बागलुङ, १ भाद्र – गत आर्थिक बर्ष २०७२/०७३ मा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम मार्फत बलेवा क्षेत्र सडक सुधार तथा विस्तार कार्यक्रम अन्र्तगत ३० लाख रुपैयाँ खर्च भएको सडकमा स्थानीयले अहिले सास्ती खेपेर हिड्न बाध्य छन् ।
दुइ दशक अघि खुलेको कुश्मीसेरा जाने सडकमा समेत सवारी नचलेपछि कुश्माको बाटो जान बाध्य बलेवा र कुश्मीसेराबासीले सांसदको पैसा बालुवामा पानी भएको गुनासो गरेका छन् । ‘दैनिक पिठ्युँमा दूध बोकेर बजार जान बाध्य छु’ कुश्मीसेरा– ५ का लिलाबहादुर नेपालीले भने, ‘बाटोको अवस्थाले पैदल हिड्ने मात्र नभइ हिलोमा लडेर मरिन्छ जस्तो भएको छ ।’ उनले अमलाचौर र कुश्मीसेराको दूध बजार विक्रिका लागि लैजान्छन् ।
बलेवा क्षेत्रमा पर्ने पैयुँपाटा, नारायणस्थान र अमलाचौरका सबै बासिन्दाले बागलुङ तर्फको बाटो हिड्नै छाडिसकेका छन् । ३० लाख रुपैयाँ खर्चेर मर्मत गरिएको सारङगी, रातमाटा देखि काब्राबोट तथा चौडिला सम्मपनि कुनै सुधार भएको छैन ।
हटिया देखि डाँडाखेत हुँदै भित्रिवन सुखौरा जाने सडकमा पनि एकै बर्ष २० लाख खर्च भयो । उक्त बाटोको अवस्था पनि उस्तै छ । सुखौराबासीले अहिले पनि गुल्मीको शान्तिपुरहुँदै जान बाध्य भएको गुनासो गरे । सांसद क्षेत्र विषेश पूर्वाधार कार्यक्रम मार्फत एउटा निर्वाचन क्षेत्रमा डेढ करोड रुपैयाँ खर्च भएको हो । बागलुङमा मात्र यो कार्यक्रम मार्फत ४ करोड ५० लाख रुपैयाँ खर्च भएको बर्षातमा एउटै उपलब्धी देखिएको छैन । १५ लाख खर्चेको खर्वाङ सानो रिघा सडक, १२ लाख खर्चेको कुश्मीसेरा दमेक सडक मर्मत योजनाले पनि जनतालाइ सहज भएको छैन । ती स्थानमा स्थानीय पैदल हिड्न बाध्य छन् । ‘खर्च त गरियो, खास उपलब्धी भने देखिएको छैन’ अधिकारीचौर ७ का चुडामणी पौडेलले भने, ‘योजनाबद्ध विकास नभएपछि उपलब्धी शुन्य जस्तै छ ।’ पूर्वाधार कार्यक्रम मात्र नभइ सांसद विकास कोषमा ७ जना सांसदको थप ९० लाख रुपैयाँ खर्च भएको छ । दुवै तर्फको जोड्दा ४ करोड ४० लाख रुपैयाँ अधिकांस हरेक बर्ष सडकमै खर्चेको तथ्यांक छ । तर मध्य पहाडी लोकमार्गको बागलुङ बुर्तिवाङ खण्ड बाहेक अन्यत्र सवारी चढेर यात्रीले जान पाएका छैनन् ।
हिउदको समयमा धुलो उडाएर केही गाउँ पुग्ने बाहेक योजना बद्ध ढंगले कुनै पनि विकास भएको छैन । जिल्लाका क्षेत्र नं. १ की चम्पादेवी खड्का, क्षेत्र नं. २ का प्रकाश शर्मा पौडेल र क्षेत्र नं. ३ की ज्ञानकुमारी छन्त्याल बाहेक समानुपातिक तर्फका नरबहादुर थापा, केशरी घर्ती, चित्रबहादुर केसी, रत्ना शेरचनले कार्यकर्ताको दवावमा बजेट विनियोजन गर्दा त्यसको उपलब्धी नदेखिएको हो । ‘कति बर्षमा कति रुपैयाँ खर्चेर कुन विकास सम्पन्न गर्ने भन्ने ठोस योजना बनाउन नसक्दा बिकासले गति नदिएको हो’ जिविसकी पूर्वसदस्य लक्ष्मी बास्कोटाले भनिन्, ‘दिर्घकालिन योजना नबन्नुनै हाम्रो दुर्भाग्य हो ।’ जिविसले बनाएको दिर्घकालिन सडक गुरुयोजना अनुसार पनि काम नभएको उनले बताइन् । सबै सांसदले गाउँ र इलाका परिषदबाट पास भएको सडक र योजनामा लगाएको दावी गरेका छन् । ‘पास भएका योजनामा खर्चेको भए जनताले पनि साथ दिएर दिगो विकास हुन्थ्यो’ उनले भनिन्, ‘तजविजले खर्च गर्न पाउने गरी बनाइएका सूचकहरुनै विकासको बाधक भएका छन् ।’
