सन्दीप खत्री
बिहानको साढे पाँच बजेको छ । एक्कासि निन्द्राले छाडेपछि झ्यालको पर्दा उघारे । आँखै अगाडि जोमसोम बजारलाई काखमा राखेर निलगिरि र तिलिचो पिकले मन्द मुस्कान छरिरहेको थियो । मलाई हिमालहरु हेर्न औधी मन पर्छ । त्यसैले जहाँ जान्छु उठ्नासाथ हिमाल देखिन्छ कि देखिँदैन भनेर हेर्ने गर्छु । हामी कोरला नाका जानका लागि हिँडेका थियौँ । पहिलो दिनको बसाइ जोमसोममा भएको थियो । यात्राको दोस्रोको दिनको बिहानीसँगै जोमसोमको चिसो हावासँगै निलगिरी र तिलिचो पिकले मधुर मुस्कानसहित हामीलाई स्वागत गरिरहेका थिए । त्यसपछि क्यामेरा बोकेँ अनि जोमसोमको सुन्दरता कैद गर्न बाहिर निस्किएँ ।
दसैँको टीका लगाएपछि असोज २७ गते हामी बेनीबाट कोरलातर्फ लागेका थियौँ । कोरला नाकामा जाने धेरै पहिलेदेखिको योजना थियो तर सफल भएको थिएन । कोरला नाका खुलाउन र त्यसको सम्भाव्यताबारे अध्ययन गर्नका म्याग्दी उद्योग वाणिज्य संघको नेतृत्वमा जाने भनेर पहिले नै सल्लाह भएको थियो । राजेश शाक्य दाइले असोज २४ गते दसैँको भोलिपल्ट हामी कोरला जान सक्छौ है मानसिक तयारी हुनु भन्नुभएको थियो । मलाई लागेको थियो, म्याग्दी उद्योग वाणिज्य संघकै नेतृत्वमा नाका अध्ययनका लागि जाँदैछौँ । दसैँको भोलिपल्ट बल्ल थाहा भयो, उद्योग वाणिज्य संघको योजना सफल नभएपछि हामी छुट्टै जाँदैछौँ भन्ने कुरा । राजेश दाइले २६ गते बेलुकातिर २७ गते बिहान बेनीबाट हिँड्दैछौ भनेर खबर गर्नु भयो । म राखु भएकाले त्यतैबाट बेगखोला झर्ने निर्णय गरेँ । हामीसँगै मोना कतारका निवर्तमान अध्यक्ष गणेश श्रेष्ठको परिवार पनि जाने थाहा पाएपछि उनलाई फोन गरेँ । उनी पनि राखुमै रहेछन् । त्यसपछि २७ गते बिहान म, गणेश र पुजा जोसी वेगखोला झर्यौ । हामी त्यहाँ विहानको ८ बजे आएका थियौ तर ७ बजे भेट्ने कुरा भएको थियो ।
बाटोमा गाडिको जाम र गाडिको प्राविधिक समस्याका कारण राजेश दाई, रेस्मा भाउजु, सूचना दिदी र अर्पणा श्रेष्ठ दिनको १२ बजेमात्र तिप्ल्याङ्ग आउनु भयो । ढिला भएपछि हामी उहाँहरुलाई तिप्ल्याङ्गमा गएर पर्खिएका थियौ । भू तातोपानीमा पुगेर खाना खादा घडिले दिनको १ बजाई सकेको थियो । हामी ढिला भएका थियौ, त्यसैले खाना खाएर ढिला नगरि यात्रा मुस्ताङतिर बढ्यो । बाटोमा राजेश दाईको ठ्ट्यौलीले यात्रा गरेको पत्तै भएन् । मुस्ताङ जानका लागि त्यसदिनमा मानिसहरुको निकै ठूलो घुईचो थियो । गाडिहरुमा, मोटरसाईकलमा मानिसहरु त्यत्तिकै मात्रामा आएका थिए । फलस्वरुप बाटोमा जामले हैरानै बनायो । मोटरसाईकलमा यात्रा गर्ने यात्रुलाई हामीले “शाहसी”को संज्ञा दियौ । उनीहरुले बाईकलाई तान्दै भएपनि उकालो उकाल्थे । पानीले जुत्ता निथु्रक्क भिजाउथे । उनीहरुको