‘संसारका मजदुरहरु एक होऔं, प्रवासी श्रमिकहरुको अधिकार सुनिश्चित गरौं’ भन्ने नारासहित साईप्रसमा १३२औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको छ । दिवसको अवसर पारेर प्रवासी नेपाली मञ्च प्रवास कमिटी नेकपा एमाले साईप्रसको आयोजनामा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
प्रवासी नेपाली मञ्च प्रवास कमिटी साईप्रसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रमलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले सम्बोधन गरेका थिए । कार्यक्रममा सम्बोधन गर्दै उनले कोही पनि नेपाली रहरले नभई बाध्यताले विदेश जानुपरेको बताए । उनले दुई देशका बीचमा सम्बन्ध स्थापना गर्नका लागि परराष्ट्र मन्त्रालय र राजदूतसँग आवश्यक समन्वय गरेर अगाडि बढ्ने बताएका छन् ।
मन्त्री चौधरीले विदेश जाने युवाहरुलाई रोकेर स्वदेशमा नै विभिन्न किसिमका सिपमूलक तालिम दिने तथा स्वरोजगारको अवसर सिर्जना गर्नेतर्फ सरकार लागिपरेको जानकारी दिए । उनले विदेश जान चाहने युवाहरुलाई आवश्यक विभिन्न किसिमका तालिमहरु दिएर युवालाई दक्ष बनाएर मात्रै पठाउने बताए । नेपालको अर्थतन्त्रमा रेमिट्यान्सले पनि भूमिका खेलेको भन्दै दुुई देशबीच जीटुजी माध्यमबाट अगाडि बढ्नका लागि नेपाल तयार रहेकाले साईप्रससँग समन्वय गरिने मन्त्री चौधरीको भनाइ छ ।
कार्यक्रममा साईप्रसका लागि नेपाली राजदुत डाक्टर अन्जान शाक्यले साईप्रसमा रहेका नेपालीहरुको दुःखमा आफू सदैव साथमा रहेको बताउँदै केही महिनाभित्रै नेपाल सरकारको तर्फबाट उच्चस्तरीय भेटवार्ता गराएर समस्या समाधान गर्न लागिपरेको बताइन् । गैरआवासीय नेपाली सघं साईप्रसका महासचिव कृपा थापाले साईप्रसमा नेपालीहरुको समस्याका बारेमा मन्त्री चौधरी र डा. शाक्यलाई अवगत गराएका थिए । उक्त कार्यक्रममा साईप्रसका अवैतनिक नेपाली महावाणिज्यदूत डा.रामजीवन पञ्जियार, प्रवासी नेपाली एकता मञ्च प्रवास कमिटीका अध्यक्ष भक्त गुरुङ, सचिव रमेश पाण्डे, नेपाली जनसम्पर्क कमिटी सभापति सीता अर्याल, प्रवासी नेपाली मञ्च ईजरायलका अध्यक्ष तीर्थ गौतम र हङकङ अध्यक्ष भक्त गुरुङ लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रवासी नेपालीहरुले न्युनतम पारिश्रमिक पाउनुपर्ने, सामाजिक सुरक्षा कोषमा आबद्धताको रकम स्वदेश फर्कंदा दिनुपर्ने र नेपाल सरकारबाट उच्चस्तरीय भ्रमण हुनुपर्ने जस्ता मागहरु मन्त्रीसमक्ष राखेका थिए । कार्यक्रम आयोजना गर्नुको उद्देश्यमाथि प्रकाश पार्दै प्रवासी नेपाली मञ्च प्रवास कमिटी साईप्रसका अध्यक्ष लोकराज रोकामगरको अध्यक्षता र सचिव श्यामलाल नेपालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रवासी नेपाल मञ्च साईप्रसका सल्लाहकार धातानन्द पाण्डेले स्वागत गरेका थिए । साईप्रसमा क्रियाशील रहेका अन्य संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको पनि कार्यक्रममा उपस्थिति थियो ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया
Previous Articleकोभिडबाट एक जना म्याग्देलीको मृत्यु
Next Article रुप्से दैनिक ! २१ वैशाख २०७८