चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसले अहिलेको अवस्थासम्म आउन सक्ला भनेर सायदै कसैले सोचेको थियो होला । तर अहिलेको यस्तो अवस्था समेत आयो कि कोरोनाबाट प्रत्येक व्यक्ति–व्यक्ति डराउने अवस्था सिर्जना भयो । आफ्नो परिवारको मान्छे देख्दा पनि कोरोनाकै आशंका लाग्ने र कोरोना लिएरै आएको छ कि जस्तोसम्म हुन थाल्यो । चीनमा कोरोना संक्रमण देखिएपछि दिनानुदिन पश्चिमा मिडिया तथा पश्चिमा देशहरुले चिनिया भाइरस भन्दै धज्जी उडाउने काम पनि गरेकै हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त कोरोना वा कोभिड भन्ने नाम देखिएको ठाउँमा त्यसलाई काटेर चिनिया भाइरस लेखेर समेत हिँड्ने काम गरेका थिए । तर इतिहासले कसको पक्ष लिन्छ भन्ने कसलाई पो थाहा हुन्छ र ? त्यस्तै भयो वर्तमानमा अमेरिका अनि युरोपको अवस्था पनि । चीनबाट सुरु भएको कोरोना संक्रमणको केन्द्र अहिले युरोप हुँदै अमेरिका पुग्यो । अमेरिकामा मात्रै ६२ लाखभन्दा बढी संक्रमित भए भने १ लाख ८८ हजारभन्दा धेरै मानिस कोरोनाका कारण ज्यान गुमाउन बाध्य भए ।
विश्वले धेरै पटक महामारीको सामना गर्दै आएको छ । आजभन्दा ठिक १०० वर्ष अगाडि पनि स्पेनबाट सुरु भएको फ्लुले तत्कालीन अवस्थामा गणना भएअनुसार ५ करोडको ज्यान लिएको थियो । अनुमानित गणनामा ५ करोड आँकलन गरिएको भए पनि त्यो भन्दा धेरै ठूलो परिणाममा मानिस हताहति भएको मान्न सकिन्छ । विश्वले सामना गरेका धेरै सरुवा रोगहरुमध्ये ईबोला, डेङ्गु, स्क्रबटाईफस, प्लेग, हङकङ फ्लु जस्ता धेरै छन् । तर पनि तत्कालीन अवस्थामा रोगको फैलावट भए पनि त्यसलाई नियन्त्रण गर्नका लागि विश्व समुदाय एक भएर लाग्यो र सम्भव पनि भयो । तर अहिलेको अवस्थामा कोरोना रोक्नका लागि फलामको चिउरा चपाए जस्तै भएको छ । विश्वमा कोरोना देखिएको झण्डै ९ महिनाको अवधिमा सुरुको समयमा सबैभन्दा धेरै संक्रमित भेटिएको चीन संक्रमणको हिसाबले बुधबार बेलुकासम्मको रेकर्ड हेर्दा ३८औं नम्बरमा पुगेको छ । यहि रफ्तारमा बढ्दै जाने हो भने नेपालले पनि अबको एक महिनाभित्रै चीनलाई उछिन्ने देखिन्छ । ३ करोड पनि जनसंख्या नभएको नेपालमा दैनिक हजारभन्दा धेरै संक्रमित थपिँदै जाँदा भोलीको दिनमा उपचारका लागि राख्ने स्थानसम्म पाउन पनि निकै कठिन हुने पक्का हो ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई रोक्नका लागि लकडाउन, आईसोलेसन, क्वारेन्टाइन, परीक्षण जस्ता विधिहरुभन्दा यो संक्रमणलाई जित्ने अन्य उपायको आविष्कार हामी महाशक्ति हौं भन्न रुचाउने विश्वका कुनै पनि देशले गर्न सकेका छैनन् । विगतको अभ्यास हेर्ने हो भने कुनै पनि मानव स्वास्थ्य वा मानव शरिरका लागि प्रयोग गर्ने भ्याक्सिनलाई ढुक्क भएर प्रयोग गर्नका लागि १० वर्षको अवधि लाग्ने र त्यही अनुरुपका आएको मानिन्छ । तर अहिले विश्वले एक्कासी महामारीको रुपधारण गरिसकेका कारण कसैले पनि केही भन्न सक्ने अवस्था त बन्दै बनेन । प्रयास गरेको भए पनि महामारीको फैलावटले जतिसुकै चाँडो भ्याक्सिन निर्माण हुनसके पनि त्यो ढिलो भैसक्यो भन्ने आरोप खेप्नैपर्नेछ । विश्वले महामारी खेपेको भए पनि सरुवा रोगबाट बच्ने उपाय भनेको भीडभाड कम गर्ने र आफ्नो सुरक्षाका लागि आफैले प्रयास गर्ने हो । हालसम्मको अवस्थामा कोरोनाको औषधी छैन र कुनै पनि अस्पतालमा कोरोना रोगको उपचार हुँदैन । उपचार हुनका लागि त्यसको औषधी हुनुपर्छ तर अहिलेसम्म कुनै पनि औषधी छैन र त्यही औषधी नभएकै कारण विना उपचार शरिरमा एण्टीबडी तयार भएर निको हुने वा संक्रमणमुक्त हुने हो । त्यसैले सचेत हुनुको विकल्प नभएको हुँदा सचेत हुनु नै कोरोनाको सबैभन्दा उत्तम उपचार मानिन्छ ।
Previous Articleबाढीले तटीय बस्ती बगायो, १९ जना बेपत्ता
Next Article म्याग्दी प्रहरीद्वारा पाँचजना फरार अपराधी पक्राउ