म्याग्दी, ३० कात्तिक – बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा स्नातकोत्तर तह र प्राविधिक विषयको पठनपाठन सुरु गर्न आयोजित महायज्ञको छैठौ दिन मंगलबार सम्म करिब डेढ करोड रुपैयाँ संकलन भएको छ ।
मंगलबार प्राप्त भएको ५९ लाख दुई हजार सहित हालसम्म एक करोड ४५ लाख ५६ हजार पाँच सय रुपैयाँ सहयोग प्राप्त भएको छ । पाँचौ दिन सोमबारसम्म ८६ लाख ५४ हजार पाँच सय रुपैया संकलन भएको थियो ।
सामुहिक तस्विर खिचाउँदै झल प्रसाद गौचनको परिवार
मंगलबार जिल्ला विकास समितिले २५ लाख र पर्वत धाईरीङ घर भई हाल बेलायतमा ब्यवसाय गर्दै आउनुभएका कुल आचार्यबाट दुई लाख ५१ हजार १५१ रुपैयाँ सहयोग प्राप्त भएको महायज्ञको लेखा व्यवस्थापन उपसमितिका संयोजक कृष्णबहादुर थापाले बताउनुभयो । यसैगरी बेनीको शिक्षामार्गका झलप्रसाद गौचनले एक लाख ५१ हजार ५०१ र गलेश्वरका बमबहादुर तथा हमाया पुनले एक लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्नुभएको छ ।
यसै गरि बेनीबजार क्याम्पस चोकका सुनचाँदी व्यवसायी चन्द्रप्रकाश बराइली ६१ हजार एकसय एघार रुपियाँ सहयोग गर्नुभएको छ । मंसिर २ गते समापन हुने सो म्याग्दी बेनी धार्मीक एवम् शैक्षिक महोत्सव तथा श्रीमद्भागवत ज्ञान महायज्ञमा संकलित रकम म्याग्दी बहुमुखी क्याम्पसमा स्नाकोत्तर तह र प्राबिधिक विषयको पठनपाठन सञ्चालन गर्न परिचालन गरीने सञ्चालक समिति एवं मुल आयोजक समितिका अध्यक्ष हरिकुमार श्रेष्ठले बताउनुभयो ।पंण्डीत दिनबन्धु पोख्रेल प्रमुख कथावाचक रहनुभएको महायज्ञमा देशभर १०१ प्राबिधिक शिक्षालय र प्रत्येक प्रदेशमा एक वटा प्राबिधिक विश्व विद्यालयको परिकल्पनाकार धु्रबशरण बस्याल सहवाचक रहनुभएको छ ।