नेकपा एमाले मंगला गाउपालिका कमिटीले पालिका भित्रको सबै गाउँ टोलसम्म पार्टीको सङ्गठन विस्तार गर्ने भएको छ । गाउँपालिका कमिटीको शनिबार बाबियाचौरमा सम्पन्न प्रथम विस्तारित वैठकले गाउँ टोलमा पुगेर पार्टीको सङ्गठन विस्तार गर्ने योजना बनाएको हो ।
यसैगरी वैठकले पालिकामा जनवर्गीय सङ्गठन निर्माण गर्ने, उमेर पुगेका मतदाताको नामावली सङ्कलन तथा दर्ता कार्यमा सघाउने, पार्टी कामका लागि कार्यक्षेत्र निर्धारण एवं कार्यालय व्यवस्थापन लगायतका विभिन्न एजेण्डाहरुमा छलफल गरी निर्णय गरिएको एमाले मंगला गाउँपालिका कमिटी सचिव चिरञ्जीवी शर्माले जानकारी दिए । वैठक एमाले मंगला गाउँपालिका कमिटी अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
विस्तारित वैठकलाई सम्बोधन गदै एमाले गण्डकी प्रदेश कमिटी सदस्य नरदेवी पुनले पार्टीको गाउँ अभियान सञ्चालन गरी पार्टीलाई गाउँ टोलसम्म लैजान सुझाव दिएकी छन् । उनले एमाले र माओवादी केन्द्रको बीचमा पार्टी एकता घोषणा गर्ने मात्रै काम भएको र पार्टीका कुनै पनि गतिविधिहरु हुन नसकेकाले अब पार्टी सदस्यता नवीकरण तथा विस्तारमा जोड दिनुपर्ने बताइन् । गण्डकी प्रदेश सभा सदस्य समेत रहेकी नेतृ पुनले यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राम्रा कामलाई जनताको माझमा लैजान आग्रह गरेकी छन् ।
विस्तारित वैठक एमाले मंगला गाउँपालिका कमिटी सचिव चिरञ्जीवी शर्माको सञ्चालन र उपसचिव दर्पण रोकाका स्वागतमा सम्पन्न भएको थियो । लामो समयसम्म पार्टीका गतिविधि शुन्य रहेको अवस्थामा एमालेले यही कार्तिक ६ गते वडा र ९ गते एकैसाथ देशैभर पालिका अधिवेशन सम्पन्न गरी सर्वसम्मत नेतृत्व चयन गरेको छ । लामो समयपछि पार्टीका गतिविधिले तीव्रता पाएपछि नेता, कार्यकर्तामा उत्साह छाउनुका साथै एमालेप्रति जनलहर बढ्दै गएको एमालेले जनाएको छ ।
एमाले मंगला गाउँपालिकाले गाउँ टोलसम्मै पार्टीको सङ्गठन विस्तार गर्ने
Previous Articleएनआरएनए लाई राजनीतिकरण नगर्न प्रवासी नेपाली मञ्च संयुक्त अधिराज्य बेलायत द्दारा प्रधानमन्त्रीलाई ध्यानाआकर्षण
Next Article Next Post