अखिल नेपाल महिला संघ जिल्ला समिति मुस्ताङलले कानुनी राजका माग गर्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङ मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
अनेम संघ मुस्ताङकी अध्यक्ष सर्मिला गुरुङ एवम् सचिव सुनदेवी रसाइलीद्वारा हस्ताक्षरीत ज्ञापनपत्रमा विद्यमान कुसंस्कार, असमानता, विभेद, हिंसा र उत्पीडन विरुद्ध न्याय, समानता र महिला मुक्तीका लागि अग्रमोर्चामा रहेको संघले पछिल्लो समय बढ्दो ज्यादतीका घटनाहरुलाई कानुनी दायरामा ल्याउन पर्ने माग गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी माथि विभिन्न सार्वजनिक कार्यक्रम तथा सामाजिक सञ्जाल तथा विद्युतिय माध्यमबाट समेत अमर्यादित ढंगबाट गालीगलौज गर्ने, अभद्र व्यवहार गर्ने व्यक्तिगत चरित्रमाथि प्रश्न उठाउने जस्ता अभद्र र गैह्र कानुनी कृयाकलाप गर्नेलाई तुरुन्त रोक्नु पर्ने अखिल नेपाल महिला संघको माग रहेको छ । प्रचारबाजीमा उत्रने र अराजक गतिविधि गर्ने जोकोहीलाई पक्राउ गरि प्रचलित कानुन बमोजिमको सजाय गर्नका लागि अखिल नेपाल महिला संघले माग गरेको छ ।
अखिल नेपाल महिला संघ जिल्ला कमिटी मुस्ताङले जिल्ला प्रशासन कार्यालय मुस्ताङमा बुधबार ज्ञापनपत्र बुझाउँदै नेपालको संविधानको धारा ३८ मा महिलाको अकमा उल्लेखित अधिकारको हनन गर्ने जो कसैलाई पनि राज्यले छाड्न नहुने माग गरिएको छ । ज्ञापनपत्रमा महिला विरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक, परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारिरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन भनिएको भए पनि त्यस हकको उल्लंघन भएकोले कडा कारवाहीको माग गरिएको छ ।