हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा मङ्गलबार विशेष नगरसभा तथा वार्षिक समीक्षा सम्पन्न भएको छ । विशेष नगरसभाले ‘स्थानीय सेवामा कार्यरत कर्मचारीहरुको समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७८’ पारित गरेको हो ।
बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको नगरसभामा सुशासन समितिका संयोजक हिराबहादुर थापाले विद्येयक छलफलका लागि सभामा प्रस्तुत गरेका थिए । विद्येयक पारित भएपछि साविकका नगर र अन्य स्थानीय निकायबाट सरुवा भई बेनी नगरपालिकामा पदस्थापन भएका कर्मचारीहरुको तह एवं समायोजन गर्ने बाटो खुलेको बेनी नगरपालिकाले जनाएको छ ।
विशेष नगरसभाबाट समायोजन ऐन २०७५ लाई आधार मानेर बेनी नगरपालिकाले तत्कालीन नगरपालिका र अन्य निकायमा कार्यरत कर्मचारीहरुको स्तरवृद्धिसहित समायोजन गर्न स्थानीय सेवामा कर्मचारीको समायोजन विधेयक पारित गरिएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताए । । उनले विशेष नगर सभाबाट मङ्गलबार पारित भएको विधेयक बुधबार प्रमाणिकरण भएको छ भने बिहीबार आज राजपत्रमा प्रकाशित गरेपछि तुरुन्तै कार्यान्वयन हुने जानकारी दिएका छन् ।
सङ्घीय सरकारले २०७५ सालमै पारित गरेको विधेयक अन्य नगरपालिकाहरुले बढुवासहित तथा विविध सेवाका साथै पारित गरे पनि बेनी नगरपालिकामा भने सामान्य रुपमा स्थानीय सेवामा कर्मचारीको समायोजन विधेयक पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीको भनाइ छ । कम्तीमा ५ वर्ष स्थायी रुपमा कार्यरत र न्युनतम शैक्षिक योग्यता पुगेका कर्मचारीहरुको एक तह बढाएर समायोजन गरिएको छ । न्युनतम शैक्षिक योग्यता नपुगेका कर्मचारीहरुको साविकको तहमा दुई ग्रेड थप भएको छ ।
यसैबीच विशेष नगर सभाको अवसरमा गएको आर्थिक बर्ष २०७७÷७८ मा सञ्चालित योजना तथा कार्यक्रम र बजेट कार्यान्वयनको विषयमा समीक्षा गरिएको थियो । गत आर्थिक वर्षमा पुँजीगततर्फ ८० दशमलव ०८ प्रतिशत र चालुतर्फ ८२ प्रतिशत प्रगति भएको बेनी नगरपालिकाले जनाएको छ । पुँजीगततर्फ २२ करोड ७५ लाख १७ हजार आठसय १२ सहित कुल ६८ करोड ६८ लाख २६ हजार एकसय २१ रुपैयाँ बजेट विनियोजन भएकोे थियो । पुँजीगततर्फ १८ करोड २५ लाख चारसय ३३ रुपैयाँसहित कुल ५६ करोड २६ लाख २४ हजार एकसय चार रुपैयाँ खर्च भएको नगर उपप्रमुख सन्जु बरुवालले बताइन् ।
गतवर्ष कुल चार करोड तीनलाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखिएकोमा कुल तीन करोड ४१ लाख ६२ हजार आठसय ८३ रुपैयाँ खर्च भएको जनाइएको छ । गएको वर्ष बेनी नगरपालिकाले साढे ७३ लाख रुपैयाँको विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको थियो । यसैगरी प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत एक करोड रुपैयाँभन्दा बढीको लागतमा विभिन्न ११ वटा योजनाहरु सञ्चालन गरी औषतमा ८८ दिन रोजगारी सिर्जना गरिएको थियो । त्यस्तै कृषि र रोजगारसँगै पूर्वाधार, पशुपालन, लघुउद्यम, पर्यटनलगायत विभिन्न कार्यक्रमहरु सञ्चालन भएका थिए ।