अब १६ वटा हाइड्रो र लघुवित्तको आइपीओ आउँदैछ । नेपाल धितोपत्र बोर्डमा आइपीओ अनुमति माग्ने कम्पनीहरुको संख्या अहिले १६ पुगेको छ ।
बोर्डको रेकर्ड अनुसार १६ कम्पनीले ४ अर्ब ४६ करोड ७७ लाख ६३ हजार ४०० रुपैयाँ बराबरको आइपीओ निष्कासन अनुमति मागेका छन् ।
यी सबै कम्पनीको आइपीओलाई धितोपत्र बोर्डले अनुमति दिएमा प्राथमिक बजारमा कुल ४ करोड ४६ लाख ७७ हजार ६३४ कित्ता आइपीओ आउनेछ ।
धितोपत्र बोर्डमा आइपीओ निष्कासनका लागि अनुमति माग्नेमा अधिकांश कम्पनीहरु जलविद्युत समूहका रहेका छन् । पाइपलाइनमा रहेका मध्ये १२ जलविद्युत समूहका र ३ वटा लघुवित्त कम्पनीहरु छन् । त्यस्तै, अन्य समूहको डिस मिडिया नेटवर्कले पनि आइपीओ अनुमति पर्खिएर बसेको झण्डै १ वर्ष हुन लागेकोे छ ।
यतिबेला दोस्रो बजारले नयाँ–नयाँ रेकर्ड बनाइरहँदा प्राथमिक बजार भने ठप्प भएको छ । कोभिड नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण प्राथमिक बजार प्रभावित बनेको छ ।
निषेधाज्ञा सुरु हुनुभन्दा केही समय अगाडि आयोजना प्रभावित स्थानीयलाई बिक्री थालिएको आइपीओ पनि निषेधाज्ञाका कारण स्थगित भएको अवस्था छ । अब निषेधाज्ञा सकिएपछि आइपीओहरु खुला हुन सक्नेछ ।
आइपीओमा लगानीकर्ताको बढ्दो आकर्षण
पछिल्लो समय सर्वसाधारणमा आइपीओ आकर्षण अत्याधिक देखिएको छ । फेस भ्यालुमा लगानी गर्न पाइने भएकाले नयाँ लगानीकर्ताको आगमन पनि बढ्दो क्रममा छ । पछिल्लो समय आइपीओ जारी भएका कम्पनीमा १८ लाख भन्दा बढी पनि आवेदन परेको थियो ।
सीडीएससीको पछिल्लो तथ्यांक अनुसार डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या ३३ लाख ८३ हजार ६६९ पुगेको छ । तथापि, एकै जनाले दुई वटासम्म डिम्याट खाता खोल्न पाउने व्यवस्था रहेको छ ।