यात्राले हामी मोटरसाईकलमा जोमसोमको यात्रा सहज छैन् भन्ने निष्कर्षमा पुग्यौ । लेते भन्दा केही तल झन्डै २ घण्टा जाममा फसियो त्यतिबेलासम्म घडिले साँझको ५ बजाउनै आटेको थियो । लेते कटेपछि झमक्कै साँझ पर्यो । जसका कारण बाटोमा स्याउ बारीहरु, प्राकृतिक सौन्दर्यतालाई अवलोकन गर्न पाइएन् । रेस्मा भाउजुले बाटोमा उक्त दृष्यहरु हेर्न नपाएकोमा निकै खिन्न मन गर्नु भो ।
राति ८ बजेमात्रै हामी पहिलो दिनको गन्तव्य स्थल जोमसोममा पुग्यौ । गाडिबाट बाहिर झर्दासाथ चिसो हावाले स्वागत गर्यो । मुटु नै छुने थियो हावा । त्यस दिनको बसाई निकै उत्साहपूर्वक रह्यो । रमाईलो पनि भयो । चिसोले गर्दा कालो चिया भन्नका लागि म किचनमा भित्र छिरेको थिए । होटल मालिकलाई ७ कप कालो चिया बनाईदिनु है भनेर के भन्न पाएको थिए । “चिया भन्ने तिमी को ?” भन्ने प्रश्न गरे । होटलकी साहुनीले वातावरण सहज बनाईन् । पछि यात्रा र “तिमी को ?” भन्ने थेगोले निकै ठाउँ पायो । भोलिपल्टको हाम्रो गन्तव्य भनेको लोमान्थाङ थियो । त्यसैले विहानै जोमसोमबाट हिड्ने योजना बनाएका थियौ । तर प्राविधिक कारणले दोस्रो दिनपनि हाम्रो यात्रा ९ बजेमात्रै अगाडि बढ्यौ । ग १ य ६०५ का ड्राइभर प्रकाश श्रेष्ठ हामीलाई जोमसोम कालीगण्डकी पारि कुरिरहेका रहेछन् । जोमसोमको जेरी पुरीको नास्तापछि हामी प्रकाशको ड्राईभिङमा यात्रालाई लोमान्थाङतिर अगाडि बढायौ । जोमसोम भन्दा माथिको यात्रा मेरा लागि पहिलो थियो भने कोरला सबैका लागि । त्यसैले पनि मुस्ताङको प्राकृतिक सौन्दर्यताले निकै उत्सुक बनाएको थियो । जोमसोमबाट हिडेको १० मिनेट नहुँदै फेरि जाममा परियो । त्यसदिन मात्रै झन्डै १३ सय मोटरसाईकल जोमसोम प्रवेश भएका थिए । गाडि पनि त्यही हाराहारीमा ।
नेपाललाई स्वर्गको टुक्रा भनेर त्यसै भनिएको होईन् । त्यसमा पनि मुस्ताङमा देखिने प्राकृतिक दृष्यले साँच्चै स्वर्गीय आनन्द दिन्छन् । त्यहाँको सौन्दर्यतालाई हामीले दृष्यपान गर्दै अगाडि बढ्यौ । जोमजोम भन्दा माथि जति पनि गाडि गुड्थे त्यसमा सबै नेपाली मात्रै थिए, विदेशी पर्यटकहरु पैदलमा । राजेश दाईले ती विदेश पर्यटकलाई देखेपछि बैकल्पीक पदमार्गको आवश्यक छ भन्नु भयो । हुन पनि हो, मुस्ताङको बाटोमा गाडिले उडाउने धुलोमा मुख छोप्दै त्यही बाटोमा पैदल यात्रा गर्न बाध्य छन् विदेशी पर्यटकहरु । त्यसैले मुस्ताङको पर्यटनलाई अझै उचाईमा पुर्याउने हो भने छुट्टै पदैल मार्गको आवश्यकता छ । अगाडि बढ्दै जाँदा बारीमा फापर काटेर सुकाएका थिए । हाम्रो तिर खेतमा धान झुल्दै गर्दा मुस्ताङमा फापर बारीमा सुतेका थिए । हामीले कागबेनीबाट मुक्तिनाथ जाने बाटोलाई त्यही छाड्दै सिधा अगाडि यात्रा बढायौ । त्यसपछि भने गाडिको चाप केही कम भयो । साढे १० बजे विहानका खान खान छुसाङमा पुग्यौ । स्याउबारीमा गएर स्याउ खाने, फोटो खिच्ने रहर त्यहाँ पुरा भयो ।