सांसदहरुले कार्यकर्ताको प्राथमिकतामा बढी योजना बाँडेको देखिएको काँग्रेस सभापति दिपेन्द्रबहादुर थापा बताउँछन् । ‘आवस्यकता कहाँ थियो, कुन तहको स्तरउन्नती गर्नुपथ्यो ? भन्ने बढी महत्वपूर्ण हो’ थापाले भने, ‘झरा टारेर प्रतिवेदन बुझाउने बढी काम भएको छ ।’ जनताले निर्वाचित गराएर पठाएपनि जनताको विकासमा काम गर्न नसकेको उनको आरोप छ । क्षमता विकास लगायतका नाउँ दिएर कार्यकर्ता अध्यक्ष भएका संस्थामा सांसदले पैसा खर्चेका छन् । जिल्ला तहमा अस्तित्वमा रहेका संस्था भन्दा सुसुप्त संस्थामा लगानी गरेको देखिएको हो । ‘ठोस काममा सहयोग गरेका छैनन्, तर सबैले खेल सामाग्री वितरण गरेको भनेर उल्लेख गरेको देखियो’ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियारले भने, ‘कुन स्थानमा दिएको भनेर नलेखेपछि खेल विकास भयो वा भएन भन्ने पत्तो पाइएन ।’ सबै सांसदले खेलकुद सामाग्री वितरण भन्ने शिर्षकमा रकम खर्चेपनि त्यसको पूर्ण जानकारी दिएका छैनन् ।
उपप्रधानमन्त्री भैसकेका चित्रबहादुर केसीले रेडियो परिवर्तन र दगातुम्डाँडामा क्षमता विकास कार्यक्रम भनेर १ लाख ६० हजार दिएका थिए । उक्त कार्यक्रम कसका लागि किन क्षमता विकास भन्ने उल्लेख छैन ।
उपप्रधानमन्त्री भैसकेका चित्रबहादुर केसीले आफू निकट रेडियोमा क्षमता विकास कार्यक्रम भनेर १ लाख दिएका छन् । उक्त कार्यक्रम कसका लागि किन क्षमता विकास भन्ने उल्लेख छैन । त्यस्तै प्रकाश शर्मा पौडेलले नामै नसुनेको एक संस्थालाइ पत्रकारिता तालिम भन्ने नाउँमा २ लाख ३० हजार रुपैयाँ दिएका छन् । त्यस्तै स्थानीय श्रोत परिचालन तालिममा २ लाख २० हजार, जनचेतना कार्यक्रममा २ लाख ३० हजार, मन्दिर मर्मतमा १ लाख ५० हजार रुपैयाँ दिएका छन् । चम्पादेवी खड्काले संविधान जारी भएको एक बर्षपछि संविधान सचेतना कार्यक्रममा ३ लाख रुपैयाँ खर्च गरेकी छिन् । नरबहादुर थापाले महिला शसक्तिकरण शिर्षकमा ३ लाख ४० हजार रुपैयाँ खर्चेको देखिन्छ । ती सबै रकम उपलब्धी भन्दा कार्यकर्ताको चित्त बुझाउन दिने र नक्कली कागजात मार्फत फरफारक गर्ने देखिएको स्थानीय बासिन्दाले टिप्पणी गरेका छन् । केही स्थानमा तीन दिनको कार्यक्रम एक दिनमा सकेर बील भरपाइ देखाएको पाईएको छ । यस्तो कुरा वाहिर आएपछि पुन दोहो¥याएर कार्यक्रम भएका घटना पनि सार्वजनिक भएका थिए । तर सांसदहरु अझै यो रकम ५ करोड पु¥याउन माग गरिरहेका छन् । सांसदले रकम खर्च गर्दा यस अघिका परिषद र निर्माण भएका आवधिक योजनामा कुनै रकम खर्चेका छैनन् । सडक गुरुयोजनामा खर्च नगरी नयाँ ट्रयाक खोल्नमै बढी रकम गएको हो भने तालिम तथा क्षमता विकास शिर्षकमा खर्च गर्दा आवस्यकता परेपछि दर्ता भएका संस्था र अस्तित्वमा नदेखिएका गैरसरकारी संस्थालाइ बाँड्ने प्रवृत्ति देखिएको हो ।