प्रायले भन्ने शब्द हो राजनीति भनेको ‘फोहोरी’ खेल हो । तर अहिले त्यो खेल पक्कै फोहोरी नै हो त भन्नेतर्फ केही तर्क गर्न मिल्ने अवस्थाहरु सिर्जना हुन थालेका छन् । नेपालका ठूला दुई कम्युनिष्ट पार्टीबीच एकता अनि तिनीहरुको बीचमा भएको खिचातानीसँगै अदालतबाट विभाजन जस्ता दाउपेच देखिदै आएको थियो । पछिल्लो समय आफ्नै घर भत्काएर छिमेकीकोमा शरण लिने परम्परागत शैली हो वा नयाँ शैलीका कारण राजनीतिलाई तरल बनाएको छ । आफ्नो घरमा आगो लगाएर खरानीको व्यापार गर्ने दाउमा सरकारको नेतृत्व गरेको पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वमा २८ सांसदले केन्द्रमा प्रयास गरे भने प्रकाश ज्वाला नेतृत्वमा ३ जनाले कर्णाली प्रदेशमा गरे । त्यस्तै गण्डकी प्रदेशमा पनि जनमोर्चाले इतिहासदेखि कांग्रेससँग पिल्सिदै आएको भए पनि जनमोर्चाको सहयोगी पार्टी मसालका महामन्त्री मोहनबिक्रम सिंहकी कान्छी पत्नीलाई मन्त्री बनाउने दाउले सफलता नपाएपछि एमाले विरुद्धमा केन्द्रदेखि प्रदेशसम्म जनमोर्चा पार्टी फरक धारमा उत्रिए पनि बागलुङका निर्वाचित जनमोर्चाका सांसद भने कांग्रेसलाई साथ दिन चाहेनन् ।
आफ्नै पार्टीका अध्यक्षको नेतृत्वमा भएको सरकार गिराउनका लागि सग्लो नेकपा हुँदा प्रचण्डको बुई चढेर लागेका माधव नेपाल अहिले पुनः शेरबहादुर देउवाको काखमा पुगेका छन् । राजनीतिमा आफ्नो दाउ वा आफ्नो पक्षको बहुमत वा आफ्नालाई जिताउनका लागि प्रयास हुनुपर्ने हो तर अहिले त आफ्नै पार्टीको सरकार गिराएर घर जलाएर खरानीको व्यापारको शैलीमा जसरी नेताहरु उत्रिएका छन् यसले राजनीति राम्रो खेल हो भनेर भन्न मिल्ने र भन्न सकिने अवस्था देखिएन । केन्द्रमा ओलीलाई हटाउने प्रयास भयो र ओलीले आफै विश्वासको मत मागे विश्वासको मत असफल भएपछि अब नयाँ सरकार गठनको मार्ग खुलेको छ । नयाँ सरकार गठन गर्नका लागि बहुमत आवश्यक पर्ने हुँदा बहुमत पुग्ने अवस्था छैन । तैपनि निश्चित सांसदले राजीनामा दिएको खण्डमा बहालमा रहेका मध्येबाट बहुमत पु¥याउने खेलमा कांग्रेस सफल हुनेछ भन्ने झिनो आशासहित माधव नेपाल समूहले राजीनामा नै दिएर पनि अगाडि बढ्नेसम्मको छाँट पनि देखिएको छ । तर त्यसले अस्थिरतालाई पुनः थप मजबुत बनाउनेछ ।
बुधबार देशमा केही यस्ता घटनाक्रम देखिए त्यसले राजनीतिलाई कुन मार्गमा लैजान सकिन्छ भन्नेतर्फ प्रष्ट संकेत गरेका छन् । माधव नेपाल लगायतको टोलीले कांग्रेससँग मिल्नका लागि राजीनामा दिने, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर समूहले पार्टीको आधिकारिक अनि केन्द्रीय अध्यक्षको हैसियतले राष्ट्रपतिलाई आधिकारिकताको दावी पेश गरेका छन् । त्यस्तै गण्डकी प्रदेशका जनमोर्चाका प्रमुख सचेतक पियारी थापाले दलको नेतालाई कारवाही गरेको भन्दै गर्दा दलका नेता र अर्का सांसदले आफूहरु नयाँ सरकारको पक्षमा नलाग्ने भन्दै विज्ञप्ति निकालेका छन् । देशमा सक्रिय रहेका सबै पार्टी अहिले फुटको संघारमा वा फुटिसकेको अवस्थामा पुगेका छन् । एमालेले आफ्नो अध्यक्षले मागेको विश्वासको मत नदिएर अलग पार्टी भैसकेको प्रमाण पेश गरेको छ भने जनता समाजवादी पनि विश्वासको मतको विपक्ष र तटस्थ बस्दै गर्दा फुटिसकेको मान्न सकिने अवस्था देखिन्छ । आखिर राजनीति राम्रो खेल वा फोहोरी खेल के हो त ?
Previous Articleअक्सिजन कन्सन्टेटर मेसिन खरिदमा जनप्रतिनिधिले सघाउने
Next Article माधव नेपालसहित एमालेका चार नेतामाथिको कारवाही फुकुवा