छुसाङको खाना पछि कालीगण्डकी नदी तरेर लोमान्थाङतिर अर्थात उपल्लो मुस्ताङको यात्रा तय भयो । वगरको केही मिनेटको यात्रा पछि हामी उकालियौ । बगर छाडेर थोरै माथि पुगेपछि चैले भन्ने गाउँ आउँदो रहेछ । हामी जति माथि जान्थ्यौ प्रकृतिले हामीलाई त्यत्तिनै प्रफुल्लीत पार्दथ्यो ।
त्यसपछिको हाम्रो यात्रा डाडाँकाडाँमा हुन थाल्यो बाटो पुरै उकालो थियो । धुलो त्यस्तै । घरहरु पनि माटोले नै बान्नो लगाएका, माटोले नै छाएका र घरको धुरीमा दाउराको चाङ लगाएका । साँच्चै यो दृश्य कम मनमोहक थिएन् । २ दिनको उपल्लो मुस्ताङको यात्रा अवधिभर आकाशमा कहि कतै पनि छुस्स बादल भेटिएन् । सायद मौसमले पनि हाम्रो यात्रालाई साथ दिएको हुनुपर्छ । केही डाडाँ पार गरेपछि समर गाँउमा पुगियो । जस्तो नाम उस्तै गाउँ । समरलाई तल पार्दै त्यसैको शिरबाट हाम्रो यात्रा थियो । समर भन्दा केही माथि गएपछि एउटा डर लाग्दो भीर आयो । सिधा उकालो र बाटोमा पानी, ठूला ठूला ढुङ्गा भएकोले गाडि बेस्सरी हल्लियो । जिउनै सिरिङ्ग भयो । रेस्मा भाउजु र गणेश डिलको साईडमा थिए । त्यसैले उहाँहरुलाई अलि बढिनै तर्साएछ । २ मिनेटको बाटो पार गर्न ४ मिनेट घुम्नु पर्ने भौगोलिक वनावटले अत्यार लाग्दो भएपनि राजेश दाईको ठट्टा र ड्राईभर दाईको कहानीले यात्रा सहज नै भयो । तर गाडिमा ठाउँ अभावका कारण अर्पणा २ दिनसम्म पूजाको काखमा बसेर यात्रा गरिन् । बाटोमा भेटिने, देखिने सबै गुम्बाको कथा तथा ऐतिहाँसिक किन्वदन्तीका बारेमा उनले हामीलाई बताउथे । उनले हामीलाई स्थानीय गाइडको काम समेत गरे । २ वर्षदेखि त्यहीबाटोमा सवारी चलाउँदै आएका रहेछन् । त्यसैले पनि हामीलाई सहज भयो । एउटा डाडाँमा पुगियो त्यहाँ एउटा मात्रै होटल रहेछ । त्यसलाई भेनाको होटल भन्दो रहेछ । बाटोमा एउटा ठूलो रातो पहाड देखियो । जताततै सेता र उजाड पहाडमा त्यहाँ रातो पहाड पनि थियो । तर त्यस रातो पहाडमा राक्षसको रगत लागेको हो भन्दै थिए, प्रकाश । त्यसको केही माथि अर्को गुम्वा आयो । त्यस गुम्वामा भएको औठी चोर्ने चोरको हात काटेर त्यही झुन्ड्याइएको छ भन्ने कुरा समेत सुनाए ड्राईभर प्रकाश दाईले । त्यसपछि बाटोमा फोटो खिच्दै, विश्राम गर्दै घमि, चोराङ्ग हुँदै बेलुका साढे ४ बजे यात्रा लोमन्थाङ पुथ्यो । मानिसहरुको चापका कारण सबै होटल प्याक रहेछन् । धन्न ड्राईभर दाईले कोठा बुक गरिदिए र बस्न सहिजो भयो ।
