म्याग्दीको बेनी नगरपालिकाका जनप्रतिनिधिहरुले आफूले पाउने मासिक सुविधाको ५० प्रतिशत रकम अक्सिजन कन्सन्टेटर मेसिन खरिद गर्नका लागि सहयोग गर्ने भएका छन् । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरले आक्रान्त भैरहेको अवस्थामा उनीहरुले कोभिड संक्रमित भई उपचाररत जटिल बिरामीलाई चाहिने अक्सिजनका लागि मेसिन खरिदमा सहयोग गर्ने बताएका हुन् ।
कोभिडका बिरामीहरु अक्सिजनको अभावले समस्यामा नपरुन् भन्ने उद्देश्यका साथ बेनी नगरपालिकाका मेयर, उपमेयर, वडा–अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र नगरसभा सदस्यहरुको मासिक सुविधाको ५० प्रतिशत रकम सहयोग गरिने बेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले बताए । यसैगरी नगरपालिकाका सबै कर्मचारीको तर्फबाट पनि स्वच्छिक रुपमा रकम जम्मा गरी अक्सिजन कन्सन्ट्रेटर मेसिन खरिद गरी कोभिड अस्पताल बेनीमा उपलब्ध गराइने उनले जानकारी दिएका छन् ।
नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच भएको आपसी छलफलबाट कोभिड अस्पतालमा अक्सिजन कन्सन्टेटर मेसिन खरिद गरी सहयोग गरिने प्रवक्ता बराईलीले बताए । उनका अनुसार अहिले मेसिन खरिदका लागि आर्थिक व्यवस्थापनको कार्य अगाडि बढाइएको हुँदा छिटोभन्दा छिटो मेसिन खरिद गरेर अस्पताललाई उपलब्ध गराइने भएको जनाइएको छ ।
बुधबारसम्म हिमाली जिल्ला म्याग्दीमा कुल २ सय ८ जना कोभिडका सक्रिय संक्रमितहरु रहेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको तथ्याङ्कअनुसार म्याग्दीमा बुधबारसम्म नयाँ भेरिएन्टसहितको कोरोना संक्रमणबाट १५ जनाले ज्यान गुमाइसकेका छन् ।