हत्या अभियोगमा जिल्ला, तत्कालीन पुनरावेदन र सर्वोच्च अदालतले समेत जन्मकैद फैसला गरेको ५ जनालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले पक्राउ गरी कैद भुक्तानका लागि कारागार चलान गरेको छ । २०६६ फागुन ११ गते मालिका–४, ओखरबोटको चिउरीबोटमा शिवरात्री मेलाका अवसरमा आयोजित भलिबलमा विवाद भई बागलुङको तमानखोलाका २१ वर्षीय नारायण छन्त्यालको हत्या गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
लकडाउनको समयमा कास्कीको पोखराबाट म्याग्दी प्रहरीको विशेष टोलीले मालिका गाउँपालिका गाउँपालिका–४, का २८ वर्षीय बलमान घर्ती, ३३ वर्षीय जीवन घर्तीमगर, २६ वर्षीय दुर्गाबहादुर घर्ती, २७ वर्षीय दलप्रसाद पुन र मालिका गाउँपालिका रुमका २९ वर्षीय तिर्थेन्द्र घर्ती मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत म्याग्दीको आदेशअनुसार कैद भुक्तानका लागि बुधबार कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी समेत रहेका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बताए ।
हत्यामा संलग्नमध्ये ३ जनाको २०÷२० वर्ष कैद भुक्तान गर्न बाँकी रहेको छ भने घटनाको समयमा कम उमेर भएकाले दुर्गाबहादुर र दलप्रसादलाई १०÷१० वर्ष कैद फैसला भएको थियो । जिल्ला अदालत म्याग्दीले २०६७ फागुन १९ गते फैसला गरेपछि आरोपितहरु पुनरावेदनका लागि उच्च अदालत पोखराको बागलुङ इजलास गएकोमा बागलुङबाट २०६९ असार १२ गते जिल्लाकै फैसला सदर गरेको थियो । त्यसपछि उनीहरुको मुद्दा सर्वोच्चमा समेत पुगेकोमा सर्बोच्च अदालतबाट पनि जिल्ला र उच्च अदालतकै फैसला सदर गर्ने आदेश दिएको थियो ।
प्रहरीले पक्राउ गरी मङ्गलबार जिल्ला अदालत म्याग्दीमा फैसला कार्यान्वयनका लागि पेश गरेकोमा अदालतको आदेशपछि बुधबार कारागार चलान गरिएको प्रहरी निरीक्षक चौधरीले जानकारी दिए । पछिल्लो समय कैद भुक्तान गर्न बाँकी रहेका १९ जना फरार अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालतमार्फत कारागार चलन गरिएको प्रहरीले जनाएको छ ।