काठमाडौं, २ मंसिर- प्रधानमन्त्री पुष्पकमल दाहालले छिट्टै केन्द्रीय रंगशाला निर्माण प्रक्रिया थाल्ने बताएका छन् । मलेसियामा भएको सोलिडारिटी कप विजेता खेलाडीलाई बालुवाटारमा बधाई तथा शुभकामना दिँदै प्रधानमन्त्री दाहालले अहिलेको दशरथ रंगशाला सानो भएकाले अब केन्द्रीय रंगशाला निर्माण सुरु गर्ने बताएका हुन् । उनले भने, ‘अहिलेको रंगशाला सानो भइसकेको छ । केन्द्रीय रंगशाला बनाउने प्रक्रिया छिट्टै अगाडि बढाउने विश्वास दिलाउँछु ।’
विनाशकारी भुकम्पले भत्किाए रंगशालाको पुननिर्माणको आह्वान भइसकेको भन्दै उनले छिट्टै सम्पन्न हुने पनि विश्वास दिलाए । प्रधानमन्त्रीले यसअघि नै घोषणा भएअनुसार सोलिडारिटी कप विजेता नेपाली राष्ट्रिय टोलीका खेलाडीहरुलाई जनही तीन लाख रुपैयाँ पुरस्कार दिइने भनाइ दोहोर्याए । आफू पनि फूटबलप्रेमी भन्दै नेपालले फुटबल प्रतियोगिता जित्दा गर्व र गौरव लाग्ने गरेको उनले बताए ।
उनले समग्र खेल क्षेत्र विकासका लागि सरकारको तर्फबाट काम अगाडि बढाइएको बताए । ‘सोलिडारिटी कप जित्दा मलाई उत्साह थपेको छ’ प्रधानमन्त्री दाहालले भने, ‘अब खेल क्षेत्रमा केही नयाँ पहल थाल्नेछु । खेलाडीका लागि सकारात्मक वातावरण हुने विश्वास दिलाउँछु ।
विगतमा म्याच फिक्सिङ, भ्रष्टाचारजस्ता तिता यथार्थ नेपाली खेल जगतले भोगेको स्मरण गराउँदै प्रधानमन्त्रीले अखिल नेपाल फुटबल संघ (एन्फा)ले अहिले सकारात्मक वातावरण बनाएको भन्दै एन्फा पदाधिकारी र कर्मचारीहरुलाई समेत धन्यवाद दिए । सोलिडारिटी कपमा मंगलबार मकाउलाई १–०ले पराजित गर्दै नेपाली खेलाडीहरु बुधबार अबेर राती स्वदेश फर्केका थिए ।
केन्द्रीय रंगशाला निर्माण प्रक्रिया थाल्ने प्रधानमन्त्रीको भनाइ
Previous Articleदेउवालाई सिंगो पार्टीको सभपति बन्न पौडेलको सुझाव
Next Article कथा : बदलिएको नाता