नेपालमा पहिलो पटक प्लाज्मा थेरापी प्रकृयाबाट कोरोना सङ्क्रमित स्वास्थ्य सुधार भएकाे छ । त्यस्तै अर्का एक विरामीमा उपचार शुरू गरिएकाे छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य अवस्था जटिल भएर सघन उपचार कक्षमा भर्ना भएका एक जना बिराटनगरको बिरामीमा प्लाज्मा थेरापीको परीक्षण सफल भएको हो ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहिबार भर्ना भएका बिरामीमा प्लाज्मा थेरापी गरेर उपचार गर्दा ४८ घण्टाभित्र ७० प्रतिशत निको भएको अस्पतालमा कोभिड–१९ व्यवस्थापनका संयोजक डा. सनतकुमार दासले जानकारी दिनुभयो । शरीरमा अक्सिजनको मात्रा कम भई स्वास्थ्य अवस्था जटिल भएको, भेन्टिलेटरमा राख्नुपर्ने र अक्सिजनको उच्च बहावको आवश्यक पर्ने बिरामीमा प्लाज्मा थेरापी सहयोगी सिद्ध हुन्छ ।
सङ्क्रमित निको भएपछि रगतमा भएको प्लाज्मा सङ्क्रमित व्यक्तिको शरीरमा पठाएर रोग विरुद्ध लड्न सक्ने बनाउने अभ्यास प्लाज्मा थेरापी हो । डा. दासले उपचारबारे थप खुलाउनुभयो, “सङ्क्रमित र रगत दान गर्ने व्यक्तिको रगत समूह एउटै हुनुपर्यो ।” प्लाज्मा थेरापीका लागि डोनर उपलब्ध गराइदिन शिक्षण अस्पताल, महाराजगञ्जले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई आग्रह गरेको थियो । परिषद्ले काठमाडौं नजिकैको एक जना क्लाइन्ट खोजेर बिहिबार उपलब्ध गराएपछि थेरापी सम्भव र सफल भएको डा. दासले बताउनुभयो ।
७० प्रतिशत स्वास्थ्य अवस्था सुधार भएपछि बिरामीलाई आईसीयूबाट निकाल्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
शिक्षण अस्पताल महाराजगञ्जमा बिरगंजका अर्को एकजना बिरामीमा समेत प्लाज्मा थेरापीको परीक्षण गरिदैछ । डा. दासले प्लाज्मा थेरापीबाट बिरामी निको हुने दर बढ्नुका साथै मृत्युदर घट्ने श्वास गरेको बताउनुभयो ।
पहिलाे विरामीलाई वार्डमा सारिदै, दाेस्राेमा परीक्षण हुँदै
Previous Articleगण्डकी प्रदेशमा थपिए २० जना कोरोना सङ्क्रमित
Next Article रुप्से दैनिक ! २० श्रावण २०७७