बागलुङ, १ मंसिर – धौलागिरी अञ्चल भएर देशका विभिन्न शहरमा पुग्ने सवारी साधन संचालनमा करोडौं लगानी थपिएको छ ।
पृथ्वी राजमार्गबाट अलग भएर धौलागिरी अञ्चल बस व्यवसायी समिति गठन हुँदा लगानी गर्न धौ धौ परेका यहाँका व्यवसायीले अहिले करोडौं लगानी गर्न सफल भएका हुन् । व्यवसायीको लगानीले यात्रीले रोजेर सवारी चढ्ने अवसर पाएका छन् ।
बागलुङमा मात्र व्यवसायीले ढोरपाटन यातायात, बागलुङ भगवती यातायात, धौलागिरी अञ्चल जीव व्यवसायी समिति दर्ता गरेका छन् । त्यस्तै केही महिना देखि बागलुङ देखि पोखरा स्कारपियो जीप समेत संचालनमा छन् । राजधानीका लागि सवारी छुट्ने व्यवस्था सबै व्यवसायीले गरेका छन् भने पोखराका लागि सबै जीप समितिको व्यवस्था छ । सबै समितिको कुल २ अर्व सम्मको लगानी भएको अनुमान छ ।
जीप तर्फ पनि पोखरा, चितवन, काठमाण्डौ समेत चल्न शुरु गरेका छन् । बिहान देखि रात्री बस सेवा समेत गर्दा जिल्लाबाट एकसयबढी यात्रुबाहक सवारी दैनिक संचालन हुन्छन् । बिहान मात्र यात्रा गरेपछि दिनभरी नपाइने व्यवस्था हटेर यात्रीले चाहेको समयमा यात्रा गर्ने अवसर जुटेको हो । ‘व्यवसायी थपिंदा यात्रीलाइ सजिलो भएको छ’ बानपा ३ का पत्रकार राजेशचन्द्र राजभण्डारीले भने, ‘सेवाका लागि व्यवसायीले गरेको प्रतिष्पर्धा राम्रो मान्नुपर्छ ।’ अस्वस्थ्य प्रतिष्पर्धा भने नगर्न उनले सुझाव दिए ।
धौलागिरी अञ्चल यातायात वस व्यवसायी संचालक समिति बागलुङले धौलागिरी अञ्चलमा नै पहिलो पटक बागलुङ देखि काठमाडौंसम्मको लागि पर्यटक वस सेवा समेत बुधवार देखि संचालनको तयारी गरेको छ । रुड एण्ड टुर्लस ट्रार्भलको सहकार्यमा धौलागिरी अञ्चलबाट पहिलोपटक काठमाडौंसम्मको लागि पर्यटक वस सेवा संचालन गर्न लागेको मंगलबार बागलुङ बजारमा पत्रकार सम्मेलन गरेर समितिले जानकारी गराएको छ ।
मंसिर १ गतेदेखि संचालन गर्न लागेको शौचालय सहितको ३० सिटको व्यवस्था छ । हरियो नम्बर प्लेट राखेर गरिएको यो व्यवस्थाले पर्यटकलाइ सहज हुनेछ । बस भित्र मिनिवारको पनि व्यवस्था गरिएको धौलागिरी अञ्चल यातायात बस व्यवसायी संचालक समितिका महासचिव उमेश केसीले जानकारी दिए । उक्त वसको टिकट रकम १२ सय तोकिएको छ ।
दशै अघि समितिले बागलुङ देखि दिल्ली सम्मको सिधा बस सेवा पनि शुरु गरेको छ । यो सेवाले भारतमा काम गर्ने धौलागिरीबासीलाइ सहज भएको छ । सिमा क्षेत्रमा हुने विभिन्न प्रकारका झमेला कमगर्न यो सेवा उपर्युक्त भएको यात्रीहरुले बताए ।
बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारी लगानी बढ्नुलाइ सुखद रुपमा लिएको बताउँछन् । ‘व्यवसायी आर्कर्षित हुनु, सरकारले हटाउन लागेको सिण्डीकेट नभएको आभास दिने अवसर भएको छ’ भारीले भने, ‘व्यवसायीको लगानीले उपभोक्तालाइ सेवा पुगेको छ ।’ वित्तिय संस्थाले पनि लगानी पत्याएपछि यो क्षेत्र सुरक्षित छ भन्नेमा व्यवसायी पुगेको उनले बताए ।
पर्यटक बस संचालनले जिल्लाको पहिचान समेत बढेको जिल्लाबासीको धारणा छ । यो अभियानले बागलुङ कालिका, ढोरपाटन, मुस्ताङ सम्म जाने पर्यटक बढ्ने विश्वास लागेको बागलुङ भगवती गुठीका अध्यक्ष राजु खड्काले बताए । पोखरा देखि बागलुङको सडकको स्तरउन्नतीका लागि भने सरकारले लगानी नगरेकोमा व्यवसायीहरु रुष्ट छन् । ‘करोडौं लगानी गरेका छौं तर राज्यले सडक सुधार गरेन’ धौलागिरी अञ्चल बस व्यवसायी समितिका अध्यक्ष कुमार खड्काले भने, ‘व्यवसायीको लगानीलाइ राज्यले सम्मान गर्न जानेन ।’