२०७५ सालको कार्तिकमा घर नजिकैको जङ्गलमा लडेर मेरुदण्ड भाचिँएपछि थलिएका ४१ वर्षीय कर्णबहादुर थापाको मुहारमा शुक्रबार केही मुस्कान छायो । जलजला गाउँपालिका–८, ओडारेका निम्न आयस्तर भएका कर्णबहादुरलाई क्वीक रेस्क्यु फोर्स जलजला कमिटीले उपलब्ध गराएको ह्वीलचियरमा बसेर कोठाबाट बाहिर निस्कँदा मन्द मुस्कान थियो ।
जलजला गाउँपालिकाको क्वीक रेस्क्यु फोर्सका संयोजक दिलिप बरुवालले संयोजन गरेर पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीमार्फत व्यवस्था गरेको ह्वीलचियरसहित पुगेको टोलीले ह्वीलचियरसँगै नगद चारहजार पाँचसय रुपैयाँ समेत उपलब्ध गराएको थियो । नेकपा एमाले जलजला–८, का अध्यक्ष महेन्द्र रेग्मीले क्वीक रेस्क्यु फोर्स जलजलाको तर्फबाट दुईहजार र रेस्क्यु फोर्सका अन्य सदस्यले व्यक्तिगत रुपमा दुईहजार पाँचसय गरी उक्त रकम हस्तान्तरण गर्नुभएको थियो ।
ह्वीलचियर प्राप्त गरेपछि खुसी भएका कर्णबहादुरकी पत्नी गंगा थापाले भन्नुभयो, छोरा १० वर्षको छ, छोरी १६ र १९ वर्षका छन्, छोराले सक्दैन छोरीलाई लगाउने कुरा भएन कहिलेकाहीँ आफै बोकेर बाहिर ल्याउँथे नत्र भने भित्रै सुत्ने हो । लामो समय सुतेर ढाडमा घाउ भएको छ, अब त कम्तीमा ह्वीलचियरमा राखेर बाहिर–भित्र गर्न सक्नुभयो भने पनि परिवारलाई राहत हुने उहाँले बताउनुभयो । गंगा भन्नुहुन्छ, एक बिहानको मेलो मात्रै छ हाम्रो, अलिकति अधिँया लिएका छौंं, कमाउने श्रीमान नै यस्तो भएपछि हुर्केका छोराछोरी बढाउने र पढाउने गर्न निकै हम्मेहम्मे भएको छ ।
गंगाले थप्नुभयो– गतवर्ष पनि महेन्द्र सरले सहयोग गर्नुभएको थियो अहिले पनि उहाँहरु नै आउनुभयो, हामीलाई अप्ठ्यारो पर्दा सहयोग पाउने गरेका छौं । छोरीलाई पनि सहकारीमा उहाँले नै जागिर मिलाइदिएपछि घरखर्च चलाउन अलि सजिलो भएको उहाँले जानकारी गराउनुभयो । घरको कमाउने मान्छे नै विस्तारामा परेपछि निकै कठिन भएको अवस्थामा सहकारीमा छोरीले जागिर पाउँदा नुनतेलको व्यवस्था भएको छ ।
क्वीक रेस्क्यु फोर्स राष्ट्रिय युवा संघ नेपाल एमाले जलजला गाउँ कमिटीको मातहतमा रहेर कोभिड–१९ तथा अन्य घटनाक्रममा राहत तथा उद्दारमा खट्ने गरेको छ । युवा संघ पर्वतका सदस्य उज्जल अर्यालले कर्णबहादुरको घरदेखि मोटरबाटोसम्म पुग्ने करिब २५ मिटर सडक ह्वीलचियर गुडाउन मिल्ने गरी ढलान गरिदिने बताउनुभएको छ । शुक्रबार कर्णबहादुरको घरमै पुगेका अर्यालले उक्त घोषणा गर्नुभएको हो ।


[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]