लोमान्थाङ पुगेपछि सबै जना आराम गर्न लाग्नु भयो म भने गाउँ घुम्ने विचारले होटलबाट निस्कीए । इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय एकै ठाउँमा रहेछ । तर त्यहाँका प्रमुखहरु भने विदामा रहेछन् । प्रशासन कार्यालयमा कोही पनि थिएनन् । प्रहरी चौकीमा भने केही जवानहरुसँग भेटघाट भो । सबै त्यहाँ नयाँ भएकाले धेरै जानकारी पाउन सकिएन । एउटै कम्पाउन्डमा घेरिएको बस्ती र त्यसको बीच भागमा रहेको राजदरबारमा जाने बाटो पहिल्याउनै मुस्किल भयो । धेरै पछि बल्ल भित्र छिर्ने ढोका भेटियो । साँझ पर्न आँटेकाले सबै आफ्नो काम धन्दामा व्यस्त थिए । नमस्तेको जफावबाहेक अरु कुरा खासै बोल्न चाहँदैनथे स्थानीय कोही पनि । दरबार बन्द थियो । राजाको परिवार काठमाडौँ भएकाले त्यहाँ पस्न कसैलाई पनि अनुमति रहेनछ । दरबार अगाडि टुरिष्ट चेकपोष्ट रहेछ । त्यहाँ काम गर्ने अर्जुन गुरुङ दाईसँग केही समय भलाकुसारी गरेपछि त्यहाँबाट बाहिरिएँ । तर त्यो कम्पाउन्डबाट बाहिरिने बाटो भेट्न मुस्किल भयो, फेरि पनि । भित्र आउने र जाने दुईवटा बाटो मात्रै रहेछन् । सबै कुना, चोकमा पुगे तर बाटो कही भेटिन् । सोध्यो उ त्यहाँबाट हो भन्ने जफाव मात्रै आयो तर बाटो आएन् । एउटा सानो गल्ली थियो घरमा जाने बाटो होला भनेर गइन तर बाहिर निस्कने बाटो त्यही रहेछ पछि बल्ल थाहा भो । कही बाटो नभेटेपछि भित्र पसेको ढोका खोजेर बाहिरिए ।
लोमन्थाङमा पर्यटकको जति चाप र आकर्षण छ, सोही अनुरुप स्थानीयहरुले व्यवस्थापन गर्न सकेका थिएनन् । व्यवस्थित र राम्रा होटलको अभाव देखियो । जसको मारमा हामीसमेत पर्यौ । लोमन्थाङको चिसोमा एउटा बल्याङकेटले रात कटाउनुपर्ने अवस्था भयो । धन्न रेस्मा भाउजुले खास्टो दिनुभयो र रात कटाउन केही सहज भयो । ५ दिनको हाम्रो यात्रा त्यही जाडो र होटलका कारण ४ दिनमा छोट्याउने सल्लाह गर्यौँ । कोरला नाकामा गएर लोमन्थाङमै बस्ने योजना रहे पनि त्यस दिन लोमन्थाङबाट छुसाङमा बस्न आउने सल्लाह बमोजिम बिहान ८ बजेतिर हाम्रो यात्रा कोरलातिर मोडियो । छोसेरमा पुगेपछि त्यहाँ विभिन्न गुफाहरु हेर्न पाइने रहेछ । टिकट काटेपछि ४ वटा गुफाहरु हेर्न पाइँदो रहेछ । नेपालीका लागि प्रतिव्यक्ति रु एक सय रहेछ । तर हामीले समयअनुकुल नभएकाले सिजा जोङ्ग गुफा र लो निफू गुफा मात्र हेर्यौ । गुफामा केही समय पहिलेसम्म मानिसहरु बस्थे रे । त्यतिबेलासम्म घडीले बिहानको १० बजाउन आटेको थियो । हाम्रो यात्राको गन्तव्य कोरला जान बाँकी नै थियो । त्यसै यात्रा पुनः जारी भयो । छोसेरमै सीमा प्रहरी कार्यालय, भन्सार कार्यालय रहेछ । तर धेरै तल ।
