पोखरा, ३० कात्तिक – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको महाधिवेशन २ दिन थप लम्बिने भएको छ ।
सहमतिमै नेतृत्व चयन गर्न दलका शीर्ष नेताहरुबीच आन्तरिक सहमति भएपनि प्रक्रियामा जानको लागि भन्दै महाधिवेशन मंसीर १ गतेसम्मको लागि महाधिवेशन लम्बिएको हो । तरुण दलका निर्देशक समितिका संयोजक वालकृष्ण खाँडले सोमबार अपराहृन पत्रकार सम्मेलन गरी महाधिवेशन २ दिन थप गरिएको जानकारी दिए ।
विधान संसोधन र प्रक्रियामा गएर नेतृत्व चयन गर्नका लागि महाधिवेशन लम्ब्याउनु परेको बताए । कांग्रेस सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्काबीच सहमति भएपनि अब प्रक्रियामै गएर नेतृत्व चयन हुनेछ ।
बन्द सत्रमा अधिकांशले प्रक्रियामा गएर नेतृत्व चयन हुनुपर्ने माग गरेपछि माउपार्टीको नेतृत्वमा सहमति जुटेपनि प्रक्रियामा जाने तयारी गरिएको श्रोतले बताएको छ । श्रोतका अनुसार, शीर्ष नेताहरुबीच सहमतिको आधारमा नेतृत्व चयन भइसकेको र त्यसलाई प्रक्रियामा गएर पारित गराउने तयारी भएको छ ।
महाधिवेशनको तेश्रो दिन सोमबार बन्द सत्र नै चलेन । सोमबार आन्तरिक ब्यबस्थापनका विषयमा छलफल भएपनि बन्द सत्र औपचारिक रुपमा सञ्चालन नभएको तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले बताए । उनका अनुसार, सोमबार मतदाता नामावलीको काम सकिएको छ ।
बन्द सत्र नचलेपछि तरुण दलका प्रतिनीधिहरु सोमबार पोखराका विभिन्न क्षेत्र घुम्न निस्केका थिए । जसका कारण पोखराका सडकहरुमा सोमबार दिनभर जसो जाम भयो भने पर्यटकीय क्षेत्रहरु लेकसाइड, सराङकोट लगायतका क्षेत्र भरिभराउ भएको थियो ।
मंगलबार विधान संसोधन गर्ने तयारी गरिएको छ । बन्द सत्रमा विधान संसोधनको प्रस्ताव गरिने र समूहगत छलफल पश्चात मंगलबारनै विधान संसोधन प्रस्ताव पारित गर्ने तयारी भएको हो । संशोधित विधानमा सातै प्रदेशका लागि एक-एक उपाध्यक्ष र सचिव हुनेछन् । त्यसैगरी, महामन्त्री वा महासचिव के राख्ने भन्ने टुंगो नभएपनि त्यो पदमासमेत दुईजना हुने स्रोतले बताएको छ ।
कांग्रेसका शीर्ष नेताहरुबीच तरुण दलको नेतृत्वबारे भागवण्डा मिलेको छ । जसअनुसार अध्यक्षमा जितजंग बस्नेतलाई अध्यक्ष र सिद्धार्थ कोइरालालाई उपाध्यक्ष बनाउने सहमति भएको छ ।
त्यस्तै, अध्यक्षले मनोनीत गर्ने पदाधिकारीमा देउवा पक्षका १० जना, पौडेल पक्षका ६ जना र सिटौला तथा खड्का पक्षका चाररचार जना राख्ने सहमति भएको श्रोतले बताएको छ ।
Previous Article३० कात्तिक २०७३, धौलागिरी स्टार साप्ताहिक
Next Article बराह महोत्सव सकियो