काठमाडौँ, २८ कात्तिक – राष्ट्रपतिमा निर्वाचित ट्रम्पले चुनाव प्रचारका क्रममा अमेरिकालाई ‘फेरि एकपटक महान्’ बनाउने नयाँ नारा तय गरेका थिए । मतदातालाई आकर्षित गर्न उनले असम्भव लाग्ने योजना र नीति सार्वजनिक गरेका थिए । ट्रम्पले सार्वजनिक गरेका केही नीतिलाई सयदिनभित्र पूरा गरिसक्ने बताएका छन् । डेढ महिनापछि ट्रम्प राष्ट्रपतिको पदभार ग्रहण गर्दै छन् । रियल इस्टेट सम्राट ट्रम्पले आफ्ना पूर्वप्रतिबद्धता पूरा गर्नेमा धेरैले आशंका व्यक्त गरेका छन् ।
१. मुसलमानलाई प्रतिबन्ध
आफू राष्ट्रपति निर्वाचित भएमा ट्रम्पले अमेरिकामा मुसलमानलाई प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । तर, उनको प्रस्तावलाई कानुन विज्ञहरूले असंवैधानिक बताएका छन् । मुसलमानको अमेरिका प्रवेशमा रोक लगाउने ट्रम्पको योजनालाई उनकै पार्टी रिपब्लिकनका हस्तीहरूले ‘अमेरिकाविरोधी’ बताएका छन् । ट्रम्प नीतिको विपक्षमा रहेकामध्येका एक सभामुख पल रेयान मुसलमानलाई प्रतिबन्ध लगाउने कानुनलाई कंग्रेसले कुनै हालतमा समर्थन नगर्ने बताउँछन् । कार्यकारीको हैसियतले ट्रम्पले निर्देशन जारी गर्न सक्नेछन् तर उनको आज्ञाविरुद्ध अदालतमा मुद्दा दायर हुन सक्ने र यसले ट्रम्प झन समस्यामा पर्ने विज्ञ बताउँछन् ।
२. मेक्सिको र अमेरिकी सीमामा पर्खाल
निर्वाचन अभियानमा दैनिकजसो ट्रम्पले पर्खालको विषय उठाएका थिए । मेक्सिको भ्रमणका क्रममा पनि उनले यस मुद्दालाई मुख्य प्राथमिकता दिँदै पर्खाल निर्माण गर्दा लाग्ने आधा रकम मेक्सिको सरकारले बेहोर्नुपर्ने बताएका थिए । तर, अमेरिकाका सिभिल इन्जिनियरिङ, सुरक्षा र आप्रवाससँग सम्बन्धित विज्ञ भने पर्खाल बन्ने कुनै सम्भावना देख्दैनन् । उनीहरूका अनुसार दुई देशको सीमामा एक हजार माइल लामो पर्खाल बनाउँछु भन्नु ट्रम्पको दिवास्वप्न हो । सो परियोजना निर्माणका लागि २० अरब डलर लाग्ने र रकम छुट्याउन कंग्रेसको स्वीकृति चाहिन्छ । पर्खालका लागि मेक्सिकोले समेत खर्च बेहोर्नुपर्ने ट्रम्पको प्रस्तावलाई मेक्सिकोका राष्ट्रपति इनिरिक्बू पेनानिटोले मजाक गरेका छन् । अर्कोतर्फ सीमामा बनाएको पर्खालको लागत बेहोर्न ट्रम्पले मेक्सिकोलाई दबाब दिन त्यति सजिलो छैन ।
३. आप्रवासी खेद्ने
निर्वाचनमा ट्रम्पको मुख्य नारा गैरकानुनी रूपमा अमेरिका बसेका एक करोड १० लाख आप्रवासीलाई सम्बन्धित मुलुकमा फर्काउने थियो । दुई वर्षभित्र सम्पूर्ण आप्रवासीलाई देशनिकाला गर्ने उनको अनुमान छ । पूर्वराष्ट्रपति डिबिट डी. इसनहावरले पनि सन् १९५४ मा यस्तै योजना ल्याएको स्मरण गर्दै ट्रम्प गैरकानुनी आप्रवासीलाई स्वदेश पठाउन असम्भव नभएको तर्क गर्छन् । तर, पछिल्लो ७० वर्षमा धेरै परिवर्तन भएका छन् । आप्रवासीलाई पठाउन विद्यमान कानुनमा परिवर्तन आवश्यक हुन्छ, जुन आफैँमा कठिन पक्रिया हो । आप्रवासीलाई बस्न दिने कानुनलाई संशोधन गरेर वा खारेज गरी नयाँ कानुन बनाउँदा त्यसले समाजमा नकारत्मक असर पार्न सक्छ । आप्रवासी फिर्ती प्रक्रिया कानुनसँग पनि जोडिएकाले न्यायाधीशको पनि स्वीकृति चाहिन्छ । तसर्थ ट्रम्पले भनेजस्तो दुई वर्षभित्रै अभिलेख नभएका सम्पूर्ण आप्रवासीलाई अमेरिकाबाट लखेट्न असम्भव छ ।
४. क्लिन्टनलाई जेल
राष्ट्रपति निर्वाचन अभियानमा ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी हिलारीका गोप्य इमेल प्रकरणलाई लिएर उनलाई जेल हाल्ने धम्की दिएका थिए । आफू राष्ट्रपति भएमा हिलारीलाई इमेल कान्डमा अपराधिक मुद्दा लगाएर जेल कोच्ने उनले बारम्बार चेतावनी दिएका थिए । राष्ट्रपतिको दोस्रो बहस कार्यक्रमै उनले ‘तिमीलाई जेल कोचिदिन्छु’ भनेर क्लिन्टनलाई तर्साएका थिए । विज्ञहरूका अनुसार राष्ट्रपतिको पदभार सम्हालेपछि पनि ट्रम्पले यही विषय दोहो¥याए भने उनी झन समस्यामा पर्नेछन् । कानुनका विज्ञ र जानाकारका अनुसार संघीय जाँच ब्युरोबाट दुईपटक सफाइ पाएकी क्लिन्टनविरुद्ध आपराधिक मुद्दा लगाएर दोषी भएको प्रमाण जुटाउन ट्रम्पले महान्यायाधिवक्ता नै पाउने छैनन् । तर, ट्रम्पले आफ्ना विश्वास पात्र रुडी जिउलियनीलाई भावी महान्यायाधिवक्तामा नियुक्त गर्ने चर्चासँगै क्लिन्टविरुद्ध उत्रिन सक्छन् । तर, आफ्नो पक्षमा जनमत आइसकेकाले ट्रम्पले पुरानो रिसइबी साध्न आवश्यक ठान्ने छैनन् । किनकि, राष्ट्रपतिमा निर्वाचित भएपछिको नयाँ सन्देशमा उनले देशलाई एकबद्ध बनाएर लैजाने घोषणा गरिसकेका छन् । अर्कोतर्फ क्लिन्टनले पराजय स्विकारेर ट्रम्पलाई अवसर दिनुपर्ने बताइरहेका वेला यस विषयलाई पुनः ब्यँुताउनु निरर्थक हुनेछ । क्लिन्टनविरुद्धको अभिव्यक्ति केबल चुनावी स्टन्ट मात्र हुन सक्छ । नयाँ पत्रिका
Previous Article‘खोल्सीको सुन’ ले आर्थिक समृद्धिको फड्को
Next Article खाद्य सम्प्रभुताको बन्दले देशभरको जनजीवन प्रभावित