बागलुङ, १ मंसिर – स्थानिय निकाय गठनमा राजनीतिक दलको अधिकतम् सहमति अनुसार जिल्ला प्राविधि समितिले अयोगमा पठाएको प्रस्तावप्रति निर्वाचन क्षेत्र नम्बर–३ मा असन्तुष्टि देखिएका छन् ।
स्थानिय सहमति विपरित निसीखोला गाउँपालिकाको केन्द्र बोहरागाउँ राख्ने निर्णय भएको भन्दै देविस्थान गाविसको सर्वदलिय बैठकले असहमति जनाएको छ । जिल्ला प्राविधिक सहयोग समितिले निसीखोला गाउँपालिकाको केन्द्र बोहरागाउँको झिँवाखोलामा रहने गरि आयोगमा प्रस्ताव पठाएको छ । राजकुत सहित ४ गाविसको बैठकमा निसीखोला गाउँपालिकाको केन्द्र देविस्थान–९ खाडुमा सहमतिअनुसार निसीखोलामा जान सहमत भएपनि त्यसको पालना नभएपछि आफुहरु अब ढोरपाटन नगरपालिकामा जाने नेपाली काँग्रेस देविस्थानका सभापति ईन्द्र मल्लले जानकारी दिए ।
‘हामीसँग भएको सहमतिमा धोका भयो’ मल्लले भने, ‘अब हामी प्रस्तावित ढोरपाटन नगरपालिकामै जान्छौँ, त्यसका लागि दबाव सिर्जना गर्न जुनसुकै संघर्ष गर्न तयार छौँ ।’ उनले नेपाली काँग्रेसका भविन्द्र कुँवार लगायतले आफ्नो स्वार्थका लागि निसीखोला नै उपयुक्त हुने भन्दै आरोप लगाए ।
यता राजकुतका केही अगुवाले आफ्नो गाविसलाई प्रस्तावित ढोरपाटन नगरपालिकामा समाबेश गरेकोमा असन्तुष्टि जनाएका छन् । नेपाली काँग्रेसका जिल्ला सदस्य राजकुतका प्रकाश कुँवरले राजकुतलाई झिँवाखोला गाउँपालिकामा राख्नुपर्ने माग राख्दै बुधवारदेखि गाविस बन्द र मंसिर २ गते बिशाल जुलुस प्रदर्शन गर्ने निर्णय भएको बताए । यस्तै दर्लिङकोे वडा नम्बर–१ मालारानीका स्थानीयको बैठक गरेर आफुहरुलाई बढिघाट गाउँपालिका नभई बुर्तिबाङ नगरपालिकामा पायक पर्ने भन्दै बुर्तिबाङ नगरमा राख्न माग गरेका छन् । यता, पाण्डवखानीका राजनीतिक दलले सर्वदलिय बैठक गरेर सिङ्गो गाविसलाई गलकोट नगरपालिकामा राख्न माग गरेका छन् ।
जिल्ला प्रविधिक समितिले पाण्डवखानीका वडा नम्बर–३ र ४ लाई गलकोट नगरपालिका र बाँकीलाई बढिघाट गाउँपालिकामा राखेको छ । आयोगमा पठाइएको प्रस्तावमा चार नगरपालिकामा बागलुङ बजार, गलकोट, जैमिनी र ढोरपाटन नगरपालिका उल्लेख छ । ६ गाउँपालिकामा बरेङ, काठेखोला, निसीखोला, बडिघाट, स्वायत्त क्षेत्रका रुपमा ताराखोला र बिशेष क्षेत्रका रुपमा तमानखोला गाउँपालिका प्रस्ताव गरिएको प्राविधिक सहयोग समितीका सदस्य सचिव खिम विकले जानकारी दिए ।
पुर्नसंरचनामा फरक मत राखेको कांग्रेस बागलुङले बिशेष गरी बिगतमा कायम इलाकाका आधारमा स्थानीय तह कायम गर्नुपर्ने, वडाहरु टुक्राउन नहुने, क्षेत्र नम्बर ३ को भौगोलिक बिशिष्टतालाई फरक हिसावले सम्बोधन गर्नुपर्ने बताउदै आएको छ ।
क्षेत्र नम्बर २ को छिस्तीको केही वडा र राङ्खानीको वडा नम्बर ७ देखी ९ सम्म कुश्मिशेरामा ल्याउनुपर्ने, क्षेत्र नम्बर १ को पाला र सिगानाका वडा बिभाजन गर्न नहुने, क्षेत्र नम्बर ३ मा ४ वटा स्थानीय निकाय कायम गरिएकोमा ५ वटा बनाउनु पर्ने लगायतका बिषयमा फरक मत राखिएको नेपाली कांग्रेस बागलुङका सभापति दिपेन्द्र थापाले बताए ।
Previous Articleयातायात क्षेत्रमा लगानी थपिदै
Next Article कुवेतवाट १७ नेपाली हाउसमेडको उद्धार