बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुका लागि विभिन्न हक तथा अधिकारहरुको माग भएको छ । बुधबार बौद्धिक अपाङ्गता अभिभावक संघ म्याग्दीद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रेस विज्ञप्तिबाट उनीहरुको शिक्षादिक्षा, लालनपालन र रोजगारको माग गरिएको हो ।
उक्त विज्ञप्तिमा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको सिप र चाहनाअनुसार रोजगारको ग्यारेन्टी गरिनुपर्ने उल्लेख गरिएको छ । यसैगरी बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई समावेशी शिक्षाको अधिकारको सुनिश्चितता गर्नुपर्ने, पूर्ण र अति अशक्त बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुका लागि व्यक्तिगत सहयोगीको व्यवस्था गर्नुपर्ने माग राखिएको छ ।
त्यस्तै बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुका परिवारका सदस्यहरुलाई रोजगारको व्यवस्था हुनुपर्ने माग समेत गरिएको छ । कार्यक्रमको सहजीकरण गर्दै बौद्धिक अपाङ्गता अभिभावक संघ म्याग्दीका संस्थापक अध्यक्ष टिकाराम सापकोटाले दृष्टिविहिन र बहिराको तुलनामा बौद्धिक अपाङ्गता संवेदनशील रहेकाले बौद्धिक अपाङ्गता भएकालाई राज्यले विशेष सहयोग गर्नुपर्नेमा जोड दिए । उनले बौद्धिक अपाङ्गता व्यक्तिहरु मानसिक रुपमा पनि कमजोर हुने भएकाले उनीहरुका लागि राज्यले सहयोग गर्न विशेष खालको व्यवस्था गर्नुपर्ने बताए ।
पत्रकार सम्मेलनमा बौद्धिक अपाङ्गता अभिभावक संघका जिल्ला सचिव तथा बेनी नगरपालिका–६, अर्थुङ्गेका वडा अध्यक्ष कृष्णबहादुर बानियाँले अपाङ्गता भएका व्यक्तिहरुका लागि आफूले नगरपालिकाको वैठकमा विभिन्न कार्यक्रम गर्न प्रस्ताव पेश गरेपनि सुनुवाई नभएको बताए । कार्यक्रममा सहभागी पत्रकारहरुले भने अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यले विशेष सेवासुविधा दिनुपर्ने बताउँदै सहयोग नभएमा त्यस्ता गतिविधिहरु बाहिर ल्याउन आग्रह गरेका छन् ।
बौद्धिक अपाङ्गता अभिभावक संघका जिल्ला अध्यक्ष यामबहादुर बानियाँको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा बेनपा–८ की लक्ष्मी श्रेष्ठले आफ्नो बौद्धिक अपाङ्गता छोरालाई परिचयपत्र उपलब्ध गराउन बेनी अस्पतालबाट सिफारिस नभएको गुनासो गरेकी थिइन् ।
Previous Articleप्रविधिमा महिलाको पहुच
Next Article रघुगंगामा भ्रष्टाचार छैन : अध्यक्ष भण्डारी