आँखाले बाह्य दृश्य देख्छ
कानले बाह्य आवाज सुन्छ
नाकले आफ्नो गन्ध थाहा पाउँदैन
छालाले अरुको स्पर्शमा प्रतिकृया जनाउँछ
न त जिब्रोको कुनै आफ्नो स्वाद छ
सारा ज्ञानेन्द्रिय नै बाह्य भएपछि
कसरी देख्नु मानिसले आफैलाई
र त जीवनमा
सबैभन्दा सहज अरुलाई देख्न रहेछ
सबैभन्दा गार्हो आफैलाई देख्न रहेछ
सबैभन्दा सहज बाहिर दौडिन रहेछ
सबैभन्दा गार्हो आफैसम्म पुग्न रहेछ
एउटा गन्तव्य भेटिनसक्दा अर्को गन्तव्य देखिने
रहरको एउटा सिँढीमा पुगिनसक्दा
अर्को सिँढी खडा भैहाल्ने
जतिसुकै हिँडे पनि , दौडिए पनि
जीवनको सन्ध्या आइपुग्दासम्म
आफुलाई उस्तै मैदानमा भेटिरहने
अचम्मको यात्रामा छ मान्छे
जुन यात्राको
न त छ
निश्चित गन्तव्य
न त छ
कुनै अन्त्य
यात्राको अन्त्य भए पो सफल भइन्छ !
असफलता बोकेर मान्छे कसरी खुशी हुन सक्छ ?
दुखी आत्माहरुको
यो भिडभाडबाट अलग्याएर आफैलाई
आफुसँग छुट्टाएर आफैलाई
आफैलाई हेर्ने गर्नुभएको छ ?
आफ्नै व्यवहारमाथी प्रश्न खडा गरेर
आफ्नै ज्ञानको तराजुमा आफैलाई जोख्नुभएको छ ?
यार यो मान्छे के गर्दै छ !
आफ्नै कर्तुत माथि अचम्मित हुनुभएको छ ?
घरीघरी लाग्ने गर्छ
हामी भ्रमको यात्रामा दौडिरहेका छौँ
जसरी
धुलोले ऐनालाई
धुँवाले अग्नीलाई
बादलले सगरलाई
छोपेको छ
त्यसरी नै कतै न कतै हाम्रा ज्ञानेन्द्रियरुले
छोपेका छन् हामीलाई
कहिले पो बन्न सकिएला यो भ्रमबाट मुक्त
कहिले पो आत्मसाथ गर्न सकिएला यत्ति कुरो
कि
-आफैसम्म नपुग्ने मान्छे कतै पुग्दैन
-आफैलाई नचिन्ने मान्छेले कसैलाई चिन्दैन
-जिन्दगीमा सफल त्यो दिन भइनेछ
जुन दिन आफैलाई भेटिनेछ ।