बागलुङ, १ भाद्र – बहत्तर बर्षिय अनबहादुर रोकाको दैनिकी दुइघण्टा हिडेर खोल्साबाट पानी खेपेर बित्ने गरेको छ । उनका परिवारले पनि पानीकै लागि दुःख खेपेका छन् । पशुचौपायालाइ खुवाउने पानी अभावमा हरेक दिन दुई घण्टा हिडाएर खोलामा पु¥याउन पनि बाध्य छन् ।
नजिकमा पानीको मुहान नभएको र बर्षौदेखि योजना नपरेपछि भिमगिठे–२ सुरकुंडेका रोका जस्तै ४२ परिवारको दैनिकी पानीको खोजीमा बित्ने गरेको छ । नजिकमा मुहान नभएपछि झण्डै ११ किमी पर पर्ने ग्वालीचौरको लेकबाट पानी ल्याउने तयारी गरेपनि खर्च अभावमा रोकिएपछि गाउूलेले बर्षौदेखि सास्ती खेप्दै आएका हुन् ।
पानी खेप्ने कामले स्थानीयले शहर बजार जाने समय पनि कहिल्यै निकाल्न नसकेको गुनासो गरे । केही घरले बर्षादको पानी जम्मा गर्ने पोखरी खनेका छन् भने केहीले घैंटो पनि बनाएका छन् । तर यो बर्षातमा पानी थोरै परेपछि घैटोको पनि कुनै काम नभएको स्थानीय रामकृष्ण घर्तीले बताए । ‘भाँडा माझ्ने लगायतको कामलाइ केही जम्मा भएपनि खानका लागि हिड्नै पर्छ’ घर्तीले भने, ‘२५ बर्ष अघि हाम्रो बस्ती सार्न विदेशीले दिएको सल्लाह पालना पनि भएन, पानीको जोहो गरिदिने पनि कोही आएन ।’
लुथ्रन विश्वसेवा, आइएनएफ र नेवाले भिमगिठे, ग्वालीचौर र जलजला लगायतका केही लेकाली बस्तीलाई तल्लो स्थानमा सारेर मात्र खानेपानीको व्यवस्थापन गर्न सकिने सल्लाह दिएको उनले बताए । आकासे पानीको भर पर्दा खेतीपनि गर्न नसकिएको उनले बताए ।
‘खानकै जोहो छैन, कसरी खेती गर्नु’ घर्तीले भने । पानी खेप्ने कामले बालबालिकाले समयमा पढ्न पनि जान नपाएको समेत स्थानीयले गुनासो गरे । ‘विद्यालय पनि नजिकमा छैनन्, पानीको पनि उत्तिकै समस्या छ’ भीमबहादुर थापाले भने, ‘हाम्रो दुःख हेर्न कोहीपनि आउदैन । सडक संजालले छोएको खालदेखि ५ घण्टाको पैदल उकालो हिडेर मात्र सुरकुंडे, पाखुल्ले लगायतको बस्ती पुग्न सकिन्छ ।
पानीकै अभावमा मकै र कोदो बाहेकको कुनै पनि कृषि पेशा गर्न नपाएको पनि उनीहरुले गुनासो गरे । ‘हरियो तरकारी खाने भन्ने हामीलाई आकाशको फल जस्तै भयो’ उनले भने, ‘हम्रो दुःख देख्ने कोही छैन, के पापले यस्तो पाखामा जम्मिएछ ।’ आफ्नो बर्षौदेखिको बस्तीलाई उनीहरुले पापीको बस्ती भन्न थालेका छन् ।
गाविस र इलाका परिषदबाट पटक–पटक माग भएपनि जिल्ला तहमा सुनुवाई नभएको उनीहरुको गुनासो छ । स्थानीय विकास अधिकारी भरत गौतमले एक करोड भन्दा सानो लगानीको योजनामात्र जिल्ला परिषदले गर्न सक्ने बताए । ‘ठूला आयोजनालाइ केन्द्रीय तहमा पठाउने वा कुनै दाता खोज्नेहो’ गौतमले भने, ‘दाता नपाएर वा अन्य कारणले सम्बोधन नभएको होला ।’
हेफर इन्टरनेसनल, फनबोर्ड लगायतका संस्थाले उक्त गाविसको केही स्थानमा खानेपानीमै काम गरेपनि लेकाली बस्तीमा पुृगेका थिएनन् । उक्त बस्तीमा वडा नं. १ र २ का ४२ घरका ३ सय बासिन्दा बढी प्रभावित छन् ।