काठमाडौं, २८ कात्तिक – सरकारले स्तन क्यानसरबाट पीडित नेपाली कांग्रेसकी नेतृ एवम् पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालालाई ५० लाख रुपैयाँ उपचार खर्च दिने भएको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेतृ कोइरालालाई स्वास्थ्य उपचारका लागि ५० लाख रुपैयाँ खर्च उपलब्ध गराउने निर्णय गरेको हो।
नेतृ कोइरालालाई ५० लाख रुपैयाँ उपचार खर्च दिने प्रस्ताव उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मन्त्रिपरिषद बैठकमा गरेका थिए। विशिष्ट व्यक्तिलाई सरकारले उपलब्ध गराउने उपचार खर्चको प्रस्ताव मन्त्रिपरिषद बैठकमा स्वास्थ्य मन्त्रीले लैजानु पर्ने भएपनि आइतबारको बैठकमा स्वास्थ्य मन्त्री गगन थापा अनुपस्थित भएकाले उपप्रधानमन्त्री निधिले प्रस्ताव पेश गरेका हुन्।
यसअघि नेतृ कोइरालाले स्वास्थ्य उपचारका लागि सरकारसँग एक करोड माग गरेकी थिइन्। तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १ करोड रुपैयाँ दिन नसकिने बताएपछि कांग्रेस सभापति शेरबहादुर देउवालगायत कांग्रेसका शीर्ष नेताहरुले ५० लाख रुपैयाँ भएपनि दिनु पर्ने भन्दै दबाब दिएका थिए। स्तन क्यान्सरबाट पीडित नेतृ कोइराला थप उपचारका लागि सिंगापुर गइसकेकी छिन्।
तुलसी गिरीको रोकियो, रामवरण र सुजाताले पाए
प्रचण्ड सरकार बनेपछि पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई उपचार खर्च दिने निर्णय भएको छ । उनलाई सुरुमा ६० लाख उपचार खर्च दिइएको थियो । पछि यसलाई पेश्कीमा बदल्दै सबै उपचार खर्च दिने र टोलीको सबै खर्च व्यहोर्ने निर्णय गरेको थियो ।
तर, कांग्रेसका युवा नेता गगन थापा स्वास्थ्यमन्त्री भएपछि राजनीतिज्ञ तुलसी गिरीलाई उपचार खर्च दिने प्रस्ताव रोकियो । उनले केपी सरकारकै पालामा २० लाख रूपैयाँ लगिसकेका थिए ।
यही बेला अर्थ समितिले पनि नयाँ मापदण्ड बनाउन निर्देशन दियो । र, स्वास्थ्यमन्त्री थापाले पेश गरेको नयाँ मापदण्ड मन्त्रिपरिषद् बैठकको एजेण्डामा पनि थियो । तर, त्यसबारे छलफल नै नगरी सुजातालाई ५० लाख दिने निर्णय भएको छ ।
सुजातालाई ५० लाख दिने, तुलसी गिरीको रोकियो
Previous Articleडा. गोविन्द केसीले फेरी थाले आमरण अनसन
Next Article देउवाले बोलाएको बैठकमा सिटौला रिसाएर फर्किए