तलबाट देखिने पिकहरु, ठूला ठूला पहाडहरु हाम्रा नजिक हुँदै गए । केही पिकहरुलाई तलै छाडेर हामी अझै उचाइमा पुग्यौँ । केही उकालो गुडे पनि एक्कासि आँखाले हेरेर नभ्याउने समथर भूभाग आयो । हावा तेजले चलेको थियो । गाडीबाट क्यामेरा निकालेर फोटो खिच्न सकिने अवस्था थिएन । सबैको अनुहारमा एक प्रकारको सन्तुष्टिका रेखाहरु दौडिन थाले । मन एक्कासि रोमाञ्चित भयो । साढे ११ बजे हामी यात्राको गन्तव्य स्थल कोरला नाकामा पुगेका थियौँ । कल्पना गरिएको भन्दा बृहत रहेछ ठाउँ । साँच्चै अन्त्यन्तै उत्पादक क्षेत्रको रुपमा लिन सकिन्छ । तर हाम्रो मनमा डरका कारण ५ मिनेट पनि बस्न सकेनौँ कोरलामा । हामीभन्दा अगाडिका २ वटा गाडीहरुलाई चाइनाको सेनाले लखेटेको रहेछ । त्यसको प्रभाव हाम्रो समूहमा पनि पर्यो । दिदी÷भाउजुहरु अलि बढिनै त्रसित हुनु भयो र धेरै बस्न सकेनौ । केही समय अगाडि चिनियाँ सेनाले एक ड्राईभर लगेर साढे एक महिनापछि तातापानी नाकाबाट छोडिदिएको ड्राइभर प्रकाशको कुराले अझै मनमा त्रास बढायो । आखाँले हेरेर नभ्याइने समथर भूभाग रहेछ कोरला । सीमाभन्दा केही पर चाइनिज सेनाहरु रहेछन् । हाम्रा सीमा प्रहरी भने धेरै तल थिए । भारतले जसरी चाइनाले पनि बदमास गर्यो भने छोसेरसम्मको भाग अतिक्रमण गर्न सक्ने सम्भावना देखियो । त्यसपछि हामी गाडी घुमाएर अलि वर डिलमा आएर केही समय फोटो, भिडिया खिच्यौ र यात्रा बेनी तर्फ बढायौ । आफ्नै भूमिमा रहँदा पनि अरुसँग डराउनु पर्ने अवस्थाले हामी सबै चिन्तित भयौँ । सिमानामा अझै केही समय विताउने रहर भएपनि ५ मिनेटभन्दा धेरै बस्न सकेनौ । हामी आफ्नै नाकामा जाँदा किन चाइनिज सेनाले लखेट्नछ यो भने सहस्यकै विषय बन्यो हाम्रा लागि ।
त्यस दिनको बिहान र बेलुकाको खाना छुसाङमा भयो । राजेश दाइको हासो, ड्राइभर दाइको कहानी, मेरा केही मुक्तकले यात्रा रोमाञ्चित नै भयो । बाटोमा भेटिएका हरिणहरुले जङ्गली जनावर हेर्ने इच्छा पूर्ति गरिदिए । बाटोमा बैसका रुखहरु रोपेको भेटियो । सायद जलवायु अनुकुलनको योजना निर्माण भएको हुनुपर्छ । मरुभूमि जस्तो देखिने भूभागमा कृत्रिम रुपमा हरिया जङ्गलहरु भरिने क्रम थियो । यात्राको अन्तिम दिन अर्थात ३० गते बिहान ८ बजे छुसाङबाट यात्रा बेनी सोझियो । धुम्वा तालमा जाने योजना थियो तर विशेष कारण त्यता जान पाएनौ । बिहानको खाना मार्फामा भयो । मार्फाको बजार र स्याउबारी घुम्यौ । केही स्याउ, स्याउको सुकुटी मुस्ताङको चिनो स्वरुप किन्यौँ । “हेर्दा राम्रो मार्फा गाउँ, खादा मीठो मार्फा स्याउ.. ।’ बोलको गीतको धुनसँगै मुस्ताङका सुन्दर प्राकृतिक सौन्दर्यता, रमणीय वातावरणलाई स्मरण गर्दै मार्फाबाट दिनको १ बजे यात्रा गृहजिल्ला बेनीतर्फ सोझियौं ।
यात्रा संस्मरण : आफ्नै भूमिमा त्रसित मन
Previous Articleओली – देउवाबीच यस्तो सहमति,अब के हुन्छ ?
Next Article प्रिन्स ह्यारीकी प्रेमिकासँग प्रियंकाको सम्बन्ध