बागलुङ, २ मंसिर – स्थानिय निकाय सिमाङ्कन प्रतिवेदन आयोगमा पुगिसकेको अवस्थामा बागलुङको निर्वाचन क्षेत्र नम्बर–३ का राजकुत र पाण्डवखानीमा बन्दसहित विरोधका कार्यक्रम हुन थालेका छन् ।
देविस्थानलाई प्रस्तावित ढोरपाटन नगरपालिकामा राख्नुपर्ने भन्दै सांसद र काँग्रेस जिल्ला सभापतिलाई माग पत्र बुझार्ईएको छ । ढोरपाटन नगरपालिकामा प्रस्तावित राजकुत गाविसलाई निसीखोला गाउँपालिकामा राख्न माग गर्दै नेपाली काँग्रेसका जिल्ला सदस्य प्रकाश कुँवरसहितको असन्तुष्ट पक्ष, एमाले र माओवादी केन्द्रका केहि नेताले बुधवार गाविस नै बन्द गरेर विरोध गरेका छन् ।
दिनभर बन्द गरेर विरोध प्रदर्शन गरेका उनीहरुले गाविस कार्यालय, विद्यालय तथा पसलहरु खोल्न र सवारी साधन चल्न नदिएको गाविस सचिव विराज विश्वकर्माले जानकारी दिए । बुर्तिबाङमा घर भएका र त्यहाँ बस्दै आएका केहि व्यक्तिको स्वार्थका कारण नगरपालिकामा राख्न चलखेल भएको आरोप लगाउँदै आएको असन्तुष्ट पक्षले सांकेतिक विरोध स्वरुप सांसद ज्ञानकुमारी छन्त्यालसहित ढोरपाटन नगरका पक्षधर काँग्रेसका तेजेन्द्र विक्रम कुँवर र एमालेका लालविर लोप्चनको पुत्ला जलाएको दाबी छन् ।
स्थानिय नागरिकको माग अनुसार गाउँपालिकामै राख्न दबाव दिँदै बुधबार साँझ मसाल जुलुस गरिएको संघर्ष समितिका संयोजक डेमलाल श्रेष्ठले बताए । माग पुरा नभए बन्द र विरोधका कार्यक्रम देविस्थान बुर्तिबाङहुँदै जिल्ला सदरमुकामसम्म गरिने नेपाली काँग्रेसका जिल्ला सदस्य प्रकाश कँवरले बताए । राजकुत काँग्रेसको विवाद पनि झन् चर्केको छ ।
असन्तुष्ट पक्षले पार्टि हित विपरित काम गरेको भन्दै यसअघि नै सभापती तेजेन्द्र विक्रम कुँवरलाई ३ महिनाको लागि निलम्बन गरेको दाबी गरेको थियो । मंगलबार उनीहरुले डेमलाल श्रेष्ठलाई पार्टि सभापतीे बनाएको बताएका छन् ।
राजकुतलाई ढोरपाटन नगरमा राख्न पहल गर्दै आएका काँग्रेस नेता तेजेन्द्र विक्रम कुँवरले चाहिँ नागरिकको चाहना विपरित प्रकाश कुँवरसहित केहीले आफ्नो स्वार्थको खेती गरेको भन्दै त्यसको कुनै अर्थ नरहेको प्रतिक्रिया दिएका छन् । उनले आफुलाई हटाउने र अर्को सभापती बनाउने बैठकका कोहि नगएको भन्दै प्रकाश कँवरले आफै निर्णय लेख्ने र नौटंकी गर्ने गरेको आरोप लगाए ।
यता पाण्डवखानीवासीले गाविसलाई फुटाएर दुईतिर परिएको भन्दै सिङ्गो गाविसलाई गलकोट नगरपालिकामा राख्न माग गर्दै बुधवार दिउँसो आधा घण्टा हटिया बजारमा यातायात बन्द गरेर नाराबाजी र कोण सभा गरेका छन् । राजनीतिक दलको सहमतीमा पाण्डवखानीको वडा नम्बर–३ र ४ लाई गलकोट नरपालिका र अरु ७ वटा वडालाई बढिघाट गाउँपालिकामा राख्ने प्रस्ताव आयोगमा पठार्ईएको छ ।
बाढिघाट गाउँपालिकाको केन्द्र ग्वालीचौर आफुहरुलाई पायक नपर्ने भएकाले पहिलेको सर्वदलिय निर्णय अनुसार पाण्डवखानीलाई गलकोट नगरमै राख्नुपर्ने संघर्ष समितिका संयोजक राधिका पुनले माग गरिन् ।
पण्डवखानीको मागमा गलकोटका राजनीतिक दलको पनि सहमती रहेको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तिलक उप्रेतीले बताए । राजनीतिक दलका नेता र स्थानियवासीले मंगलबार गाविसमा जुलुससहित विरोधका कार्यक्रम गरेका थिए ।
उनीहरुले विरोध प्रदर्शन गर्दै गलकोटहुँदै बुधबार बेलुका बागलुङ बजार आएका छन् । सिङ्गो पाण्डवखानीलाई गलकोट नगरमा राख्नुपर्ने भन्दै माग पुरा नभए केन्द्रसम्मै पुगरे जुनसुकै संघर्ष गर्न आफुहरु तयार रहेको संघर्ष समितिका सहसंयोजक छमबहादुर काउचाले बताए ।
यस्तै देविस्थानका राजनीतिक दलले सर्वदलिय निर्णय नै गरेर प्रश्तावित निसीखोला गाउँपालिकाको केन्द्र झिवाखोला पायक नपर्ने भन्दै ढोरपाटन नगरपालिकामा राख्न माग गर्दै सांसद ज्ञानकुमारी छन्त्याल र नेपाली काँग्रेसका जिल्ला सभापती दिपेन्द्र थापालाई माग पत्र बुझाएका छन् ।
देविस्थानको वडा नम्बर–९ खाडुमा केन्द्र बनाउने सर्तमा आफुहरु निसीखोला जान तयार भएको तर त्यो पुरा नभए ढोरपाटन नगरमै जाने पुर्वनिर्णय अनुसार नै आफुहरुले नगरमा राख्न माग गरेको काँग्रेस देविस्थानका सभापती ईन्द्र मल्लले बताए ।