए र लिएर आउने थिएँ मेरी बेहुलीलाई, मेरी राजकुमारीलाई, मेरी मायालुलाई तर… सम्बन्ध टुटिसक्यो जे नहुनुथ्यो त्यही भइसक्यो । अब कल्पना गरेर कुनै अर्थ रहेन । एकाएक चुपचाप हुन्थेँ ।
बेहुलीको घरमा पुग्न थोरै मात्र बाँकी रहँदा दाइले चिनाउनुभयो ।
उ… त्यही चौतारीनेरको घर हो तेरी भाउजूको घर ।
अनि भाउजूले कतिमा पढ्ने हो रे नि दाइ ?
अहिले पलस टु पास गरेको रे ।
दाई, भाउजूको नाम के हो नि ?
सृष्टि !
मनमा कता–कता चिसो पस्यो । जन्ती बेहुलीकै घरमा आइपुग्यो । केही समयमै जन्ती पर्सिने बेला भयो । त्यसको ठ्याक्कै पाँच मिनेटपछि स्वयंवरको समय भयो । दाइ अरु जन्तीभन्दा अघि गएर उभिनुभयो । बेहुली पक्ष बेहुलो हेर्न भेला भए । त्यसै बखत भाउजू हातमा कमण्डलु लिएर घुम्टोमा सजिएर आउनुभयो । भाउजूको अनुहार हेर्न हतारिएको थिएँ । घुम्टोले पुरै छेकिदियो ।
भाउजूले जलधारा दिँदै दाइलाई तीन फन्को लगाउनुभयो । दाइले स्वयंवरको औँठी लगाइदिनुभो । माला साटासाट गर्ने बेला भयो । भाउजुले घुम्टो थोरै खोल्नुभयो । जब पुर्लुक्क अनुहारमा मात्र के हेरेको थिएँ । त्यो अनुहार त सृष्टिको थियो । मलाई तिरीमिरी भयो । एकैपटक पूरै पृथ्वी फनफनी घुम्यो । म अचेतजस्तै भएँ । म मरेँ कि ? आफैलाई शङ्का लाग्थ्यो । अरु कोही बोलेको आवाज सुन्थेँ, जिउँदै रहेछु थाहा पाउँथेँ ।
मैले जे कुराको कल्पनासमेत गरेको थिइन । मैले जुन कुरा कहिल्यै देख्न नपरोस् भन्थेँ त्यही दिन मेरा आँखाले देख्नुपर्याे । टाढा हुँदा तँ मरेस् भनेर धारेहात लाए पनि आफ्नै प्रमिका बेहुलीमा सजिएको देख्न नसकिँदो रहेछ । त्यो पनि अझै आफ्नै प्रेमिका आफ्नै भाउजू बनेर मेरै घरमा भित्रिँदैछ । यो कस्तो बिडम्बना ? यो के देख्नुपर्याे मैले ? यो देख्नु पहिले नै म किन मरिन ? मलाई अथाह पीडा भयो, हो मलाई खपिनसक्नु पीडा भयो ।
बिहेको काम धमाधम भयो । त्यहाँ त म मात्रै छटपटिएको थिएँ । अरु सबै त रमाइरहेकै थिए । दाइ राम्री दुलही पाएकामा मख्ख हुनुहुन्यो । अन्ततः दाइले मेरी भूतपूर्व प्रेमिकालाई मेरै आँखा अघि सिन्दुर भरिदिनुभयो र आफ्नी दुलही बनाउनुभयो ।
मसँग अरु विकल्प नै केही छैन । न त मैले दाइलाई त्याग्न सक्थेँ न त घरपरिवार नै । म त अब चुपचाप बस्नुपर्छ । मेरो मनमा भएका सबै पीडाहरु यथावत राखेर मैले आफ्नी प्रेमिकालाई आजदेखि भाउजू भन्नुपर्नेछ । उनै भाउजूलाई मैले आमा समानकी भाउजू मान्नुपर्नेछ ।
बिहेको केही दिनपछि दाइ भाउजू दुरान गएर आउनुभयो । भाउजूले दाइको अघि माइतीबाट ल्याएको कोेसेली थमाउँदै भन्नुभयो ।
देवर बाबु नमस्कार !
म चुपचाप भएँ ।
चापकोट, स्याङ्जा,
हाल : कोरिया
Previous Articleकेन्द्रीय रंगशाला निर्माण प्रक्रिया थाल्ने प्रधानमन्त्रीको भनाइ
Next Article गीतकार कार्कीको “आफै सँग” गीत (भिडियो सहित)