म्याग्दी । कोभिड–१९ को महामारीपछि विश्वभर नै फैलिएको त्रास अनि बन्दाबन्दीले गर्दा अछुतो रहेको कुनै पनि क्षेत्र छैन । यसै सन्दर्भमा हिमाली जिल्ला म्याग्दी पनि बच्न सकेन । कोभिड–१९ को संक्रमण अनि त्यसले पार्न सक्ने प्रभाव आम नागरिकले आँकलन गर्न सके सकेनन् भन्दापनि त्यसको प्रभाव के हुन सक्छ भन्नेतर्फ पनि ध्यान पु¥याउने आँट गरेको पाइँदैन ।
कोभिडले गर्दा बालबालिका तथा उनीहरुको अभिभावकमा पार्न सक्ने सम्भावित समस्यालाई ध्यानमा राखेर म्याग्दीमा मनोपरामर्श कार्यक्रम आयोजना गरियो । सिविन नेपाल तथा कान्ति बाल अस्पताल काठमाडौं र संगम म्याग्दीसँगको सहकार्यमा माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले भर्चुअल माध्यमबाट मनोपरामर्श कार्यक्रम आयोजना गरेको हो ।
माउण्ट एभरेष्ट आवासीय माविले पहिलो चरणमा विद्यार्थी तथा दोस्रो चरणमा अभिभावकका लागि मनोपरामर्श गरेको थियो । उक्त कार्यक्रममा सहजकर्ता सुस्मिता श्रेष्ठ, रेशु कट्टेल र कपिल शर्माले सहजीकरण गरेका थिए । माउण्ट एभरेष्ट आमाविका प्रिन्सिपल राजु के.सी. भन्छन् अहिलेको अवस्थामा मनोपरामर्श निकै आवश्यक एवं भरपर्दो माध्यम पनि भएकोले यसलाई प्राथमिकता दिएर यो कार्यक्रम आयोजना गरीएको हो ।
कान्ति बाल अस्पतालका साइकाइट्रिकले लकडाउन (बन्दाबन्दी)को समयमा घरमा मात्रै बस्दा बालबालिकामा हुन सक्ने साइकोलोजिकल समस्यालाई अभिभावकले कसरी थाहा पाउने र समाधान गर्नका लागि कुन विधा अपनाउन सकिन्छ भन्ने बारेमा सहजीकरण गरेका थिए ।