अविरल वर्षासँगै आएको पहिरोले म्याग्दीको सदरमुकाम बेनीको कालीपुलमा तीन जना घाइते भएका छन् भने आठ घरमा क्षति पुगेको छ । बेनी नगरपालिका–८ कालीपुलस्थित कालीगण्डकी नदीमा पहिरो खस्दा बेनी नगरपालिका–८ कालीपुल बस्ने गोविन्दबहादुर बुढा, रेखा नेपाल र सन्तु पूर्जा पुन घाइते हुनु भएको छ ।
पर्वतको जलजला गाउँपालिका–३ मल्लालको भीरबाट पहिरो खस्दा बेनी नगरपालिका–८ कालीपुलका क्षेत्रबहादुर गौचन, मंगलबहादुर गुरुङ, सोना पुनको घरमा क्षति पुगेको र ताराप्रसाद पुन, सुरेस पुन, केन्द्र राई, टिका पूर्जा, हर्कबहादुर मगरको घरमा आंशिक क्षति भएको बेनी नगरपालिका–८ बेनीका
वडा अध्यक्ष एवं बेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले बताउनुभयो । प्रवक्ता बराइलीले भन्नुभयो– पीडित परिवारलाई राहतको विषयमा नगरपालिकाले आकस्मिक निर्णय गर्नेछ भने राहत र उद्धारका लागि पनि आवश्यकताअनुसार खट्नेछ । पर्वतको जलजला गाउँपालिका–३ बाट खसेको पहिरोले ३ जनाको अधिक र ५ जनाको घरमा आंशिक क्षति पुगेको वडा अध्यक्ष बराइलीले जानकारी दिनुभयो ।
पहिरो खसेर कालीगण्डकी नदीको छालले क्षति पुगेका घरका सामानहरु कालीपुलस्थित जिल्ला खेलकुद विकास समितिको कबर्डहलमा सुरक्षित तबरले सारिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी वीरेन्द्रराज गुरुङले बताउनुभयो । गुरुङका अनुसार अहिले सुरुमा क्षति पुगेका ८ घरको सामान सारिएको र अन्य पनि आफूहरू असुरक्षित महसुस गरेको खण्डमा सुरक्षित स्थानमा स्थानान्तरण गरिनेछ ।
राती २ बजे पहिरो गएको थियो भने अहिलेसम्म पनि पहिरो खस्ने क्रम नरोकिएको र बेनीको कालीपुल क्षेत्रका ३० घर जोखिममा छन् । मध्यरातमा पहिरो खसेपछि स्थानीयवासीमा भागदौड मच्चिएको थियो भने पहिरो खसेपछि स्थानीयवासी सडकमै वर्षामा रुझेर रात बिताएका थिए । वर्षा अहिले पनि नरोकिएको कारणले गर्दा क्षति केकती भन्ने तर्फ अहिल्यै यकिन गर्न नसकिने प्रहरीले जनाएको छ ।
त्यस्तै बेनी–जोमसोम सडक खण्डको रघुगंगा गाउँपालिका–३ गलेश्वर, अन्नपूर्ण गाउँपालिका–३ गुइठे, रुप्से र काभ्रे तथा घोप्टेभिरमा सडक अवरुद्ध भएको छ । त्यस्तै बेनी–बागलुङ सडकको बेनी नगरपालिका–१, रानीबन, बेनी–दरवाङ सडकको बेनी नगरपालिका–४, घुमाउने भीरमा सडक अवरुद्ध हुँदा सवारी सञ्चालन आउन नसकेको इन्सपेक्टर गुरुङले बताउनुभयो ।