आइतबार रातीदेखि परेको वर्षाका कारण ठाउँठाउँमा गएको पहिरोका कारण मुस्ताङलाइ केन्द्रीय सडक सञ्जाल सँग जोड्ने बेनी–जोमसोम सडक खण्ड अबरुद्ध भएको छ ।
हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने एक मात्र सडक बेनी–जोमसोम सडख खण्डको विभिन्न चार ठाउँमा बाढी तथा पहिरोका कारण अवरुद्ध भएको हो । बेनी–जोमसोम सडक खण्डको अन्नपूर्ण गाउँपालिका–३ जलथले र रुप्से झरनामा पहिरोले सडक अबरुद्ध भएको अन्नपूर्ण गाउँपालिका–३ दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताउनुभयो । शेरचनका अनुसार जलथले र रुप्सेमा अबरुद्ध सडक मर्मतका लागि बेनी–जोमसोम–कोरला सडक आयोजनाले उपकरणको प्रयोग गरेर अवरोध हटाउन प्रयास गरी रहेको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्सपेक्टर नवराज के.सी.का अनुसार बेनी–बागलुङ सडक खण्डको बेनी नगरपालिका–१ रानी बनमा सडक अबरुद्ध भएको छ । त्यस्तै पश्चिम म्याग्दी हुँदै बागलुङ तथा रुकुम जोड्ने सडक खण्ड अन्तरगत बेनी–दरवाङ खण्डको बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–२ सिमलचौरको सिमाना पर्ने घुमाउने भिरमा अवरुद्ध भएको छ । बेनी–जोमसोम–कोरला सडक खण्डको रघुगंगा गाउँपालिका–३ गलेश्वर राहुघाट, रघुगंगा गाउँपालिका–१ बेगखोला, अन्नपूर्ण गाउँपालिका–३ जलथले र रुप्सेमा पनि सडक अबरुद्ध भएको इन्सपेक्टर के.सीले बताउनुभयो । त्यस्तै बेनी–थामडाँडा– बरंङ्जा सडक पनि आइतबार रातीदेखि अबरुद्ध भएको छ । उक्त सडक अन्तरगत दुधेखोलामा आइतबार राती बाढी आउँदा एक घर एक गोठ बगाउनुका साथै एक भैसी समेत बाढी बगाएको इन्सपेक्टर के.सीले बताउनुभयो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलका अनुसार बेनी–जोमसोम सडक खण्ड अन्तरगत काभ्रे भिरमा सडक माथिबाट खसेको ढुङ्गा सडकमा अडिदा सवारी एकतर्फी सञ्चालन गर्न सक्ने अवस्था रहे पनि जोखिम छ । बेनी–जोमसोम सडक अवरुद्ध भएको भए पनि मुस्ताङ भित्रका सडकहरु सबै सञ्चालनमा रहेको मुस्ताङका प्रजिअ पौडेलले बताउनुभयो । गोरखापत्र अनलाइनबाट